कफी प्रोजेक्टबाट विद्यालयमा लगानी «

कफी प्रोजेक्टबाट विद्यालयमा लगानी

पोखरा महानगरपालिका–२२ (पुम्दीभुम्दी) कालाभाङमा रहेको भगवती आधारभूत विद्यालयमा कफी प्रोजेक्टबाट गुणस्तरीय शिक्षामा लगानी भएको छ । बुद्ध फाउन्डेसन जापानको सहयोगमा विद्यालयमा ९ वर्षअघि लगाइएको कफीका बिरुवाले विगत ५ वर्षदेखि फल दिन थालेसँगै विद्यालयको गुणस्तरीय शिक्षामा कफी प्रोजेक्टले लगानी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले बताए ।
विद्यालयको १९ रोपनी क्षेत्रफलमा करिब २ हजार २ सयवटा कफीका बिरुवा रोपिएको उनले बताए । उक्त कफी प्रोजेक्टबाट गतवर्ष विद्यालयको गुणस्तरीय शिक्षाका लागि ३ लाख रुपैयाँ आम्दानी भए पनि यस वर्ष उत्पादन बढी भएकाले करिब ४ लाखभन्दा बढी आम्दानी हुने अध्यक्ष गुरुङले जनाए ।
केही वर्षदेखि विद्यालयमा अंगे्रजी माध्यमबाट पढाइ सञ्चालन भएकाले निजी विद्यालयमा जाने विद्यार्थीको क्रमलाई समेत सामुदायिक विद्यालयले रोक्न सफल भएको अध्यक्ष गुरुङले दाबी गरे । २०६६ सालमा विद्यार्थीहरूको संख्या घटेर ४२ जनामा खुम्चिएकोमा हाल आएर तीन गुणाले वृद्धि भई एक सय २० जना विद्यार्थीको संख्या पुगेको उनले बताए । विगत दुई वर्षदेखि निजी विद्यालयमा जाने कालाभाङ घडेरीका साविक पुम्दीभुम्दी ६, ७ र ८ वडाका विद्यार्थी हाल सामुदायिक विद्यालय भगवतीमा आउन थालेको उनले जनाए । विद्यालयले हाल ७ जनालाई निजी स्रोतबाट व्यवस्थापन गरेको छ भने ६ जना सरकारी दरबन्दीका छन् । विद्यालयमा कपिप्रोजेक्ट, पूर्वविद्यार्थीबाट स्थापना भएका करिब ५५ लाखको अक्षयकोषको प्राप्त व्याजबाट हाल विद्यालयले निजी शिक्षकको तलब भत्ता दिने गरेको अध्यक्ष गुरुङले जनाए । थप नपुग भएको अवस्थामा सहयोगी दाताबाट आर्थिक संकलन गर्दै आएको उनको भनाइ छ ।
कफी प्रोजेक्ट बुद्ध फाउन्डेसन जापानका डा. ताकाजी यामागुचीको पहलमा सञ्चालन भएसँगै विद्यालयले कोल्टो फेर्न थाल्यो । विद्यालयका अध्यक्ष गुरुङको पहलमा विभिन्न दाताको खोजीमा विद्यालयमा हाल १९ कोठे पक्की भवन, दुईवटा पाइप ट्रसका भवन बनेका छन् । बुद्ध फाउन्डेसन जापानका डा. ताकाजी यामागुचीको पहलमा ५४ लाखको लागतमा १२ कोठे पक्की भवन निर्माण भएको छ । अध्यक्ष गुरुङले भवन निर्माणमा राम्रोसँग काम गरेवापत १ लाख ५ हजार दिए पनि उनले विद्यालयको अक्षयकोषमा राखेपछि पुनः डा. यामागुचीले विद्यालयको अक्षयकोषमा १६ लाख ९० हजार सहयोग गरेका हुन् । पोखरा महानगरपालिका–२२ का वडाध्यक्ष मित्रलाल बरालले भगवती मावि २२ वडाकै नमुना विद्यालयको रूपमा परिचित भएको छ ।

प्रतिक्रिया दिनुहोस्