प्रथम पोल्ट्री महोत्सव हुँदै «

प्रथम पोल्ट्री महोत्सव हुँदै

दाङ-पाँच नम्बर प्रदेशस्तरीय पहिलो पोल्ट्री महोत्सव तथा प्रदर्शनी दाङमा बिहीबार (आज) सुरु हुँदै छ । प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजक उद्योग वाणिज्य संघ दाङ र सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीले जनाएका छन् ।
घोराहीस्थित कृषि सामग्री कम्पनीको प्राङ्गणमा सुरु हुने महोत्सवको तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । महोत्सवको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले गर्ने कार्यक्रम रहेको सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक निबहादुर बुढाथोकीले जानकारी दिए ।
उद्घाटन अघि घोराही बजारमा विभिन्न संस्कृति झल्कने झाँकीसहितको ¥यालीको आयोजना गरिने छ । ‘कुखुरापालन एवं बजारीकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ हुने प्रदर्शनीमा पोल्ट्रीसम्बन्धी प्रदर्शनी र यो व्यवसायमा सम्बन्धित सचेतनामूलक कार्यक्रम पनि हुने सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका उपाध्यक्ष महेन्द्र बुढाथोकीले बताए । महोत्सव माघ २० गतेसम्म चल्ने छ । महोत्सव अवधिभर करिब २ लाख दर्शकले अवलोकन गर्ने र २ करोड रूपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्