सर्वोत्तम स्टीलको भट्टी विष्फोट हुँदा १५ जना घाइते «

सर्वोत्तम स्टीलको भट्टी विष्फोट हुँदा १५ जना घाइते

आईसीपी पथलैया व्यापारिक मार्गस्थित सर्वोत्तम स्टीलको फलाम गलाउने भट्टीमा विष्फोट हुँदा १५ जना मजदुर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका २२ मनियारीमा रहेको सर्वोत्तम स्टिल उद्योगमा बिहीबार फलाम पगाल्ने भट्टी विष्फोट भएर आगलागी हुँदा १५ जना मजदुर घाइते भएका हुन् ।
घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको र सातजनाको समान्य रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । नेपालको औद्योगिक प्रतिष्ठान सौरभ समूहले सञ्चालनमा ल्याएको सर्वोत्तम स्टिल उद्योगमा बिहीबार १२ः४५ बजेतिर फलाम पगाल्नेक्रममा भट्टीमा लिक भएर विष्फोट भएको थियो । घाइते हुनेहरुमा एकजना नेपाली र अन्य १४ जना भारतीय रहेका छन् ।
विष्फोटमा घाइते भएका मजदुरहरुको शरीरको अधिकांश भाग जलेको अवस्थामा रहेको र उनीहरुको गण्डक स्थित नारायणी बयोधा अस्तालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब खनालले जानकारी दिए । विस्फोटको आवाज आसपासका गाउँहरुमा सुनिएपछि स्थानीयबासी उद्योगको गेटमा पुगेका थिए । उनीहरुले आफ्ना आफन्तहरु पनि उद्योगमा काम गरिरहेको भन्दै भित्र पस्न प्रयास गर्दा उद्योग प्रशासन र प्रहरीले उद्योग परिसरमा पस्न नदिएको स्थानीयले बताए ।
विष्फोटपछि लागेको आगो निभाउन वीरगन्ज महानगरपालिकाबाट गएका २ वटा वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खनालले बताए । भट्ठी पड्किँदा उछिट्टिएको आगोले उद्योगका अन्य प्लान्टमा पनि आगो लागेको थियो । पछि दमकलको सहायताले आगो निभाइएको थियो । सौरभ समूहले मनियारीमा साढे ६ अर्बको लगानीमा सञ्चालनमा ल्याएको देशकै सबैभन्दा ठूलो स्टिल उद्योगले गत साउन ५ गतेदेखि बिलेट र फलामको डण्डी उत्पादन गर्दै आएको छ । स्थापनाकालमा नै सार्वजनिक जग्गामा रहेको पुरानो पैनी पुरेर उद्योग स्थापना गरेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्