दसैं र चाडपर्वका कारण संक्रमण बढ्न सक्ने
कोभिड खोप लगाउनेको संख्या करोड नजिक

कारोना विरुद्धको खोप अभियान अन्र्तगत हालसम्म खोप लगाउनको संख्या एक करोड नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आंशिक र पूर्ण खोप लिनेको संख्या ९१ लाख १६ हजार २८७ जना पुगेको हो । यसमध्ये पूर्ण मात्राको खोप लगाउनेको संख्या ४० लाख ५२ हजार ७६५ रहेको छ भने आंशिक खोप लगाउनेको संख्या ५० लाख ८६ हजार ५२२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले प्राथमिकताका आधारमा खोप लगाउने काम भइरहेकाले असोज अन्तिमसम्म एक तिहाई र चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने गरी अभियान सञ्चालन भइरहेको बताए ।
खोप अभियान सञ्चालन भइरहेपनि चाडपर्व नजिकै गरेका कारण जनस्वास्थ्यका मापदण्ड पालन नगरे संक्रमण दर बढन सक्ने जनाउँदै सरकारले सचेत गराएको छ । मन्त्रालयले शनिबारसम्म कोभिसिल्ड तथा एस्ट्राजेनिका खोप लगाउनेको संख्या ३१ लाख १० हजार ८५५ लगाएका मध्ये पूर्ण खोप १० लाख ५९ हजार ७७८ र आंशिक खोप लगाउनेको संख्या २० लाख ५१ हजार ७७ रहेको जनाएको छ । यसैगरी भेरोसेल खोप लगाउनेको ४६ लाख ५७ हजार ६८३ रहेकोमा पूर्ण खोप लगाउने १६ लाख ४५ हजार २३८ र आंशिक खोप लगाउनेको संख्या ३० लाख १२ हजार ४४५ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या १३ लाख ४७ हजार ७४९ रहेको छ ।
शुक्रबार १ लाख ७९ हजार ८६५ जनाले खोप लगाएका छन् भने बिगत एक हप्तायता दैनिक औसत १ लाख भन्दा बढीले खोप लगाइरहेको तथ्यांक छ । बिगत २४ घन्टामा १३ हजार १७६ जनाले पीसीआर र एन्टिजेन्ट परीक्षण गराएकोमा २ हजार २२२ नयाँ संक्रमित थपिएका छन् । बिगत २ हप्ता यता संक्रमण दर स्थिर रहेपनि जोखिम कायमै रहेकाले सचेत हुन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले संक्रमितको संख्यामा केही कमी आएपनि पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लाको संख्या बढेको जनाएको छ ।
मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने आनीबानीमा सुधार नआएका कारण स्थिर रहेको संक्रमणदर बढ्ने जनाउँदै सचेत गराएको छ । सरकारले अघिल्लो साउनको अन्तिम हप्ता नेपाल मास्क अभियान सञ्चालन गरेका कारण संक्रमण केही कमी आएको देखिएपनि जोखिम कायमै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले चाडपर्वको बेला सुरु भएका कारण संक्रमण बढ्नेमा सचेत हुन र चाडपर्व सुरक्षित भएर घर घरमा मनाउन अनुरोध गरेको छ । बिगत एक हप्तामा काठमाडौ उपत्यकाको सक्रिय संक्रमितको संख्या स्थिर रहेको छ ।
सरकारले हाल परीक्षामा सहभागी हुने विद्यार्थी र प्राथमिक समुहमा परेका ४० वर्ष भन्दा माथीको जनसंख्यालाई दोस्रो मात्राको खोप लगाउने योजना बनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरप्रसाद अधिकारीले हालसम्म १ करोड २५ लाखको हाराहारीमा खोप आयात भइसकेको बताए । हाल कोभ्याक्स सुविधाअन्र्तगतको स्टे«जेनिका र चीनबाट खरिद गरिएको भेरोसेल खोप आइरहेको मन्त्रालयले जनाएको छ ।