१७ करोडका खसी बोका बिक्री «

१७ करोडका खसी बोका बिक्री

नेपालगन्ज-बाँके, बर्दियासहित पश्चिम नेपालका ६ जिल्लाका महिला कृषकले चालू आर्थिक वर्षको छ महिनामा १७ करोड २४ लाख रूपैयाँ बराबरका खसीबोका बिक्री गरेका छन । यसबाट उनीहरूले २ करोड ५८ लाख रूपैयाँ आम्दानी गरेका छन् ।
बाख्रापालनका लागि सहकारी मार्फत विपन्न महिलालाई सहयोग गर्दै आएको हेफर इन्टरनेसनलले कार्यक्रम विस्तार गरेका बाँके, बर्दिया, सुर्खेत, दाङ, सल्यान र प्युठानका ४२ वटा सहकारीमा आवद्ध महिलाले पालेका १५ हजार ६ सय वटा खसीबोका बिक्रीबाट १७ करोड २४ लाखको कारोबार भएको हो ।
६ जिल्लाका ४२ सहकारीमा २४ हजार ४ सय ३१ महिला सेयर सदस्य छन् । उनीहरूको कुल सेयर पुँजीमात्र २९ करोड २५ लाख छ । सहकारीमा आवद्ध महिलाले उन्नत जातका खसीबोका व्यवसायिकरूपमा पालन गरेर बिक्री गर्दै आएका छन् ।
सोही क्रममा चालू आर्थिक वर्षको पुससम्म महिलाहरूले सो बिक्री गरेका हुन । हेफर इन्टरनेसनलका कार्यक्रम प्रबन्धक कृष्ण कट्टेलका अनुसार बिगतमा रहेका हचुवाको भरमा बिक्री गर्ने परिपाटीको अन्त्य भई महिला किसानले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा मात्र २ करोड ५८ लाख रूपैयाँ आम्दानी गरेका छन् ।
“महिलाहरू उत्साहित हुनुहुन्छ, यद्यपी अझै धेरै चुनौती छन्,” हेफरको सन्चारविज्ञ सुम्निमा श्रेष्ठले भनिन्, “उचित मूल्य, बजार व्यवस्थापन, मूल्य निर्धारणको सरोकारवाला निकाय नहुनु समस्याका रूपमा रहेको छ ।”
हेफर कार्यक्रमका प्रबन्धक कट्टेलका अनुसार पछिल्लो समयमा आएर गाउँका महिला सचेत भएपछि बिचौलियाको कमी भए पनि अझै त्यो समस्याका रूपमा रहेको छ । त्यसले पनि किसानका खसी बोकाले उचित मूल्य नपाएको उनले बताए ।
महिलाले पालेका खसीबोकाको बजारीकरणमा समस्या नहोस् भन्नका लागि बाँकेको ढकेरीमा एक पटकमा ५ सय खसीबाख्रा राख्न मिल्ने नमूना केन्द्रको रूपमा ठाउँ निर्माण गरिएको बाँके बाख्रा व्यवसाय केन्द्रका व्यवस्थापक कृष्ण केसीले बताए ।
यसलाई बिस्तार गरेर केन्द्रमा खसी र बाख्राको संख्यामा वृद्धि गर्दै व्यवसाय सञ्चालन गर्ने र आगामी २ वर्षभित्रमा केन्द्रमा वार्षिक ३० हजार बढी खसी संकलन गरी बिक्रीबितरण गर्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्