सरकारविरुद्ध नेविसंघको प्रदर्शन «

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध उत्रिएको छ । बुधबार दिउँसो नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
नेविसंघ केन्द्रीय समितिको आयोजनामा भएको विरोध कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसबाट नेविसंघका कार्यकर्ताहरु जुलुससहित माइतीघर मण्डला आइपुगेका थिए । उनीहरु ‘निर्मलालाई न्याय दे’, ‘गोविन्द केसीको माग पूरा गर’, ‘ओली सरकार मुर्दावाद’ लगायत नारा लगाउँदै बानेश्वर पुगेका थिए । बानेश्वरमा आयोजित कोणसभामा सम्बोधन गर्दै संघका अध्यक्ष नैनसिंह महरले सरकार दुई तिहाईको दम्भमा गलत बाटोमा गएको बताए । ‘ने क पा नेतृत्वको सरकारलाई नेविसंघका १६ प्रश्न’ उल्लेख गरेर बुधबारदेखि सरकारविरुद्ध देशव्यापी संघर्ष सुरु भएको अध्यक्ष महरले बताए । अनसनरत डा. गोविन्द केसीले राखेका मागका पक्षमा र निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको विरुद्धमा नेविसंघले प्रदर्शन गरेको हो ।
कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई संघीय सरकार मातहत राख्नुपर्ने, निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने, डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गरिनुपर्ने लगायतका उनीहरुको माग छ । “केपी ओली नेतृत्वको यो सरकार माफियाको पक्षमा काम गर्दैछ । यसलाई नहटाएसम्म नेविसंघ निरन्तर आन्दोलनमा रहनेछ,” अध्यक्ष महरले भने । उपाध्यक्ष निलकण्ठ रिजालले सरकारले आफूहरुले उठाएको माग नसुने देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।
महामन्त्री कुन्दन काफ्लेले नेकपा नेता योगेश भट्टराई माफियाको चंगुलमा फसेको आरोप लगाए । कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने, निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्नुपर्नेलगायत माग नेविसंघको छ ।

 

प्रतिक्रिया दिनुहोस्