विदेशी लगानीका इन्भेष्टमेन्ट कम्पनीलाई एक अर्ब पुँजी अनिवार्य «

विदेशी लगानीका इन्भेष्टमेन्ट कम्पनीलाई एक अर्ब पुँजी अनिवार्य

विदेशी लगानीका इन्भेष्टमेन्ट कम्पनीले न्यूनतम एक अर्ब पुँजी ल्याउनुपर्ने भएको छ । यस्ता कम्पनीले नेपाली बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने तथा विदेशी बैंकको ग्यारेन्टीको आधारमा स्वदेशी बैंकबाट ऋण नपाउने कानुनी व्यवस्था सरकारले गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्तसम्बन्धी हालै नयाँ व्यवस्था सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
मन्त्रालयका अनुसार, नयाँ शर्तसम्बन्धी व्यवस्था साउन २५ गते राजपत्रमा प्रकाशित भएको छ र यसले वैदेशिक लगानीका इन्भेष्टमेन्ट कम्पनी स्थापनाका शर्तका सम्बन्धमा रहेका अन्योल हटाएको छ । विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रत्येक लगानी गर्ने क्षेत्रका लागि उद्योग दर्ता गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति लिनुपर्ने, इन्भेष्टमेन्ट कम्पनी उद्योगका रूपमा दर्ता हुन वा स्थापना हुन न्यूनतम लगानी एक अर्ब नेपाली रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले उद्योग दर्ता गर्दा नेपालमा गरिने लगानीको पुँजी विदेशी वा नेपाली मुद्रा कुनमा गरिने हो, सोसमेत खुलाउनु पर्ने व्यवस्था छ । कम्पनी दर्ता र नियमन प्रचलित औद्योगिक व्यवसाय ऐन तथा अन्य वर्तमान कानुनबमोजिम हुने, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले विदेशबाट रकम ल्याउँदा र रकम बाहिर लैजाँदा नेपाल राष्ट्र बैंकको स्वीकृति अनिवार्य रहेको छ । स्वीकृत विदेशी लगानी वापतको रकम नेपाल भित्र्याउँदा प्रचलित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन बमोजिमको प्रकृया पु¥याउनु पर्ने व्यवस्था गरिएको छ ।
औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची ८ (६५) अनुसार इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्त निर्धारण गरिएको मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार, उद्योगका रुपमा इन्भेष्टमेन्ट कम्पनी दर्ता गर्दा लगानी गरिने उद्योगको क्षेत्र तोकेरमात्र उद्योग दर्ता गर्नु पर्ने तथा यस्ता कम्पनीले उद्योग दर्ता गर्दा लगानी गरिने क्षेत्र नेपालभित्र मात्र हुने गरी तोक्नुपर्ने व्यवस्था गरिएको छ ।
विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीको उद्योग दर्ता गर्दा सो कम्पनीको अन्तिम हिताधिकारी खुलेको विवरण अनिवार्य संलग्न गराउनुपर्ने पनि शर्त राखिएको छ । इन्भेष्टमेन्ट कम्पनी दर्ता गर्दा उद्योग दर्ता गर्ने निकायले पनि औद्योगिक व्यवसाय ऐनअनुसार वर्गीकरण भएका उद्योग तथा प्रचलित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी गर्न खुला गरिएका उद्योगहरुमा मात्र लगानी गर्न अनुमति दिनुपर्ने भएको छ ।
इन्भेष्टमेन्ट कम्पनीले नेपालमा शेयर पुँजीको रूपमा मात्र लगानी गर्न पाउने तर ऋण, ऋण सुविधा, बोन्ड, डिबेन्चरमार्फत लगानी गर्न नपाउने पनि भएको छ । कम्पनीले बैंक तथा सहकारी ऐनबमोजिम स्थापित एवं सञ्चालित सहकारीहरूले गर्ने कार्य गर्न नपाउने व्यवस्था रहेको छ । इन्भेष्टमेन्ट कम्पनीले स्टक एक्सचेन्ज लिमिटेडको दोस्रो बजारमार्फत शेयर डिबेन्चर खरिद गर्न नपाउने, धितोपत्र दलाल, बजार निर्माता, रियल स्टेट कारोबारजस्ता क्षेत्रमा लगानी गर्न नपाउने नयाँ शर्तमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्