बारपाक–सुलिकोटमा पुनर्निर्माण ८७ प्रतिशत सम्पन्न «

बारपाक–सुलिकोटमा पुनर्निर्माण ८७ प्रतिशत सम्पन्न

भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा गोरखाका ११ स्थानीय तहमध्ये गोरखाको बारपाक–सुलिकोट गाउँपालिका अगाडि देखिएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) को तथ्यांकअनुसार पुनर्निर्माणमा बारपाक सुलिकोट अगाडि देखिएको हो । भूकम्पको केन्द्रविन्दु बारपाकसमेत समेटिएको सो गाउँपालिकामा सात हजार १ सय ८१ घर भूकम्पले भत्केकोमा हालसम्म ८७ प्रतिशत घर निर्माण सम्पन्न भइसकेका छन् । सो गाउँपालिकाका पाँच हजार ८ सय ३० घरधुरीले सरकारले उपलब्ध गराउने तीन लाख रुपैयाँ अनुदान बुझिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ले जनाएको छ । हालसम्म ६ हजार ३ सय ९९ घरधुरीले दोस्रो किस्तासमेत बुझिसकेका छन् ।
जिल्लाका ११ स्थानीय तहमा पुनर्निर्माणमा सबैभन्दा पछि परेको गण्डकी गाउँपालिकामा पाँच हजार ४ सय ८४ लाभग्राही रहेकोमा दुई हजार ५ सय ५९ घरधुरीमात्रै निर्माण सम्पन्न भएका छन् । सो गाउँपालिकामा ५३ प्रतिशतमात्रै घर पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका इन्जिनियर युवक श्रेष्ठले बताए ।
गोरखा नगरपालिका र सिरानचोक गाउँपालिकाको पुनर्निर्माण प्रगति बराबरी देखिएको छ । हालसम्म दुवै स्थानीय तहमा ७३ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन् । १० हजार २१ लाभग्राही रहेको गोरखा नगरपालिकामा ६ हजार ६ सय १९ र ६ हजार आठ सय १९ लाभग्राही घरधुरी रहेको सिरानचोक गाउँपालिकामा चार हजार २ सय ११ घर बनेका छन् । अजिरकोट गाउँपालिकामा भूकम्पपीडित लाभग्राहीको सूचीमा चार हजार १ सय २३ घरधुरी रहेकोमा तीन हजार २ सय १ घर बनिसकेको छ । यो ८२ प्रतिशत हो ।
तथ्यांकअनुसार पालुङटार नगरपालिकाको नौ हजार ६ सय ९० घरधुरीमध्ये ६२ प्रतिशत अर्थात् पाँच हजार २८ घरको पुनर्निर्माण सकिएको छ । भीमसेन थापा गाउँपालिकामा ७० प्रतिशत पुनर्निर्माण सकिएको छ । ६ हजार ८ सय ३४ घरधुरी रहेको सो गाउँपालिकामा हालसम्म चार हजार ६ सय ४१ घर बनिसकेका छन् । विकट क्षेत्रका रूपमा चिनिने धार्चे र चुमनुब्री गाउँपालिकामा ५९ प्रतिशतभन्दा बढी घर बनिसकेका छन् । चार हजार १ सय ४८ घरधुरी लाभग्राही रहेको धार्चे गाउँपालिकामा एक हजार १ सय ८८ घरले तेस्रो किस्ता बुझिसकेका छन् । यस्तै, चुमनुब्री गाउँपालिकाको दुई हजार २ सय ७५ घरधुरीमध्ये एक हजार १ सय ६ घर निर्माण सम्पन्न भएका छन् । सात हजार ३७ घरधुरी रहेको सहिद लखन गाउँपालिकामा ६९ प्रतिशत घर बनेका छन् । सो गाउँपालिकामा चार हजार १ सय ८८ घरधुरीले तेस्रो किस्ताको रकम बुझिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्