विश्व च्याम्पियनको सपना देख्दै रुकुमेली युवा «

विश्व च्याम्पियनको सपना देख्दै रुकुमेली युवा

रुकुम पश्चिम मुसिकोट नगरपालिका–५ का २९ वर्षिय दुर्गाराज बुढाको परिचय नै दौड हो । जहाँ र जतिबेला पनि बजार, डाँडापाखा र बेसीहरूमा दौडिरहने बुढाको लक्ष्य विश्व च्यापियनसम्म बन्नेछ । स्नातकसम्मको शिक्षासमेत हासिल गरेका बुढाको सपना पढेलेखेर सरकारी वा अन्य कुनै जागिर खाने सोच नै छैन । उनको केवल लक्ष्य नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक बन्नु नै हो ।
बुढा सानोमा दौड वा खेलकुद क्षेत्रमा चासो राख्दैनथे । तर एक दिन क्याम्पसबाट घर फर्कंदा गाडी नपाएर पैदल गर्नुपर्ने भयो । त्यहि पैदल नै उनको दौडको लागि ठूलो प्रेरणा मिल्यो । २०६५ सालमा पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा उनले प्लस टुमा साइन्स विषय लिएर अध्ययन गर्दै थिए । क्याम्पसमा बिदा भएको बेला उनी रुकुम घर आउनुपर्ने भयो । रुकुम आउन गाडी खोजे तर गाडी नै पाइएन ।
उनलाई लाग्यो– गाडी नपाउँदैमा लामो क्याम्पस बिदाको दिनमा पनि यतै बस्ने कुरा त भएन । घर त जानै भयो तर अब गाडीमा होइन, हिँडेरै घर जाने योजना बनाए । उनी पहिलो पटक बाटो स्थानीयहरूलाई सोध्दै पाल्पा, ढोरपाटन, तकसेरा हँुदै खलंगामा पैदल हिँडेरै घर पुगे । ३ दिन लगाएर उनी रुकुमको घरमा पुगेका थिए । त्यसबेला लाग्यो– त्यो गाडीको धुलोधुवाँ र पैसा खर्च गर्नुभन्दा डाँडापाखामा प्राकृतिक आनन्दको यात्रा नै रमाईलो हुनेरैछ । त्यसपछि उनी सानातिना यात्रा कहिलै पनि गाडीमार्फत् गएनन्, जहिलै पैदल नै गरे । जसले गर्दा उनलाई एउटा धावकको रुपमा नै विकास ग-यो ।

दैनिक ५० किलोमिटर दौडिन्छन् बुढा
जिल्ला सदरमुकाम मुसिकोट बजारलगायतका अन्य डाँडाकाँडामा प्रायः दौडिरहेको देखिने बुढा दैनिक ५० देखि ५५ किलोमिटर दौड्ने बताउँछन् । “बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म म दैनिकजसो दौडने गरेको छु,” बुढाले भने, “साँझ बिहान दौडेन भने के बिर्सियो के बिर्सियो जस्तो हुन्छ, खाना नि रुच्दैन ।” खानामा नुन–खुर्सानी कम खाने बुढालाई माछामासु भन्दा साग सब्जी नै बढी मन पर्छ । कुनै बेला त राम्रोसँग पखालेको साग उनले नपकाएर काँचै पनि खान रुचाउँछन् । भातभन्दा रोटी र ढिँडो मन पराउने बुढा मासु र गेडागेडीको झोल र मह पनि त्यतिकै रुचाउँछन् ।

दर्जनौं दौडमा विजयी
क्याम्पसको बिदामा गाडी नपाउँदा पैदल हिँडेरै घरमा पुगेका बुढालाई त्यसपछि दौडको नसा नै चढ्न लाग्यो । पढाइभन्दा दौडमा नै रुची जाग्न थाल्यो । अनि जिल्ला र क्षेत्रस्तरका विभिन्न दौड प्रतियोगिताहरूमा भाग लिए । दौडमा भाग लिएपछि उनी क्रमशः विजयी हुँदै गए र झन् उत्साह थपिँदै गयो । बुढा २०७२ सालमा रुकुमको तकसेरामा आयोजना गरिएको जिल्लास्तरीय गुरिल्ला हाफ म्याराथुन प्रतियोगितामा प्रथम भए । त्यस्तै जिल्लाकै समृद्ध समाजले आयोजना गरेको २८ किलोमिटरको गुरिल्ला ट्रेलमा पनि प्रथम स्थान हासिल गरे । त्यसलगायत जिल्ला स्तरमा भएका दर्जनौं दौडमा उनले प्रथम स्थान हासिल गरेका छन् ।
त्यस्तै १० हजार मिटरको क्षेत्रीय प्रतियोगिताको रुपमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी तृतिय भए । त्यसैगरी गएको वैशाख २९ गते भएको नेपालभरको सहभागिता रहेको अल्टा ट्रेल रेस प्रतियोगितामा पनि दोस्रो भए । ४४ किलोमिटर दौडको उक्त प्रतियोगिता व्यास नगरपालिका तनहुँले गरेको थियो । जसमा उनले ५५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रसमेत हात पारे । केही समय अघिमात्र संचालन भएको अन्तर्राष्ट्रिय स्तरको ट्रेल रनिङ नेपाल १ सय किलोमिटरको दौडमा उनी दोस्रो भए । जसमा विश्वभरका १ सय ६१ धावकहरू सहभागी थिए । यस प्रतियोगितामा विश्वको दोस्रो र नेपालको तर्फबाट प्रथम भएपछि उनी चीनमा हुन लागेको एसियन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन छनोट पनि भएका छन् । त्यसलगायतका राष्ट्रिय स्तरका पनि दर्जनौं प्रतियोगितामा उनले राम्रो स्थान हासिल गरेका छन् ।

नाम दर्ता गर्न पनि पैसा हुँदैन कहिलेकाहीँ
जिल्ला, क्षेत्र र राष्ट्रिय स्तरका धेरै प्रतियोगितामा विजय हासिल गरिसकेका बुढासँग जसरी दौडने आँट र क्षमता छ, त्यसरी नै आर्थिक रुपमा पनि निकै समस्या छ । गाउँमा गरिब परिवारमा हुर्नेका बुढा कतै दौड प्रतियोगिता खुलेको खबर हुन्छ, भाग लिन उत्साहित हुन्छन् तर उनीसँग कहिलेकाहिँ त प्रतियोगितामा नाम गर्दा गर्नेसम्म पैसा हुँदैन । “धेरै पटक त्यस्तो भएको छ, अनि शुभेच्छुक साथीभाइ र व्यापारीहरूलाई भन्छु । अनि दुईचार हजार सहयोग सबैले गर्नुहुन्छ,” उनले भने ।
प्रतियोगितामा नाम दर्ता गर्नेमात्र होइन, उनलाई प्रतियोगितामा भाग लिन तयार हुनसमेत खर्च हुँदैन । बाटोमा खानपिन, गाडीभाडा र यात्रामा दौडँदा चाहिने महँगो जुत्ता, ड्रेस किन्न समेत धौधौ पर्छ । “एउटा राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिँदा कम्तिमा ३०÷४० हजार खर्च हुन्छ,” उनले भने, “मलाई साँझ–बिहानको छाक नै टार्न त समस्या छ । साथीभाइबाट मागेर जहिलै खर्च बेहोर्न गाह्रो छ ।”
उनले कोठाभरि प्रमाणपत्र र मेडल राखेका छन् । उनको सम्पत्ति नै त्यही हो । “सबैभन्दा मुख्य कुरा मान्छेको इच्छा हो, सोच हो, अरु बिस्तारै जुट्दै जान्छ भनेर दौडको नशा मपरेको छैन,” उनले भने ।

विश्व च्याम्पियन हुने लक्ष
आफ्नो लक्षमा कसैले साथ दिए आफू विश्व च्याम्पियन बन्ने उनको लक्ष छ । केही समयअघि सम्पन्न भएको ट्रेल रनिङ नेपाल छनोट खेलबाट उनी अन्तर्राष्ट्रिय स्तरको खेलमा समेत छनोट भएका छन् । उनी अहिले केही समयभित्रै चीनमा हुन लागेको एसियन च्याम्पियनसिप खेलको लागि तयारी गरिरहेका छन् । उनी दैनिक दौडलगायता अन्य व्यायामहरूलाई पनि तिव्रता दिइरहेका छन् ।
“चाइनामा हुन गइरहेको एसियन च्याम्पियनसिपमा पनि विजयी हासिल गर्ने लक्ष्य छ,” उनले भने, “त्यहाँसम्म पुगेर सहभागिता जनाउन र आवश्यक सामग्रीहरू खरिद गर्न मलाई आर्थिक सहयोगको खाँचो छ । जोकसैले पनि मलाई सक्दो सहयोग गर्न सक्नुहुन्छ ।” दौड क्षेत्रबाट नै रुकुममात्र नभएर आफ्नो देशको नाम राख्ने लक्ष्यमा जिल्लास्थित सरकार र विभिन्न निकायहरूबाट आवश्यक सहयोग नहुँदा पनि उनी रुष्ट छन् । “म रुकुमको मात्र होइन, नेपालको नाम राख्न चाहन्छु । तर मलाई समस्या भनेको आर्थिक हो, कृपया सहयोग गर्नुहोस् । म तपाईंहरूको सहयोग खेर जान दिने छैन,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्