गैरआवासीय नेपालीद्वारा भागरथीको परिवारलाई आर्थिक सहयोग «

गैरआवासीय नेपालीद्वारा भागरथीको परिवारलाई आर्थिक सहयोग

धनगढी- वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीहरुले बैतडीकी भागरथी भट्टका आफन्तलाई आर्थिक सहयोग गरेका छन् । च्यारिटी म्याचका सहभागीहरुले व्यक्तिगत सहयोग गरी उठेको दुई लाख ७० हजार ८४० रुपैयाँ रकम भागरथीका परिवारलाई शनिबार सहयोग गरिएको हो ।
नेप्लिज असोसिएसन अफ भिक्टोरिया (न्याभ), गैरआवासीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा स्वर्गीय भागिरथी भट्टका परिवारलाई आर्थिक सहयोग पु¥याउने उद्देश्यले च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजना गरिएको थियो । जसमा न्याभ– ११ र एन आर एन ए– ११ टिम बीच प्रतिस्पर्धा भएको थियो ।
मल्टीडाइनामिक रिअल स्टेटको सहकार्यमा शनिबार एक समारोहको आयोजना गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भागरथीका आफन्त कृष्ण भट्टमार्फत आमा द्रोपती भट्टलाई रकम हस्तान्तरण गरेका हुन् ।
सो रकम हस्तान्तरण गर्दै मुख्यमन्त्री भट्टले भागरथी हत्या घटना जघन्य अपराध रहेको बताउँदै यस्ता जघन्य अपराध घट्न नदिन सभ्य समाजको निर्माण गरिनुपर्ने बताए । उनले यसमा सबैको भूमिका आवश्यक रहेको बताउँदै प्रदेश सरकारले हत्या, हिंसा, बलात्कार जस्ता घटना हुन नदिन सुरक्षा निकायसँग समन्वय गरिरहेको बताए ।
मुख्यमन्त्री भट्टले देशबाहिर रहेका प्रदेशवासीलाई स्वदेशमै उद्योग स्थापना गर्न आग्रह गरे । उनले प्रदेशमा रहेका कलकाखाना सबैलाई रोजगारी दिन पर्याप्त नरहेकोे बताउँदै सबैलाई स्वरोजार बनाउन प्रदेश सरकारले काम गरिरहेको बताए ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले भागरथीका परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै प्रवासमा रहेका साथीहरुले केही रकम संकलन गरेर सहयोग गर्दा परिवारलाई केही हदसम्म राहत पुग्ने बताए । सनातन माध्यमिक विद्यालय कक्षा १२ मा पढिरहेकी भागरथी माघ २१ गते बुधबार विद्यालयबाट घर हिँड्दा बेपत्ता भएकी थिइन् । माघ २२ गते हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्