वनबाट कार्बन बिक्री गर्ने समस्या «

वनबाट कार्बन बिक्री गर्ने समस्या

GettyImages / Romolo Tavani

नेपालको कुल क्षेत्रफलको अन्दाजी ६६ लाख हेक्टर भूभाग वनक्षेत्रले ढाकेको छ । वन तथा वातावरण मन्त्रालयद्वारा प्रकाशित एक तथ्याङ्कअनुसार एक हेक्टर वनले १ सय ७६ दशमलव ९५ मेट्रिक टन कार्बन सञ्चित गर्छ । यसका आधारमा हिसाब गर्दा यहाँको वनबाट बर्सेनि कुल १ अर्ब १० करोड ८४ लाख ७० हजार मेट्रिक टन कार्बन सञ्चित हुने अनुमान छ ।
कार्बन भण्डारणको अनुपातिक सम्भावनाका हिसाबले दक्षिण एसियाका अन्य देशहरूको तुलनामा नेपालको स्थिति राम्रो छ । त्यसैले यहाँको वनबाट कार्बन व्यापार फस्टाउने प्रबल सम्भावना छ ।
हाल विश्वबजारमा प्रति मेट्रिक टन कार्बन ५ डलरमा बिक्री हुन्छ । सोही मूल्यका आधारमा यहाँ प्रतिवर्ष १ खर्बभन्दा बढीको कार्बन व्यापार गर्न सकिने अनुमान छ । यहाँ कार्बन व्यापारबाट केही फाइदा हुने देखिएकाले सरकारले यस्तो व्यापारलाई उच्च प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन गरेको छ ।
हाल सरकारले यहाँको वन क्षेत्रबाट झन्डै ३६ लाख मेट्रिक टन कार्बन उत्पादन गर्ने लक्ष्य लिएको छ, जसमध्ये ५ लाख मेट्रिक टन सन् २०२२ सम्म विश्व बैंकमार्फत नर्वे र जर्मनीलाई बिक्री गर्ने सोचमा सरकार छ । ७ लाख मेट्रिक टन कार्बन बफरको रूपमा राखेको नेपालले बाँकी १५ लाख मेट्रिक टन अन्य इच्छुक देशहरूलाई बिक्री गर्न सक्ने कुरा यहाँ बनाइएको रणनीतिमा उल्लेख गरिएको छ ।
वास्तवमा गत फागुनमा विश्व बैंकसँग कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता गरेपछि नेपाल कार्बन व्यापारको चरणमा प्रवेश गरेको छ । वास्तवमा कार्बन व्यापार गर्न सहज छैन । किनभने जलवायु परिवर्तनबाट परिरहेका तथा पर्न सक्ने प्रभावहरूसम्बन्धी अध्ययन यहाँ अत्यन्त न्यून भएकाले कुन भौगोलिक क्षेत्रमा कुन प्रकारको प्रभाव परेको छ अझसम्म राम्ररी थाहा हुन सकेको छैन । वास्तवमा जलवायु परिवर्तनका कारण वनक्षेत्रमा परेको प्रतिकूल प्रभावको विस्तृत लेखाजोखा हुन बाँकी नै छ ।
जलवायु परिवर्तनका कारण हिमालको तापक्रम दिन–प्रतिदिन बढिरहेको छ । यसको असर तराईदेखि पहाड र हिमालसम्मका वनजङ्गलहरूमा परेको छ ।
यथार्थतः एकातिर हिमताल विस्फोटनका घटनाहरूले हिमालको सम्पूर्ण वातावरणलाई चुनौती दिइरहेको छ भने अर्कातिर मनाङजस्तो हिमाली जिल्ला मात्र नभएर ताप्लेजुङको पाथीभराको वनमा लागेको डढेलोले गम्भीर समस्या उब्जाएको छ, किनभने यसबाट हजारौं पशुपन्छी र वनस्पतिको लोप भएको छ । बर्सेनि लाग्ने वन डढेलोले एकातिर नेपालको कार्बन व्यापारको सपना पूरा हुन दिँदैन भने अर्कातिर विश्व संस्थाहरूले उक्त व्यापारमा तोकेको कार्बन उत्सर्जन गर्न नसके यसले हर्जना तिर्नुपर्नेछ ।
वर्तमान समयमा यहाँ प्रतिवर्ष १० करोड एकड वनविनाश भइरहेको छ । यसका लागि वृक्षारोपण एवम् वन संरक्षण गर्नु नितान्त जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्