तोकिएको समयअघिनै पोखराको इन्धन डिपो सम्पन्न हुने «

तोकिएको समयअघिनै पोखराको इन्धन डिपो सम्पन्न हुने


नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखरा डिपो विस्तारको काम निर्धारित समयअघि नै सकिने भएको छ । सरकारको ९० दिनलाई इन्धनको भन्डारण क्षमता बढाउने लक्ष्य अनुरुप निगमले पहिलो चरणमा पोखरामा डिपो विस्तारको काम सुरु गरेको थियो ।
कोरोनाको महामारीकै समयमा निर्माण कार्य थालेको नौ महिनामै ८० प्रतिशत भौतिक प्रगति सकिएको गण्डकी प्रादेशिक कार्यलयले जानकारी दिएको छ । निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीले डिपो निर्माण सुरु भएको नौ महिनामै ८० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।
अहिलेकै गतिमा काम अगाडि बढेपछि आगामी वैशाख महिनाभित्रै डिपो विस्तारको काम सम्पन्न हुने उनको भनाइ छ ।
गण्डकी प्रदेशको पेट्रोलियम माग एक महिनालाई धान्ने गरी ५० लाख लिटर क्षमताका दुई वटा भण्डारण गृह निर्माण गर्न लागेको निगमले जानकारी दिएको छ । सोही योजनाअन्तर्गत २४ लाख लिटर क्षमताको पानी ट्यांकी, पम्प हाउस, गार्डरुमलगायतका भौतिक संरचनासमेत निर्माण भइरहेको निगमले जनाएको छ ।
भौतिक संरचना निर्माणको काम सकिने अवस्थामा पुगेसँगै मेकानिकलतर्फको काम समेत सुरु गरिएको उनको भनाइ छ । कार्यालयका अनुसार, मेकानिकल कामका लागि चाहिने ९० प्रतिशत सामग्री समेत भारतबाट निर्माण स्थलमा ल्याई सकिएका कारण निर्माणको काम समय अगावै सकिने अवस्था रहेको छ ।
भूकम्प नाकाबन्दी, दैवी प्रकोपलगायतका समयमा लामो समयसम्म यातायातका साधन सञ्चालन हुन नसक्दा बिगतमा पेट्रोलियम पद्धार्थको वितरण असहज हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको थियो । इन्धनको आपूर्ति व्यवस्था सहज बनाउने योजनाअनुसार पहिलो परियोजनाका रुपमा पोखरा प्रादेशिक कार्यालयमा एक करोड लिटर डिजलको भण्डारण क्षमता बढाउने योजना अघि सारेको हो ।
पोखरा डिपोमा हाल भएको भण्डारणले डिजल ११ दिन र पेट्रोलको माग दुई दिन मात्र धान्न सक्ने अवस्था रहेको कार्यलयले जानकारी दिएको छ । थप एक करोड लिटर डिजलको भण्डारण निर्माण सम्पन्न भएपछि हाल डिजेल र मट्टितेल भण्डारण गरिएका स्थानमा पेट्रोल भण्डारण गरी पेट्रोलको भण्डारण क्षमतासमेत बढाइने प्रादेशिक प्रमुख कार्कीले बताए ।
भण्डारण क्षमता विस्तार भएपछि पेट्रोल र डिजेल ३० दिनलाई पुग्ने गरी भन्डारण गर्न सकिने कार्कीको भनाई छ । भ्याटबाहेक ७७ करोड रुपैयाँ लागत रहेको परियोजना नेपाली र भारतीय कम्पनी समानान्तर रेलिगेयर भारत ट्यांक जेभीले संयुक्त रुपमा निर्माण गरिरहेका छन् ।
हाल गण्डकी प्रादेशिक कार्यालयले पेट्रोल ३५० किलो लिटर, डिजल २२ सय ८० किलो लिटर, क्षमताको डिपोबाट सात जिल्लामा पेट्रोलियम पद्धार्थ वितरण गर्दै आएको छ । तनहुँ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा पोखरा डिपोबाट पेट्रोल, डिजल, मट्टितेल वितरण हुँदै आएको छ । पछिल्लो पटक गत फागुनमा मुस्ताङमा बिक्री केन्द्र खुलेसँगै पोखरा डिपोबाट तेल लग्ने जिल्लाको संख्या सात पुगेको हो । विगत ६ महिनामा मुस्ताङमा ६२ किलो लिटर डिजल बिक्री भएको बताइएको छ ।
२०७७ कात्तिक २७ गते तत्कालिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेपछि सुरु भएको परियोजना १८ महिनामा सक्ने सम्झौता थियो । केही महिना कोरोनाका कारण लकडाउन हुँदा काममा अवरोध पुगेपनि निर्धारित समयभन्दा तीन महिनाअघि निर्माण कार्य सम्पन्न गरेर निगमलाई हस्तान्तरण गर्ने उद्देश्यका साथ काम अघि बढिरहेको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्