नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने «

नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने


लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । झण्डै चार करोड बजेट लगानी गरी नगरपालिकाले चर्दी खोलामा मोटरेबल पुल निर्माण गर्ने भएको हो ।
मध्यनेपाल नगरपालिका–३ र ४ को सिमाना भएर बग्ने चर्दी खोलामा क्रमागत योजना बनाएर आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने तयारी गरेको हो । मोटरेबल पुल निर्माणका लागि केही दिनमै टेन्डर खुल्ला गरिने र प्रक्रियागत रुपमा पुल निर्माण सुरु गरिने नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।
यसअघि गण्डकी प्रदेश सरकारले सो चर्दीखोलामा मोटरेबल पुल निर्माण गर्ने भने पनि बजेट विनियोजन हुन नसकेपछि निर्माणकार्यले गति लिन सकेको थिएन । नगरपालिका आफैले पनि तीन वर्ष अघि उक्त खोलामा पुल निर्माण गर्ने योजना बनाएको थियो । तर साविक स्थानीय नेकपा नेताले प्रदेश सरकारबाट बजेट ल्याएर पुल बनाउने अडान लिएपछि नगरपालिकाले उक्त योजना स्थगित गरेको थियो ।
गण्डकी प्रदेश सरकारले उक्त मोटरेबल पुलका लागि डीपीआर भने तयार गरेको थियो । डीपीआर तयार भए पनि बजेट भने विनियोजन गरेको थिएन । प्रदेश सरकारले बजेट विनियोजन नगरेपछि सोही डीपीआरमा रहेर स्थानीय नगरपालिकाले यही आर्थिक वर्षबाट काम थाल्ने गरी मोटरेबल पुल निर्माण गर्ने तयारी गरेको हो । नगरपालिकाले प्रदेश सरकारले तयार गरेको डीपीआरसमेत मगाई प्रक्रिया अघि बढाएको नगरप्रमुख पाण्डेले बताए ।
वर्षाको समयमा खोलामा बाढी आएसँगै अवरुद्ध हुने उक्त सडकमा मोटरेबल पुल निर्माण भएपश्चात सहज हुने भएको छ । चर्दी खोलामा मोटरेबल पुल निर्माण भएसँगै त्यस क्षेत्रका बासिन्दालाई कुन्छा, सुन्दरबजार हुँदै सदरमुकाम आउन सोही मार्ग भएर पोखरा दमौली जान पनि सहज हुने भएको छ । सोही क्षेत्रअन्तर्गत दुईपिप्ले सुन्दरबजारअन्तर्गतको सोतिपसलदेखि सुन्दरबजारको हाँडेटारसम्मको सडक पनि यही वर्षदेखि कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारले खत्रेठाँटी–कुन्छा–सोतिपसल सडकअन्तर्गत सुन्दरबजार–२, हाँडेटारदेखि मध्यनेपाल–१, निवुवाटारीसम्म करिब ११ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने गरी तयारी सुरु गरेको हो ।
सडक कालोपत्रेका लागि प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गरेको छ । सडक कालोपत्रेका लागि टेन्डरसमेत निष्किएको उक्त सडक चालू आर्थिक वर्षको रातो किताबमा छुटे पनि चौतर्फी दबाबका बीच आगामी दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्नेगरी काम हुने भएको छ ।
पूर्वाधार विकास कार्यालयकाअनुसार हाँडेटारदेखि निबुवाटारीसम्मको १० दशमलव ८० किलोमिटर मध्ये तीन किलोमिटर सडक ढलान गरिने छ । सुन्दरबजार नगरपालिकाअन्तर्गत जिल्लाकै पुरानो सदरमुकामसमेत रहेको कुन्छाको दुईतर्फी भिरालो तीन किलोमिटर सडकमा ढलान हुने भएको हो ।
एक दशकअघि सञ्चालित ड्रिलिप परियोजनाबाट बनेको सडक मध्यनेपालको दुईपिप्लेदेखि जिताटारसम्म यसअघि नै कालोपत्रे भइसकेको छ भने यता सुन्दरबजारको परेवाडाँडाअन्तर्गत करिब एक किलोमिटर मात्रै कालोपत्रे भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्