दैलेखका स्थानीय तहको बेरुजु ४४ करोड «

दैलेखका स्थानीय तहको बेरुजु ४४ करोड


दैलेखका ११ स्थनीय तहको बेरुजु ४४ करोड ७५ लाख ८० हजार देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०७६/७७ को हालै सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनअनुसार ४ नगरपालिका र ७ गाउँपालिकाको बेरुजु ४४ करोड ७५ लाख ८० हजार देखिएको हो ।
११ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु देखिने गाउँपालिकामा ठाँटिकाँध रहेको छ भने सबैभन्दा कम बेरुजु देखिनेमा भगवतीमाई गाउँपालिकाको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक वार्षिक प्रतिवेदनअनुसार ठाँटिकाँध गाउँपालिकाको बेरुजु सबैभन्दा बढी हो । जिल्लामा सबैभन्दा कम बेरुजु हुनेमा भगवतीमाई गाउँपालिका रहेको छ । यहाँका स्थानीय तहले लेखा परीक्षण गरेको कुल रकममध्ये ठाँटिकाँध गाउँपालिकाको बढी र भगवतीमाई गाउँपालिकाको कम बेरुजु देखिएको हो ।
दैलेखको आठबिस नगरपालिकाले ८१ करोड ९३ लाख २० हजारको लेखा परीक्षण गरेकोमा २ करोड ६८ लाख ६७ हजार बेरुजु देखिएको छ । आठबिस नगरपालिकाले लेखा परीक्षण गरेको कुल रकमको ३ दशमलव २८ प्रतिशत रकम बेरुजु आएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । चामुण्डा विन्द्रासैनी नगरपालिकाले ९४ करोड ५६ लाख २९ हजारको लेखा परीक्षण गरेकोमा २ करोड ६८ लाख ६३ हजार बेरुजु देखिएको छ । उक्त बेरुजु लेखा परीक्षण गरिएको कुल रकमको २ दशमलव ८४ प्रतिशत हो ।
यसैगरी दैलेखको सबैभन्दा पुरानो नारायण नगरपालिकाले एक अर्ब ११ करोड ८६ लाख २० हजारको लेखा परीक्षण गरेकोमा ४ करोड २७ लाख ३ हजार बेरुजु रहेको छ । लेखा परीक्षण गरेको कुल रकममध्ये ३ दशमलव ८२ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको प्रतिवेदनमा दुल्लु नगरपालिकाको ४ करोड २७ लाख ३ हजार बेरुजु रहेको उल्लेख गरिएको छ । दुल्लुले १ अर्ब ५० करोड ५३ लाख ५३ हजारको लेखा परीक्षण गराएकोमा २ दशमलव ९३ प्रतिशत बेरुजु देखिएको हो ।
यता सबैभन्दा बढी बेरुजु देखिएको ठाँटिकाँध गाउँपालिकाको कुल बेरुजु १० करोड १३ लाख २५ हजार रहेको छ । ठाँटिकाँधले १ अर्ब २५ करोड ७३ लाख ३८ हजारको लेखा परीक्षण गरेकोमा कुल रकमको ८ दशमलव ०६ प्रतिशत बेरुजु देखिएको हो । यस्तै दैलेख निर्वाचन क्षेत्र नं. २ मा पर्ने भैरवी गाउँपालिकाको बेरुजु ३ करोड ९५ लाख २२ हजार रहेको छ । भैरवीले ८५ करोड ९६ लाख १९ हजारको लेखा परीक्षण गरेकोमा ३ करोड ९५ लाख २२ हजार अर्थात् ४ दशमलव ६० प्रतिशत बेरुजु देखिएको छ ।
नौमूले गाउँपालिकाले ७८ करोड ७८ लाख ५३ हजारको लेखा परीक्षण गरेकोमा ३ करोड ४६ लाख १६ हजार बेरुजु आएको छ । यो बेरुजु गाउँपालिकाले लेखा परीक्षण गरेको कुल रकमको ४ दशमलव ३९ प्रतिशत हो । यहाँको महावु गाउँपालिकामा ४ दशमलव १४ प्रतिशत बेरुजु रहेको छ । गाउँपालिकाले गरेको ७९ करोड २ लाख १ हजारमध्ये ३ करोड २६ लाख ८५ हजार बेरुजु रहेको छ । उता भगवतीमाई गाउँपालिकाको बेरुजु भने दैलेखमा सबैभन्दा कम रहेको छ । भगवतीमाईले लेखा परीक्षण गरेको ९६ करोड १७ लाख ६३ हजारमध्ये १ करोड ८३ लाख १७ हजार बेरुजु रहेको छ । यो लेखा परीक्षण गरेको कुल रकमको १ दशमलव ९० प्रतिशत हो ।
भगवतीमाईले २ करोड १२ लाखको विभिन्न निर्माणकार्य सम्पन्न गरेकोमा एक करोड ९ लाख रुपैयाँको निर्माण सामग्री सोझै खरिद गरेको छ भने श्रमिकको बैंक खातामा १ करोड २ लाख ८० हजार जम्मा भएको छ । प्रतिस्पर्धात्मक विधि अवलम्बन नगरी सोझै निर्माण सामग्री खरिद गर्नु कानुनसम्मत नभएको भन्दै सुधार गर्नुपर्ने महालेखाले सुझाव दिएकोछ छ ।
यस्तै दैलेखको डुङ्गेश्वर गाउँपालिकाको बेरुजु २ करोड ५१ लाख ९३ हजार रहेको छ । डुङ्गेश्वरले लेखा परीक्षण गरेको कुल ७४ करोड ४५ लाख ५ हजारमध्ये सो रकम बेरुजु आएको हो । यो लेखा परीक्षण गरेको कुल रकमको ३ दशमलव ३८ प्रतिशत हो । उता गुराँस गाउँपालिकाले ८९ करोड ५३ लाख ८ को लेखा परीक्षण गरेकोमा ५ करोड ५४ लाख १९ हजार बेरुजु देखिएको छ । यो बेरुजु लेखा परीक्षण गरेको कुल रकमको ६ दशमलव २२ प्रतिशत हो ।
आर्थिक वर्ष २०७६/०७७ मा दैलेखका स्थानीय तहले लेखा परीक्षण गरेको कुल १० अर्ब ६८ करोड ७३ लाख ९ हजारमध्ये ४४ करोड ७५ लाख ८० हजार बेरुजु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्