संसद्लाई बन्धक बनाउन पाइँदै : भट्टराई «

संसद्लाई बन्धक बनाउन पाइँदै : भट्टराई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद् बैठकबाट पारित हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने जनाए । उनले भने, “माघ ११ गते बस्ने बैठकमा यो विधेयक हामी ट्याक्कै पारित गर्छौं । पास हुन्छ । मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ । किनभने त्यसको नजिर कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाइसक्नुभएको छ ।”
उनले अगाडि थपे, “नेपाली कांग्रेसका साथीहरुलाई म रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन आग्रह गर्छु । उहाँले स्थानीय तहसम्बन्धी विधेयक पास गर्दा तत्कालिन नेकपा एमालेले संसद् अवरोध ग¥यो । मन्त्रीले रोष्ट्रममा गएर त्यो विधेयक प्रस्तुत गर्न सक्नुभएन । तर, सभामुख पौडेलले तपाईं जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विधेयक प्रस्तुत गर्नुस् भनेर मन्त्रीलाई भन्नुभयो । पौडेलजीले त्यतिबेला मन्त्रीलाई बसेकै ठाउँबाट विधेयक टेबुल गर्न लगाउनुभयो र पास गर्नुभयो । म नेपाली कांग्रेसका साथीहरुलाई त्यो कुरा पनि हेर्न भन्छु ।”
संसद्को आफ्नै अधिकार हुने सुनाउँदै उनले चिकित्सा शिक्षा विधेयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे । उनले भने, “त्यतिवेला विधेयक पास भैहाल्यो । हामीले विरोध ग¥यौं । नेपाली कांग्रेसले ज्यादती ग¥यो भन्यौं । अब अहिले पनि नेपाली कांग्रेससँग त्यो अधिकार छ । कम्युनिष्ट पार्टीले ज्यादती ग¥यो भन्नुहोस्, तर विधेयक पारित गर्ने कुरालाई रोक्न पाइँदैन ।”
संसद् आफ्नो पार्टीको लागि आत्मा हो, पर्यावाची हो भन्ने कांग्रेसजस्तो पार्टीले संसद्लाई खिल्ली उडाउन नहुने उनको भनाइ छ । उनले भने, “व्यवस्थाप्रतिको जनताको विश्वास गुम्न सक्छ । त्यो डगमगाउन सक्छ । ०१७ सालमा त्यस्तै भएको थियो । नेपाली कांग्रेसका साथीहरुलाई यो विधेयक मन परेको छैन भने तपाईंहरु मतदानको माग गर्नुहोस् । आफ्नो विपक्षमा मत हाल्नुहोस् । ती सबै अधिकारहरु छन्, त्यसलाई प्रयोग गर्नुहोस् । ती अधिकारलाई प्रयोग नगरी संसद्लाई बन्धक बनाउने कुरा राम्रो होइन ।”
भट्टराईले अनशनरत डा. गोविन्द केसी गलत भएको प्रतिक्रिया दिए । उनले भने, “डाक्टर केसी गलत हुनुहुन्छ । अब उहाँ पछि हट्नुको विकल्प छैन । किनभने उहाँले उठाउनुभएको सबै माग विधेयकमा समावेश भैसकेका छन् । उहाँले उठाउँदै आएका मुद्दापनि यसमा आएका छन् । अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु । पख तिमीहरुलाई भन्नुभएको छ । त्यो हो भने बेग्लै कुरा हो ।”
सोमबार संसद्मा कांग्रेस उपसभापति एवम् संसदीय दलको उपनेता विजयकुमार गच्छदारले बोलेको कुराप्रति टिप्पणी गर्दै भट्टराईले भने, “यो कुरा हामी कांग्रेससँग कुनै दिन सोधौंला, उहाँले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै भन्नुभयो– हिजो माओवादी लडाकुहरु नेपाली सेनामा समायोजन भएका छन्, यसलाई फिर्ता लैजाउ भन्नुभयो । यो निकै गम्भिर कुरा हो ।”
आफूहरु नेपाली कांग्रेसजस्तो नभएको उल्लेख गर्दै भट्टराईले सम्मानित नेताहरुको संस्थाप्रति कुनै वैरभाव नरहेको स्पष्ट पारे । उनले भने, “हामी कांग्रेसजस्तो होइनौं । मनमोहनको नाममा एउटा अस्पताल र कलेज चलाउँछौं भन्दा हामीलाई डण्डा लगाएर लखेट्नुभयो । गिरिजाबाबु हाम्रो नेता हो । सुशीलजी हाम्रो नेता हो । किनभने हामी सँगै लडेका हौं । विपी हाम्रो नेता हो । किसुनजी र गणेशमानजी त झन् हाम्रो नेता हो । उहाँहरुजस्तो सम्मानित नेताको संस्थाप्रति हाम्रो कुनैपनि वैरभाव छैन । त्यो कुरा प्रधानमन्त्रीले संसद्मा प्रष्टसँग भनिसक्नुभएको छ । यसमा कोहीपनि भ्रममा नपरे हुन्छ ।”

 

प्रतिक्रिया दिनुहोस्