सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट «

सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका कमजोरीहरुलाई सच्याउँदै प्रदेश सरकार अगाडि बढिसकेको बताएका छन् ।
प्रेस संगठन नेपालका सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र कैलाली जिल्लाका पदाधिकारीहरुसंगको भेटमा बिहिबार मुख्यमन्त्री भट्टले विकासको गतिमा प्रदेश सरकार अगाडि बढेको बताएका हुन् ।
उनले विकास विरोधी तत्वहरुले प्रदेश सरकारका मुख्यमन्त्रीको विरुद्ध विभिन्न प्रपन्चहरु रचेको भएपनि त्यसलाई चिर्दै प्रदेश सरकार अगाडि बढिरहेको बताए ।
प्रदेशका नागरिकहरुलाई सेवा सुविधा पु¥याउनका लागि अझै सशक्त ढंगले अगाडि बढ्ने प्रयत्न गरिरहेको बताउँदै उनले त्यसमा पत्रकार र सञ्चार माध्यमको समेत साथ आवश्यक पर्नेमा जोड दिए । उनले पत्रकारहरुको हकहितका लागि प्रदेश सरकारले आमसञ्चार नीति ल्याउने तयारी गरिरहेको बताए ।
पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुने भ्रम फैलाउने काम भइरहेको मुख्यमन्त्री भट्टले बताए । उनले तत्कालको राजनीतिक परिवर्तनले सुदूरपश्चिम प्रदेश सरकारलाई कुनै पनि असर नपरेको हुनाले वर्तमान सरकार नै निरन्तर रहने दाबी गरे । उनले नेकपा एमालेको अन्तरपार्टी संघर्षले नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई असर नपरेको बताए ।
मुख्यमन्त्री भट्टले आफू फरक धरातलबाट आएको हुनाले मुख्यमन्त्री हुँदादेखि नै आफूलाई कमजोर देखाउने दुस्साहास माओवादीलाई नरुचाउनेहरुबाट हुँदै आएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्