तातोपानी नाका सञ्चालन गर्न सडक मर्मतको काम तीव्र «

तातोपानी नाका सञ्चालन गर्न सडक मर्मतको काम तीव्र

दोलखा-तातोपानी नाका आगामी २०७६ वैशाखबाट सुचारु गर्नका लागि सडक सुधारको कामले तीव्रता पाएको छ । दुवै देशको सीमा मितेरी पुलसम्मको सबैभन्दा बढी क्षति भएको सडक सुधारका लागि नेपाल र चीन दुवै देशका सरकार मिलेर काम गरिरहेका छन् । नेपाल पट्टीको सडक मर्मत तथा पहिरो रोकथाम सुरु भएको छ ।
२०७२ सालको भूकम्पले क्षति पु-याएको अरनिको राजमार्गअन्तर्गत दोलालघाटदेखि कोदारीसम्मको ५९ किलोमिटर सडकको विभिन्न खण्डमा मर्मत तथा पहिरो रोकथामको काम सुरु गरेको डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर गागलकुमार भण्डारीले जानकारी दिए ।
सडकको लार्चा पुलसम्मको सडक डिभिजन सडक कार्यालय चरिकोटले गर्ने र त्यसभन्दा माथि सीमासम्मको सडक चिनियाँ टोलीले गरिरहेको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्रकुमार झाले जानकारी दिए । डिभिजन सडक कार्यालय चरिकोटले लार्चासम्मको कामका लागि तीन प्याकेजमा ठेक्का निकालेर काम सुरु गरेको छ । ठेक्का सम्झौता भई ३ महिनाभित्र काम पूरा गर्ने गरी फास्ट ट्रयाकमा काम भइरहेको झाले बताए । पहिरो रोकथामका लागि १२-१२ करोडको तीन प्याकेजमा ठेक्का लगाएको छ ।
२०७१ सालको जुरेको पहिरो र २०७२ सालको विनाशकारी भूकम्पपछि अरनिको सडकको जुरे, कोठे, बलेफी, जम्बु, सकुवा, डाक्लाङ लगायतको सडक खण्डमा पहिरो तथा बाढीले क्षति पु-याएको छ । विनाशकारी भूकम्पका कारण नेपाल पट्टी सिन्धुपाल्चोकको बाह्रबिसे, तातोपानी लगायतको क्षेत्र र चीनको लिपिङ, खासामा समेत ठूलो क्षति पुगेपछि तातोपानी नाका बन्द भएको थियो । २०७३ साउनमा आएको बाढीले तातोपानी क्षेत्रमा झन ठूलो क्षति पु-याएको छ । डिभिजन प्रमुख झाका अनुसार काम सुरु भएको पहिलो महिना ४० प्रतिशत काम सक्नुपर्ने र बाँकी काम अर्को दुई महिनाभित्र सक्नुपर्ने झाको भनाइ छ । यो ठेक्कामा म्याद थप नहुने पनि डिभिजन प्रमुख झाले बताए ।
अहिले पनि फुलपिङकट्टी (लार्चा) खोलामा बेलिब्रिज पुल राखेर सडक सुचारु भइरहेको र तीन महिनाभित्र पहिरो रोकथाम लगायतको काम सकिने भएकाले २०७६ वैशाखदेखि तातोपानी नाका खुला हँुदा नेपाल पट्टीको सडकले कुनै समस्या नहुने सडक डिभिजन कार्यालय दोलखाका इन्जिनियर गागलकुमार भण्डारीले बताए ।
बाह्रबिसे कोदारी २५ किमि सडकमध्ये लार्चादेखि कोदारीसम्मको सडक मर्मत लगायतको काम भने चीन सरकारले नै गरिरहेको इन्जिनियर भण्डारीले बताए । लार्चादेखि लिपिङसम्म सडक सबैभन्दा बढी क्षति पुगेको छ । त्यसको मर्मत संभारका लागि सरकारको उच्चतहमै सहमति भएर चिनियाँ टोलीले नै मर्मत गरिरहेको उनले बताए । भूकम्प जानुअघि लार्चामा सुक्खा बन्दरगाहसमेत निर्माणाधीन थियो । नाका सुचारु भए लगत्तै सुक्खा बन्दरगाहको समेत पुनर्निर्र्माण हुनेछ ।
भूकम्प जानु अघिसम्म १४ अर्बको लागतमा धुलिखेलदेखि कोदारीसम्मको सडक विस्तारको काम पनि चीन सरकारले नै गर्ने समझदारी भएको थियो । उक्त सडक नाका बन्द भएसँगै स्थगित भएको छ । तर काम कहिलेदेखि सुरु हुने भन्ने जानकारी नआएको सडक डिभिजन कार्यालय दोलखाले जनाएको छ । तातोपानी नाका बन्द भएपछि त्यहाँका व्यवसायीसमेत विस्थापित भएका छन् भने केही व्यवसायी रसुवागढी नाकामा सरेका छन् ।

प्रतिक्रिया दिनुहोस्