सिताके च्याउमा आकर्षण बढ्यो

इलाममा सिताके च्याउको व्यावसायिक खेती फस्टाउँदै गएको छ । स्वास्थ्यवद्र्धक साथै पोषिलो र सहज रूपमा उत्पादन गर्न सकिने भएकाले इलाममा यसको खेती फस्टाएको हो ।
एकपटक खेती गरेपछि ५ वर्षसम्म उत्पादन हुने भएपछि किसानले सिताके च्याउलाई भरपर्दो स्रोत बनाएका हुन् । यो खेती अहिले इलामका दुई हजार किसानले व्यावसायिक खेती गर्दै आएको बताइएको छ । उत्पादन राम्रो र कम श्रममा धेरैजसो किसानले ब्यावसायिक रूपमा नै खेती सुरु गरेका हुन् । सरकारीस्तरबाट सिताके च्याउखेतीमा लगानी नभएको किसानको भनाइ छ । जडिबुटीको क्षेत्रमा काम गर्दै आएको होलिस्टिक नेपाल नामक संस्थाले इलाममा सिताके च्याउखेती विस्तारमा किसानलाई सहयोग गर्दै आएको छ ।
इलामका १० वटै स्थानीय तहमा यसको खेती गरिने गरेको र हाल इलाममा २७ हजार ७ सय २१ जना किसानको घरमा आफ्नो प्रयोगको लागि भए पनि च्याउखेती गरिरहेको होलिस्टिक इलामका कर्मचारी भीम कुलुङले बताए । अरबियन मुलकमा औषधीय गुण बोकेको रातो च्याउ ब्राण्डका औषधीको लोकप्रियता रहेसँगै रातो च्याउकै जस्तो औषधीय गुण सिताके च्याउमा पाइने भएकाले किसानले व्यावसायिक र आफ्नै प्रयोगको लागि पनि खेती सुरु गरेका हुन् ।
इलामको माईजोगमाई गाउँपालिका–२ किसान दाबादोर्जे शेर्पाका अनुसार सिताके च्याउको खेती ब्यावसायिक रूपमा गर्न थालेपछि आम्दानी पनि राम्रो छ । ८० हजारको लगानीमा तीन सयवटा मुडामा लगाएको च्याउ गत वर्ष ५० किलो बिक्री गरेको शेर्पाले बताए । प्रतिकिलो ६ रुपैयाँमा बिक्री हुने च्याउ यो वर्ष १ सय ५० किलो बिक्री गरेको र अझै ३ सय किलो उत्पादन हुने शेर्पाले बताए ।
एकपटक मुडा काटेर आधा इन्चको प्वाल बनाएर मैनले टालेपछि लगातार पाँच महिना उत्पादन हुने र सोही मुडामा पाँच वर्षसम्म उत्पादन हुने गरेको छ । एकपटक रोपेपछि करिब पाँच वर्षसम्म ढुक्कको साथ आम्दानी हुने गरेकोले पनि यो खेती फाइदाजनक भएको किसानको भनाइ छ ।
अहिले आफूले उत्पादन गरेको च्यााउ काठमाडौंमा काचो प्रतिकिलो ६ सय र सुकेको धुलो एक सय ग्रामको पाँच सय रुपैयाँमा बेच्ने गरेको शेर्पाले बताए । एउटा च्याउ नै तीन सय ग्रामसम्मको हुने यसको प्रयोग तरकारी, झोल, फ्राइ, सुप र डस्टको रूपमा पनि प्रयोग गरी मानिसले उपयोग गर्ने गरेका छन् ।
कसरी गर्ने च्याउखेती ?
पहाडी क्षेत्रका गाउँघरमा सहजरूपमा गर्न सकिन्छ च्याउखेती । तर, यसबारे व्यावहारिक ज्ञान भने लिनैपर्छ । यो थोरै जग्गामा गर्न सकिने खेती भए पनि विशेष स्याहारको आवश्यकता पर्छ । तर, अन्य खेतीजस्तो धेरै दुःख भने गर्नु नपर्ने किसानहरूको भनाइ छ ।
यो खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन् । यसबाट प्रतिफल लिन पनि खासै समय नलाग्ने बताइएको छ । त्यसैले सीप सिकेर अठोटका साथ काम गर्दा सफलता मिल्ने च्याउखेती गर्ने किसानहरूको भनाइ छ ।
नेपालमा खेती गर्न सकिने च्याउ विभिन्न प्रकारका छन् । विशेषज्ञको सल्लाह लिएर आफ्नो ठाउँको वातावरण र उपलब्ध साधनमा आधारित भएर फरक–फरक किसिमका च्याउखेती गर्न सकिन्छ । नेपालमा अहिले कन्ये च्याउ, गोब्रे च्याउ, सिताके च्याउ र राते च्याउको खेती भइरहेको छ ।
तुलनात्मक रूपमा कन्ये च्याउ अन्यभन्दा सस्तोमा बिक्छ भने अन्य च्याउहरू निकै महँगो हुन्छन् । रातो च्याउको विदेशमा समेत माग छ । काठको ठूटा र मुढामा खेती हुने सिताके च्याउको मूल्य पनि कम छैन । च्याउखेतीका लागि गाउँघरमा सहजै उपलब्ध हुने पराल, केराको पातलगायत सामग्री नै मुख्य हुन् । यसबाहेक टहरा बनाउन खर, बाँसलगायत पनि चाहिन्छ । यी साधन गाउँघरमा सहज रूपमा पाइने भएकाले यसका लागि ठूलो संघर्ष गर्नु पर्दैन । बजारमा च्याउका बीउ सहजै किन्न पाइन्छ । च्याउखेती गर्ने प्रविधि त्यत्ति अप्ठेरो छैन । अरुले गरेको एक पटक देखेमा आफैँले गर्न सकिने किसानहरूको भनाइ छ ।
टीका खतिवडा