पर्यटन प्रवद्र्धन गर्न ‘टुर दि फापरबारी’ «

पर्यटन प्रवद्र्धन गर्न ‘टुर दि फापरबारी’

हेटौंडा- मकवानपुरको वागमती गाउँपालिका फापरबारी क्षेत्रको पर्यटन विकासका लागि हेटौंडा राइडर्स क्लबले भूमिका खेल्ने भएको छ । हेटौंडाबाट वागमती गाउँपालिकाको फापरबारीसम्म ‘टुर दि फापरबारी–२०१९’ को आयोजना गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
क्लबका अध्यक्ष विकास ताम्राकारले वागमती गाउँपालिकाको पर्यटनलाई टेवा पु-याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । पत्रकार सम्मेलनमा उनले ‘टुर दि फापरबारी–२०१९’ मा करिब १ सय ५० साइकलयात्री सहभागी हुने जानकारी दिए । माघ ११ गते बिहान हेटौंडाबाट सुरु हुने यात्रा सोही दिन फापरबारीमा पुग्नेछ । फापरबारीमा पुगेर वागमती गाउँपालिकाको पर्यटन सम्भावना भएका स्थलहरुको अवलोकनपछि भोलिपल्ट अर्थात् माघ १२ मा हेटौंडामा फर्किएर यात्रा समापन गरिने उनले बताए ।
कार्यक्रमबाट आफूहरुले सामाजिक सञ्जाल, विभिन्न मिडियामार्फत् वागमती गाउँपालिकाको पर्यटकीय स्थलहरुको बारेमा चर्चा गर्ने समेत ताम्राकारले बताए । कार्यक्रमलाई वागमती गाउँपालिकाले पनि सहकार्य गरेको छ । वागमती गाउँपालिकामा रहेको ऐतिहासिक स्थलहरु, युद्धको समयमा चर्चामा आएका स्थलहरुलगायतको क्षेत्रमा भ्रमण गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा हेटौँडा राईडर्स क्लबका सस्ंथापक अध्यक्ष दिपेन्द्रचन्द ठकुरीले मकवानपुरलाई साकइलबाट चिनाउने प्रयास भइरहेको बताए । प्रदेश नम्बर ३ को राजधानीलाई साइकल सिटिको रुपमा विकास गर्न समेत आफूहरुले पहल गरेको उनको भनाइ रहेको छ । कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्सले प्रत्येक राईडरको दुई लाख रुपैयाँ बराबरको दुर्घटना बिमाको सम्झौता समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्