काठमाडौं–कोलम्बो सिधा उडान «

काठमाडौं–कोलम्बो सिधा उडान

लामो समयको प्रतीक्षापछि कोलम्बो–काठमाडौं सिधा उडान हुने भएको छ ।
श्रीलंकन एयरलाइन्सले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नेपाल–श्रीलंकाबीच सिधा उडानको अनुमति पाएका कारण पहिलो पटक कोलम्बो–काठमाडौं–कोलम्बो सिधा उडान सुरु हुन लागको हो ।
मंगलबार श्रीलंकन एयरलाइन्स पहिलो पटक कोलम्बोबाट सिधा काठमाडौंमा उत्रने छ । हाल मंगलबार र शनिबार दुई दिन उडान भर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले कोलम्बो–काठमाडौं–कोलम्बोको लागि व्यावसायिक उडानको अनुमति दिएको हो । प्राधिकरणले जारी गरेको उडान अनुमतिपत्रमा भनिएको छ, “हाललाई ३१ अगस्ट देखि ४ सेप्टेम्बरसम्म समर सेड्युललाई उडान अनुमति दिइएको छ ।”
कोलम्बो–काठमाडौं–कोलम्बो सेक्टरमा न्यारो बडी र वाइडबडी (एयरबस ३३३,३२०,३२१) विमानले नेपालमा उडान भर्नेछ । श्रीलंकन एयरलाइन्सको विमान बन्दरानाइके अन्र्राष्ट्रिय विमानस्थल कोलम्बोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा मंगलबार तथा शनिबार ९ बजेर ४० मिनेटमा अवतरण गर्ने छ ।
प्राधिकरणका अनुसार, १० बजेर ४० मिनेटमा उक्त विमान कोलम्बो उड्नेछ । करिब ४ घण्टाको उडान अवधि रहने सो उडानका लागि भाडा न्यूनतम ५९९ अमेरिकी डलर र अधिकतम ११५८ अमेरिकन डलर तोकिएको छ ।
सिधा उडानले गर्दा श्रीलंका र माल्दिभ्सको गन्तव्यमा जाने यात्रुका लागि सहज हुने जनाइएको छ । श्रीलंकाबाट बौद्धमार्गी पर्यटक काठमाडौं आउन सहज हुने भएका कारण नेपालको पर्यटनमा काठमाडौं–कोलम्बो सिधा उडानले योगदान गर्ने विश्वास छ ।
पहिला सिधा उडान नरहेकोमा सरकारले पहिलोपटक सिधा श्रीलंका जाने गरी सेवा सुरु गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, एयरबस ३३३ मा २९७, ३२० मा १५० र एयरबस ३२१ मा १६९ सिट क्षमता रहेको छ । यो गन्तव्यमा यात्रुको चाप र उडानको अवस्थिति हेर्दा भाडादर अधिक रहेकाले गर्दा यो उडानमा निरन्तरता पाउनेमा शंका रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्