तनहुँमा २ हजार २ सय निजी आवास पुनर्निर्माण «

तनहुँमा २ हजार २ सय निजी आवास पुनर्निर्माण

भूकम्प गएको तीन वर्षको अवधिमा तनहुँमा २ हजार २ सय ८३ निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ ।
२०७२ साल वैशाख १२ गते गएको भूकम्पले जिल्लामा १३ हजार ८ सय २१ घरधुरीमा क्षति पुगे पनि २ हजार २ सय ८३ घर मात्रै पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ । कार्यालयका नायब सुब्बा रामहरि खनालले उक्त घरहरू पूर्णरूपमा निर्माण सम्पन्न भएकोले सहरी विकास भवन डिभिजन कार्यालय गोरखामार्फत तेस्रो किस्तावापतको रकम भुक्तानीका लागि सिफारिस भएको जानकारी दिए । उनका अनुसार तीमध्ये १ हजार ९ सय १० लाभग्राहीलाई तेस्रो किस्तावापतको रकम भुक्तानीका लागि बैंकमा रकम पठाइसकिएको छ भने बाँकी लाभग्राहीको रकम भुक्तानीका लागि प्रक्रिया भइरहेको छ । उनले भने, “तेस्रो किस्तावापतको रकम भुक्तानीका लागि सिफारिस भएको घर संख्या नै पूर्णरूपमा निर्माण सम्पन्न भएका निजी आवास हुन् ।”

पुनर्निर्माणमा साढे एक अर्ब खर्च
भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा तनहुँमा साढे एक अर्बभन्दा बढी खर्च भएको छ ।
भूकम्पले घर क्षतिका भएकालाई अनुदान रकम वितरण गरिएकोमा हालसम्म एक अर्ब ६१ करोड २९ लाख ५० हजार पुनर्निर्माणमा खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ ।
इकाईका निमित्त प्रमुख दिपेन्द्रकुमार रोहिताका अनुसार १२ हजार ८ सय ३३ लाभग्राहीले पहिलो किस्तावापतको ५० हजार, ५ हजार २ सय २ लाभग्राहीले दोस्रो किस्तावापतको एक लाख ५० हजार र १ हजार ९ सय १० लाभग्राहीले तेस्रो किस्तावापतको एक लाख बुझेका छन् । उनका अनुसार पहिलो किस्तावापतको ६४ करोड १६ लाख ५० हजार, दोस्रो किस्तावापतको ७८ करोड ३ लाख र तेस्रो किस्तावापतको १९ करोड १० लाख निकासा भएको छ ।
कार्यालयका अनुसार भूकम्पपछि तनहुँमा २५ हजार १ सय ७५ घरधुरीको सर्भेक्षण गरिए पनि १३ हजार ८ सय २१ लाभग्राही पहिचान भएका थिए । भूकम्पले घर क्षति भएको भन्दै जिल्लामा ७ हजार ३ सय १० जनाले गुनासो दर्ता गराएका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो उपर अनुगमन गरी १ सय २३ लाभग्राहीलाई पुनर्निर्माणमा र ६ सय ७२ लाभग्राहीलाई प्रवलीकरणमा समावेश गरेको छ ।
निमित्त प्रमुख रोहिताले भने, “दोस्रो र तेस्रो किस्ता लाने क्रम बढ्दो छ, यसले घर निर्माण धमाधम भइरहेको देखाउँछ ।” निजी आवास पुनर्निर्माणकार्यको आर्थिक कारोबारबाहेक सबै काम स्थानीय तहले गर्ने सहमति भएपछि आवास पुनर्निर्माणले गति लिने अपेक्षा गरिएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए ।
प्राधिकरणले स्थानीय तहमा इन्जिनियर, सबइन्जिनियर, असिस्टेन्ट र डकर्मी आवश्यकता अनुसार खटाउने र हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी स्थानीय तहले गर्ने समझदारी भइसकेको छ । निजी आवास पुनर्निर्माणसम्बन्धी तथ्यांक, अभिलेख, दस्तावेज प्राधिकरणबाट स्थानीय तहमा पठाइएको इकाईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्