गुणस्तरहीन योजनाको बिगबिगी «

गुणस्तरहीन योजनाको बिगबिगी

पर्वत-पर्वतमा गुणस्तरहीन योजनाको बिगबिगी छ । जिल्लामा सञ्चालित अधिकांश योजना गुणस्तरहीन हुने गरेको पाइएको छ । समयमा काम नगर्ने प्रवृत्तिले विकास निर्माणका योजना अपुरा, अधुरा र गुणस्तरहीन हुने गरेको गुनासो आइरहेको सरकारी अधिकारीले बताएका छन् ।
गण्डकी प्रदेश सरकारअन्तर्गत पर्वतमा स्थापना भएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दयाराम अधिकारीले योजना सम्पन्न गर्ने र फरफारक गर्ने नाममा असारमा हतारहतार गर्ने विकास निर्माणका कार्यलाई पूर्णरूपमा रोक लगाइने जानकारी दिए । बागलुङ र पर्वत कार्यक्षेत्र रहेको यस कार्यालयले माघ महिनाभित्रै सबै योजना सम्झौता गरी कार्यान्वयनको चरणमा अघि बढाउने जनाएको छ । “अधिकांश ठूला योजनाको टेन्डर आह्वान गरी सम्झौतासमेत भइसकेको छ,” बाँकी योजना अबको एक महिनाभित्रै ठेकेदार र उपभोक्ता समितिसँग सम्झौता गरी धमाधम काम गर्ने तयारी कार्यालयले गरेको उनले बताए ।
अधिकारीले पर्वत र बागलुङमा गरी २२ वटा योजना ठेक्का लागिसकेर काम सुरु भएको जानकारी दिए । सडक, मोटरेबल पुल र झोलुंगे पुलको क्षेत्रमा काम गर्ने यो कार्यालयले लक्षित योजना समयमै सम्पन्न गर्नका लागि पूरै संयन्त्र परिचालन गरिएको जानकारी दिए । उनले कुश्मा–मोदीबेणी जोड्ने सडकको मूल्यांंकनसमेत गर्न लागेको बताए ।
चालू आवमा प्रदेश सरकारअन्तर्गत पर्वत र बागलुङमा सडक र पुल निर्माणका लागि विनियोजित ६१ करोड ३७ लाख लागतका योजनालाई निर्धारित समयमै सम्पन्न गर्ने कार्यालयको योजना रहेको र त्यसअनुसार धमाधम योजनाको सम्झौता प्रक्रिया अघि बढेको अधिकारीले जानकारी दिए ।
एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत बागलुङमा ४ र पर्वतमा दुईवटा योजना छन् । त्यस्तै प्रादेशिक योजनाअन्तर्गत दोबिल्ला फलेवास सडक र मालढुंगा, पाग्जा, बेला एपरपोर्ट, कुश्मिशेरा–दमेश–रांगखानी–हुग्दिशिर सडक ठेक्का प्रक्रियामा गइसकेको कार्यालयले जनाएको छ । ती दिुई योजना क वर्गका हुन् । त्यस्तै ख वर्गका योजना पर्वतमा तीन र बागलुङमा पाँचवटा छन् भने ग वर्गका योजना पर्वतमा ११ र बागलुङमा पनि ११ वटै रहेको डिभिजनल इन्जिनियर अधिकारीले जानकारी दिए ।
त्यसैगरी साझेदारी सडक पर्वतमा ११ र बागलुङमा १३ वटा छने भने अन्य सडक दुवै जिल्लामा गरी ११ वटै रहेको अधिकारीले बताए । ग्रामीण पहुँच कार्यक्रम -याप अन्तर्गत सडक र पुल निर्माणका योजना पनि छन् । सिल्मी, ठूलीपोखरी कार्किनेटा सडक निर्माणाधीन अवस्थामा छ । त्यस्तै सम्भावित रणनैतिक योजनामा पर्वतमा २ र बागलुङमा दुईवटा सडक बन्ने भएका छन् । त्यस्तै सडक पुलतर्फ पर्वतमा तीन र बागलुङमा ७ वटा बन्ने भएका छन् । झोलुंगे पुल पर्वतमा २ र बागलुङमा १० वटा निर्माण गर्ने योजना रहेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्