पुल नबन्दा सडक प्रभावित «

पुल नबन्दा सडक प्रभावित

उदयपुर-निर्माणकार्य सुरु भएको २३ वर्ष बितिसक्दा पनि सगरमाथा राजमार्ग अन्तर्गतको गाईघाट-दिक्तेल सडक निर्माण सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको वर्षौं भइसक्दा पनि उदयपुर र खोटाङ जिल्लाको सीमामा रहेको दूधकोसी नदीमा पक्की पुल निर्माण नहुँदा सडक निर्माणसमेत प्रभावित भएको हो ।
उदयपुर सदरमुकाम गाईघाटदेखि साउनेसम्मको २४ किलोमिटर सडकमा कालोपत्रे गरिए पनि साउने फोक्सिनटार, फोक्सिनटार राजापानी र राजापानी महुरे सडक खण्ड निर्माणाधीन अवस्थामा छ । फोक्सिनटार राजापानी खण्डमा सडक वाल, मेसिनरी वाल, नाली र कल्भर्ट निर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भए पनि अन्य खण्डमा ५० प्रतिशतभन्दा बढी काम हुनसकेको छैन ।
गाईघाट हुँदै खोटाङ सदरमुकाम दिक्तेल जोड्ने १ सय ३१ किमि लामो यो सडकको उदयपुर र खोटाङ दुवै खण्डमा ट्रयाक खुलेको झण्डै ६ वर्ष बितिसकेको छ । तर, ट्रयाक खुले पनि सुनकोसी नदीमा पुल नहुँदा हिउ“दमा पुसदेखि जेठसम्मका लागि बेलिब्रिज लगाएर यातायात सञ्चालन गरिएको छ भने बाँकी ६ महिना सडक अवरुद्ध हुने गरेको छ । हिँउदमा बेलिब्रिजबाट सडक निर्माणका सामग्री ढुवानी गर्न सकिए पनि वर्षायाममा सडक अवरुद्ध हुँदा निर्माण सामग्री लैजान नसकिने अवस्था छ । जसका कारण सडक निर्माणकार्य प्रभावित हुँदै आएको छ ।
फोक्सिनटारदेखि राजापानीसम्मको २६ किमि सडक निर्माणको काम युद्धस्तरमा भइरहेको निर्माण जिम्मा लिएको मैनाचुली÷खाम्पाचो÷जयनारायण पवन जेभीका प्रोजेक्ट इन्जिनियर विश्व लिम्बुले वताए । “२०७७ सालको साउनसम्ममा सम्झौताअनुसार कामसक्ने गरी मजदुर र सडक निर्माणका लागि आवश्यक सम्पूर्ण उपकरण प्रयोग गरिरहेका छौं,” उनले भने, “करोड लागत रहेको २६ किलोमिटर सडक सयममै निर्माण सम्पन गर्ने गरी दैनिक काम भइरहेको छ ।” रसुवाघाटको झोलुंगे पुलबाट निर्माण सामग्री ढुवानी गरेर वर्षायाममा समेत लगातार काम गरिरहेको उनले बताए ।
“सुनकोसी नदीबाट निर्माण सामग्री ढुवानीमा भएको समस्या र सडक क्षेत्रमा रहेका बिजुलीका पोल सार्न भएको ढिलाइका कारण तोकिएको समयमा काम सकिएला जस्तो छैन,” प्रोजेक्ट म्यानेजर विजय चामलिङ्ले भने, “सुनकोसी नदीमा हिँउद महिनामा लगाइने बेलिब्रिज लगाएको ५ महिनामै खोलिने भएकाले सामग्री ढुवानीमा समस्या भोग्नु परिरहेको छ ।” फोक्सिनटारदेखि राजापानीसम्मको २६ किलोमिटर सडक निर्माणको काम सुरु गरेको २९ महिना बितेको र सम्झौता अनुसार अब १९ महिना बाँकी रहेको उनको छ ।
प्रोजेक्ट म्यानेजर राईले बाह्रै महिना सामग्री ढुवानी गर्न पाए अझै पनि समयमै निर्माणकार्य सम्पन्न गर्न सकिने बताए । “तर त्यो सम्भव छैन, वर्षायाममा बेलिब्रिज खोल्नैपर्छ र पुल निर्माणको काम पनि तत्काल सकिने अवस्थामा छैन ।” त्यसैले पनि निर्माण कम्पनीले एक वर्ष समय थप गरिदिन सडक विभागलाई अनुरोध गर्ने तयारी गरेको जानकारी उनले दिए ।
“पुल नभएकै कारण यो सडक निर्माणकार्यले गति लिन सकेन,” खोटाङको मजुवागढी नगरपालिका–१६ विजयर्खकका टंक पोखरेल भन्छन्, “सडकको ट्रयाक खुलेको वर्षांै भइसके पनि अझै सुनकोसी नदीमा पुल बनेको छैन ।” साप्सु खोलामा भने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
“सगरमाथा राजमार्ग नामकरण गरिएको यो सडक समयमै सञ्चालन हुने हो भने खोटाङका सर्वसाधारणलाई तराई जाने सबैभन्दा छोटो मार्ग बन्छ,” हलेसी तुवाचुङ नगरपालिकाका कुमार बुढाथोकी भन्छन्, “तर सुरु भएको २३ वर्ष बितिसक्दा पनि निर्माणकार्य नसकिँदा सर्वसाधारण वर्षायाममा अझै पैदल यात्रा गर्न बाध्य छन् ।” खोटाङको सदरमुकाम दिक्तेललाई राष्ट्रिय सडक सञ्जालसँग जोडने मुख्य लक्ष्यका साथ यो सडक निर्माण प्रारम्भ गरिएको भए पनि बितेका २० वर्ष कछुवाको गतिमा काम हुँदा सडक निर्माण हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्