नासोङको सेवा प्रवाह पुनः धारापानीबाट «

नासोङको सेवा प्रवाह पुनः धारापानीबाट

हिमाली जिल्ला मनाङको नासोङ गाउँपालिकाले पुनः धारापानीबाटै सेवा प्रवाह सुरु गरेको छ । बाढीपहिरोको प्रभावसँगै करिब दुई महिनापछि गाउँपालिकाले आफ्नो सेवा प्रवाह पुनः नासोङ–३, धारापानीबाट सुरु गरेको हो ।
अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँपालिकाको प्रशासकीय भवन नै बगाएपछि छिमेकी जिल्ला लमजुङको सदरमुकाम बेसीसहरमा सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरेको थियो । अहिले पनि आफ्नो प्रशासकीय भवन नहुँदा घर भाडामा लिएर सेवा प्रवाह सुरु गरेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए ।
यसअघि नासोङ–३, वडा कार्यालय रहेको घरलाई नै गाउँपालिकाको कार्यालय बनाइएको गाउँपालिकाले जनाएको छ । हाल गाउँपालिका र वडा नम्बर ३ को कार्यालय एउटै भवनमा रहेका छन् ।
गाउँपालिकाले यसअघि बेसीसहर–८, शेराफाँटमा सम्पर्क कार्यालय तथा आपतकालीन सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह सुरु गरेको थियो । निरन्तर वर्षा र बाढीका कारण जिल्लामै रहेर सेवा प्रवाह गर्ने वातावतरण नभएकाले तत्काल सेवा प्रवाहको निम्ति अस्थायी कार्यालय स्थापना गरिएको थियो ।
अस्थायी कार्यालयमा रहेका सम्पूर्ण सामग्री धारापानीमै पु¥याएर सेवा प्रवाह सुरु गरिएको अध्यक्ष घलेको भनाइ छ । विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै प्रभावित नासोङ गाउँपालिका असार १ गते आएको बाढीका कारण थप प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्