नागरिकको आयस्तर वृद्धिमा प्रदेशको प्राथमिकता «

नागरिकको आयस्तर वृद्धिमा प्रदेशको प्राथमिकता

जुम्ला-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको आयस्तरवृद्धि नै अबको मुख्य प्राथमिकता रहेको बताएका छन् । प्रदेश र स्थानीय तहले नागरिकको आयस्तर वृद्धि हुने खालका उत्पादनमुखी कार्यक्रममा जोड दिनसमेत मुख्यमन्त्री शाहीले निर्देशन दिए ।
बिहीबार जुम्ला पुगेका मुख्यमन्त्री शाहीले स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत्, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा आधारभूत विकास भइसकेको बताए । उनले भने, “संघियतापछि दुरदराजमा आधारभूत विकास भइसकेको छ । विकास भएका संरचनाको सेवा उपभोग गर्न सक्ने खालको नागरिरकको आयस्तरवृद्धि गर्न आवश्यक छ ।”
मुख्यमन्त्री शाहीले थपे, “कर्णालीमा राष्ट्रिय प्रसारणलाइन पुग्यो । तर विपन्न नागरिकसँंग महसुल तिर्ने पैसा छैन । विमानस्थल स्तरवृद्धि भयो । गरिब विपन्नले जहाज उडेको मात्रै देख्छन् छुन पाउँदैनन् । सडक यातायात गाउँगाउँमा पुग्यो । तर पैसा नहुने नागरिकले गाडी चड्न पाएका छैनन् । खानेपानी, कृषि, स्वास्थ्य शिक्षाका विभिन्न अवसरमा पनि विपन्न नागरिक आर्थिक अभावका कारणपछि परेका छन् । त्यसैले कर्णाली प्रदेशको समृद्धि नागरिकको आयस्तर वृद्धि बिना सम्भव छैन ।”
प्रदेश र स्थानीय तहको कुल बजेटको ५० प्रतिशत बजेट पूर्वाधार विकासमा मात्रै गइरहेको छ । विकास निर्माण भएका पूर्वाधारको सेवा उपभोग गर्ने नागरिकको आयस्तर छैन । टुक्रे बजेट र योजनाले नागरिकको आयस्तर वृद्धि हुने स्थिति पनि नभएकाले स्थानीय तहलाई गुरुयोजनाका माध्यमबाट विकास गर्न र विकास माग्नसमेत मुख्यमन्त्री शाहीले स्थानीय तहलाई निर्देशन दिए ।
संघ प्रदेश र स्थानीयतह बीच प्रभावकारी समन्वय, सहकार्य र सहअस्तित्व नभएका कारण बितेको पाँच वर्षमा अपेक्षित उपलब्धि हासिल नभएको समेत मुख्यमन्त्री शाहीको भनाइ छ । नागरिकको आयस्तर नबढेसम्म कर्णाली प्रदेशको विकास सम्भव छैन । कर्णाली मानव विकास सूचांकदेखि आर्थिक विकास सूचांकमा सबैभन्दा पछि छ । कर्णालीका नागरिकको चेतनास्तर अझै माथि उठ्न सकेको छैन । प्रदेश र स्थानीय तहका कार्यक्रम आवश्यकतामुखी भन्दा हचुवाका भरमा सञ्चालित छन् ।
जसका कारण कर्णालीबासीको आयस्तर शून्य छ ।
गुरुयोजनाका माध्यमबाट स्थानीय सरकारले नागरिकको आर्थिक विकास हुने, आयआर्जन बृद्धि हुने क्षेत्र केके हुन ? कति लागतसम्मका योजना स्थानीय तहले गर्ने, कति लागतका काम प्रदेशले गर्ने भन्ने कार्ययोजनासहित प्रदेशमा पेस गर्न समेत मुख्यमन्त्रीले जुम्लाका आठै तहलाई निर्देशन दिए भने स्वास्थ्य मापदण्ड पालना गरी जुम्लाका सबै विद्यालय खोल्नसमेत निर्देशन दिएका छन् ।
स्थानीय तहसँंग प्रभावकारी समन्वय नभएका कारण प्रदेशबाट आउने योजना आवश्यकतामुखी नभएको गुनासो आएको छ । त्यसैले नागरिकका आयआर्जन वृद्धिलाई जोड दिने खालका कार्यक्रम बनाउनसमेत सुझाव दिए । साथै मुख्यमन्त्री शाहीले जुम्लाका स्थानीय तहका प्रमुखसँंग प्रदेश सरकारप्रतिका अपेक्षासमेत संकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्