Logo

खप्तड गोल्डकपको फाइनलमा पुलिस र थ्रीस्टार भिड्दै

तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा शनिबार रुस्लान थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । दुवै टोलीले मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेका छन् ।
पुलिसका कप्तान विक्रम धिमालले योजनाअनुसार खेल्दै उपाधि जित्ने बताएका छन् । “हामीले यहाँसम्म आइपुग्दा आफ्नो योजनाअनुसार खेलेका छौं । फाइनलमा पनि त्यसलाई निरन्तरता दिँदै उपाधि जित्ने लक्ष्य राखेका छौं,” उनले भने । पुलिसका प्रशिक्षक अनन्त थापाले मोफसलको सर्वाधिक धनराशीको प्रतियोगिताको फाइनल पुग्दा टोली हौसिएको बताए । “लिगमा अपेक्षित प्रदर्शन हुन सकेन । अहिले मोफसलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगितामा फाइनल यात्रा तय गर्दा पूरै टोलीको मनोबल बढेको छ । फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेछौं ।”
रुस्लान थ्रीस्टारका कप्तान विक्रम लामाले अपेक्षा गरेअनुसार नतिजा हासिल गरिरहेको बताए । “लिगमा हाम्रो प्रदर्शन राम्रो हुन सकेको थिएन । मोफसलमा हामीले राम्रो सुरुवात गर्ने लक्ष्य राखेका थियौं । यस प्रतियोगितालाई हामीले शिक्षाको रुपमा लिएका छौं । अब फाइनलमा उपाधि जितेर सुखद् सुरुवात गर्न तत्पर छौं,” उनले भने ।
प्रशिक्षक उज्जवल मानन्धरले विपक्षी भन्दा बढी मिहिनेत गरेर उपाधि जित्ने बताए । “फाइनल पुगेका छौं । लक्ष्य भनेको उपाधि जित्ने नै हो । विपक्षी टोलीभन्दा बढी मिहिनेत गर्दै नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछौं,” उनले थपे । थ्रीस्टारका व्यवस्थापक मुकेश नकर्मीले पनि राम्रो प्रदर्शन भइरहेकाले उपाधि जित्नेमा आशावादी रहेको बताए ।
शनिबार धनगढी रंगशालामा हुने प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख रुपैयाँमा चित्त बुझाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ हरेकले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्