नेपाल एयरलाईन्सको दोस्रो ७५७ बोइङको बिक्री «

नेपाल एयरलाईन्सको दोस्रो ७५७ बोइङको बिक्री


गण्डकी नाम (कलसाइन) भएको बोइङ–७५७ विमान बिक्री भएको छ । नेपाल वायुसेवा निगमले सो बोइङ ७५७ विमान अमेरिकी कम्पनी सीएसडीएसलाई ५.७१ मिलियन अमेरिकी डलरमा बिक्री गरेको हो ।
करिब ३ वर्ष अगाडिबाट थालिएको बिक्री प्रक्रिया थालिएको भए पनि कोभिड–१९ का कारण रोकिएको थियो । पछिल्लो समय निगमले सो कम्पनीसँग बिक्रीको अन्तिम प्रक्रिया पूरा गर्ने तयारीमा रहेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । उनले भने, “विमानको मर्मत गरेर प्राविधिक परीक्षण पूरा गरी सो कम्पनीले लिएर जाने छ ।” यसको लागि दोस्रो चरणको हस्ताक्षर प्रक्रिया पनि पूरा भएको उनले बताए ।
नाइन एन एसिबि रजिष्ट्रेसन नम्बर भएको सो विमान ३१ वर्ष अगाडि बनेको कार्गाे र यात्रुवाहक हो । विमानको मर्मतसम्भार गर्नको लागि धेरै रकम खर्चिनुपर्ने र विमान पुरानो हुँदै गएकाले सञ्चालन खर्च बढिरहेको पाइएपछि निगमले बिक्री गर्ने निर्णय गरेको थियो ।
निगमले वाइडबडी ए३३०–२ र ए३२० विमान सञ्चालन गरिरहेको छ । बोइङ विमान र वाइडबडीको सञ्चालन व्यवस्थापन गर्न निगमलाई खर्चिलो बन्दै गएपछि निगमले बोइङलाई विस्थापित गर्ने तयारीस्वरुप प्रक्रिया अगाडि बढाएको थियो । अर्काे कर्णाली ७५७ विमान भने यसअघि नै बीबी एयरलाइन्सले खरिद गरेको थियो । विमानमा १ सय ९० सिट रहेकोमा १६ बिजनेस क्लासका सिट छन् ।

प्रतिक्रिया दिनुहोस्