एक वर्षमा ९६१ अर्ब रेमिट्यान्स

गत आर्थिक वर्षमा विदेश बस्ने नेपालीबाट रेमिट्यान्सबापत ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ भित्रिएको छ । कोभिड—१९ को महामारीका कारण वैदेशिक रोजगारीमा प्रभाव परे पनि अमेरिकी डलरको मूल्यमा भएको वृद्धि र हुन्डीलगायतका अनौपचारिक माध्यम बन्द भई औपचारिक माध्यमबाट रकम पठाउँदा रेमिट्यान्स वृद्धि भएको हो ।
कोभिड महामारीका कारण रेमिट्यान्स आप्रवाह नकारात्मक हुने राष्ट्र बैंकका साथै विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेका थिए । उक्त अनुमान विपरीत अघिल्लो आवमा रेमिट्यान्स झिनो अंकले रेमिट्यान्स घटेको थियो ।
आव २०७६/०७७ मा रेमिट्यान्स ०.५ प्रतिशतले घटेर ८ खर्ब ७५ अर्ब ३ करोडमा सिमित भएकोमा गत आवमा भने ९.८ प्रतिशतले वृद्धि भएको हो । राष्ट्र बैंकले विहिबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा रेमिट्यान्स बाहेकका आर्थिक सूचकहरु भने नकारात्मक रहेको उल्लेख गरेको छ । रेमिट्यान्स वृद्धि भएपनि निर्यातको तुलनामा आयात उच्च हुँदा देशको आर्थिक सूचकहरुमा नकारात्मक प्रभाव परेको छ ।
राष्ट्र बैंकका अनुसार आव २०७६/०७७ मा देशको व्यापारघाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । कोभिड महामारीका कारण आयात घट्दा अघिल्लो आवमा भने व्यापारघाटा १६.८ प्रतिशतले घटेको थियो ।
गत आवमा १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँ वस्तु आयात हुँदा १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको राष्ट्र बैंकले जनाएको छ ।
व्यापार घाटा वृद्धिसँगै शोधानान्तर बचत पनि घटेको छ । अघिल्लो आवमा २ खर्ब ८१ अर्ब रुपैयाँले बचतमा रहेको शोधानान्तर स्थिति गत आवमा १ अर्ब २३ करोड रुपैयाँ मात्रले बचतमा रहेको छ । यसैगरी चालु खाताको घाटा समेत बढेको छ । गत आवमा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो ।
यसैगरी देशको कुल विदेशी विनिमय संचितिमा पनि दवाव बढेको छ । २०७७ असार मसान्तमा १४ खर्व एक अर्ब ८४ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति ०.२ प्रतिशतले कमी आई २०७८ असार मसान्तमा १३ खर्व ९९ अर्ब ३ करोड कायम भएको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । गत आर्थिक बर्षमा बैक तथा वित्तिय संस्थाहरुको निक्षेप संकलन २१.४ प्रतिशतले बृद्धि भएको छ भने २७.३ प्रतिशतले निजी क्षेत्रमा कर्जा प्रबाह भइरहेको छ ।