सडक र बत्तीले गरायो परिवर्तनको महसुस «

सडक र बत्तीले गरायो परिवर्तनको महसुस

सप्तरी-यातायातको कठिनाइ, बिजुली बत्ती अभाव तथा अन्य सुविधाबाट वञ्चित सप्तरीको बलानबिहुल गाउँपालिकाका बासिन्दाले अहिले विकासको अनुभूति गर्न पाएका छन् ।
१८ वटा स्थानीय तहमध्ये सबैभन्दा कान्छो गाउँपालिकाको रूपमा परिचित बलानबिहुलमा गत आवमा सडक विस्तारको काम सम्पन्न भइसकेपछि अहिले सम्पूर्ण वडामा बिजुली विस्तार गर्ने काम द्रुत गतिमा भइरहेको छ ।
स्थानीय तहको विभाजन भइसकेपछि मधेस केन्द्रित दलहरूले जनसंख्याको आधारमा मधेसमा थप स्थानीय तह थप्नु पर्ने भन्दै आन्दोलन गरेपछि सरकारले दोस्रो चरणमा थपेका स्थानीय तहमा बलानबिहुल गाउँपालिका साविकको बोदेबरसाइन नगरपालिकाबाट ६ वटा वडा छुट्याएर बनेको स्थानीय तह हो । सो गाउँपालिकाका स्थानीयले अहिलेसम्म विद्युत्को अनुभूति गर्न नपाएको अवस्थामा अहिले जनप्रतिनिधिको रोहबरमा बत्ती बाल्ने काम पूरा भएको छ । यसैबीच गाउँपालिकाको वडा नं. ३ लाई बुधबार पूर्ण बिजुलीयुक्त वडा घोषणा गरिएको छ । सो गाउँपालिका–३ टिकुलियालाई विधिवत रूपमा पूर्ण बिजुलीयुक्त वडा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए ।
एक साता अगाडि मात्र गाउँपालिकाको वडा नं. १ को सम्पूर्ण घरमा बिजुली जडान भइसकेपछि बुधबार वडा नं. ३ का सम्पूर्ण घरमा बिजुली जडान गर्ने काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष गोइतले बताए ।
यस्तै गाउँपालिकाको वडा नं. ४ मा पनि यसै साता बिजुली जडान गर्ने काम सम्पन्न हुने उनले जानकारी दिए । त्यस्तै वडा नं. २ का ७० प्रतिशत घरमा बिजुली बलिरहेकोे उनले बताए । त्यस्तै वडा नं. ५ र ६ मा गाउँपालिकाले पोल र विद्युत् तार लगाउने कार्य सम्पन्न गरे पनि सो वडामा एडीबी प्रोजेक्ट चलिरहेको तथा ११ हजार भोल्टको तार नआएका कारण बिजुली बल्न नसकेको बताए । उनले एडीबीले ११ हजार भोल्टको तार लगाउने बित्तिकै दुवै वडामा बिजुली बल्ने जानकारी दिए । गाउँपालिकाले गत आवमा गाउँपालिकाको ६ वटै वडामा बिजुलीकरणका लागि ३ करोड २१ हजार छुट्याएको अध्यक्ष गोइतले जानकारी दिए । सोहीअनुसार अहिले गाउँपालिकाभरि बिजुलीकरण विस्तार गर्ने काम दु्रत गतिमा भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्