वडा कार्यालयको भवन निर्माण सम्पन्न «

वडा कार्यालयको भवन निर्माण सम्पन्न

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ३ वंशगोपालस्थित वडा कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । “जनप्रतिनिधि भनेका जनताका सेवक हुन्,” उनले भने, “भक्तपुर नगरपालिकाका जनप्रतिनिधि जनताकेन्द्रित भई समर्पित भावले काम गर्दै आइरहेका छन् । जनताको आवश्यकतामा साथ दिन जनप्रतिनिधि हरदम तयार छन् ।”
भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत विकास निर्माणका कार्य अगाडि बढाउनुको मुख्य उद्देश्य आर्थिक पारदर्शिता, स्थानीय जनताको अपनत्व र बलियो निर्माणका लागि भएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरबासी जनताको एकता र मेहेनतले आजको सुन्दर भक्तपुरको परिचय स्थापित भएको बताए । भक्तपुर–३ का वडाध्यक्ष राजकृष्ण गोराले साबिक वडा नं. १३ र १६ लाई पायक पर्ने ठाउँमै वडाको नयाँ भवन निर्माण गरेको बताउँदै भवन निर्माणमा उपभोक्ता समिति र वडाबासीको सहयोग तथा समन्वयका कारण समयमै निर्माण सम्पन्न भएको बताए ।
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं समाजसेवी रामसुन्दर खाताखोले भक्तपुरका जनता नगरपालिकाका हरेक गतिविधिमा अपनत्व लिएर सहयोगी भावनाका साथ अगाडि बढेको बताउँदै वडा कार्यालय भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोगी भूमिका खेल्नेप्रति धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष लक्ष्मीप्रसाद गोराले वडा कार्यालयको निर्माण निर्धारित समयमै सम्पन्न भएको र भवनको लागत स्टिमेट दुई करोड ७३ लाख ११ हजार ९१४ र कुल खर्च एक करोड ७२ लाख ५३ हजार ३५३ रहेको कार्यक्रममा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्