महासंघ र संयुक्त राष्ट्रसंघले दीगो विकास लक्ष्यमा सहकार्य गर्ने «

महासंघ र संयुक्त राष्ट्रसंघले दीगो विकास लक्ष्यमा सहकार्य गर्ने


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच औपचारिक भेटवार्ता भएको छ । भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू (एसडीजी) पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्यबारे छलफल भएको छ ।
सो अवसरमा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौती सामना गर्न निजी क्षेत्रको भूमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनिकरणका लागि संयुक्त प्रयास गर्नेलगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।
संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष गोल्छाले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।
महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्ने उनको धारणा थियो । नेट २०३० ले नेपालले अबको पाँच वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नती हुन पूरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको छ । सोही अनुसार निजी क्षेत्रमा पर्न सक्ने प्रभाव र न्यूनिकरणका उपायसहितको अध्ययन प्रतिवेदन महासंघले तयार पारेको जनाएको छ ।
मुलुकभित्र उद्योग व्यवसायको विस्तार, लगानी अभिवृद्धि, रोजगारी सृजनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुझावहरूको कार्यान्वयनमा महासंघले सरकारमा समेत पहल गरीसकेको अध्यक्ष गोल्छाले बताए । यसको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघसँग पनि सहकार्य आवश्यक रहेको उनले बताए । अध्यक्ष गोल्छाले संयुक्त राष्ट्र संघसँग महासंघले निरन्तर सहकार्य गर्दै आएको र दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न महासंघ सहकार्य गर्न तत्पर रहेको बताए ।
सो अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक साराले चुनौतीलाई बहन गर्नसक्ने नेपाली निजी क्षेत्रको क्षमताको प्रशंसा गरिन् । कोभिड महामारीका बीचमा पनि नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको उनलेबताइन् ।

प्रतिक्रिया दिनुहोस्