भरतपुर मेट्रो प्लाजाः लगानी २ अर्ब, आम्दानी ८२ करोड «

भरतपुर मेट्रो प्लाजाः लगानी २ अर्ब, आम्दानी ८२ करोड

भरतपुर महानगरको जग्गामा २ अर्ब खर्चेर निजी क्षेत्रले भरतपुर मेट्रो प्लाजा बनाउने भएका छन् । करिब २५ वर्ष सब्जी मण्डी सञ्चालन भएको भरतपुर–३ लायन्सचोक क्षेत्रमा सुविधासम्पन्न प्लाजा बनाउन महानगरले सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणा बमोजिम ३० वर्षका लागि जग्गा भाडामा दिएको छ ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्लाजाको शिलान्यास गरेका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले विकासलाई तीव्रता दिन निजी क्षेत्रसँग भएका स्रोत, साधन र क्षमता सदुपयोग गर्न उदारमन गर्नुपर्ने बताए । “यो बहुउद्येश्यिय प्लाजामात्रै होइन, बहुआयामिक सन्देश दिने परियोजना पनि हो”, उनले भने, “निजी क्षेत्रलाई सकारात्मक ढंगले हेर्नुपर्छ, सहकार्य बढाउनुपर्छ ।” महानगरको साढे ११ कट्टठामा बन्ने प्लाजा ३ वर्षमा निर्माण पूरा हुने जनाइएको छ । साउन २४ गते आर्य बिल्डर्स इञ्जिनियरिङ प्रालि र महानगरबीच सम्झौता भएको थियो । ३ वटा अण्डरग्राउण्ड (बेसमेण्ट) पार्कीङ बनाइनेछ । १४ तले प्लाजा बन्नेछ । जसमा चिल्ड्रेन पार्क, फुड कोर्ट, पाँचतारे होटल, बैंक, सिनेमा हल, सेमिनार हललगायतका व्यवसायहरु सञ्चालन हुनेछ । आर्य बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ वर्षभित्रै निर्माण पूरा गरेर सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाए । प्लाजा निर्माणको सबै लगानी निजी क्षेत्रबाटै हुनेछ ।
यो प्लाजामा ५ जना व्यवसायीको लगानी रहेको छ । प्लाजा सञ्चालनबापत उनीहरुबाट महानगरले ३० वर्षमा करिब ८२ करोड राजश्व आम्दानी गर्ने महानगरका वरिष्ठ इञ्जिनियर भरतकुमार आचार्यले बताए । उनका अनुसार निर्माण अवधिका रूपमा ३ वर्षमा १ करोड ५ लाख जग्गा भाडा लिइनेछ । निर्माणपछि बर्सेनि १ करोड ५३ लाख ७५ हजार रुपैयाँ भाडा तथा राजश्व प्राप्त हुनेछ । २ वर्षमा राजश्व १० प्रतिशतले वृद्धि हुनेछ । निजी क्षेत्रको सहकार्यमा प्लाजा बनाउन २० महिनादेखि पहल थालिएको थियो । २५ वर्षदेखि सञ्चालनमा रहेको मण्डी हटाएपछि तरकारी तथा फलफुल व्यापारीले ३ वर्ष पहिल्यै आफ्नै लगानीमा क्षेत्रपुरमा महानगर तरकारी तथा फलफूल बजार स्थापाना गरेका थिए ।
मेयर रेनु दाहालले महानगरको दीर्घकालिन आम्दानीको स्रोतका रूपमा मेट्रो प्लाजा रहने बताइन् । “निजीक्षेत्रसँगको सहकार्यमा यो सम्भवत देशकै ठूलो परियोजना हो”, उनले भनिन्, “हामी निजीक्षेत्रसँग हातेमालो गर्न तयार छौँ ।” चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले स्थानीय सरकारसँग सहकार्य गर्न निजी क्षेत्र सदैव तयार रहेको बताए । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, वामपन्थी नेता तेजेन्द्रबहादुर खड्काले विकासका आयोजनामा राजनीति गर्ने संस्कार हटाउनुपर्नेमा जोड दिए । लगानी वोर्डका पूर्वप्रमुख राधेस पन्तले भरतपुर मेट्रो प्लाजा प्रदेशकै नमुना प्रोजेक्ट बन्ने बताए । उपमेयर पार्वती शाहले महानगरमा गौरवका धेरै परियोजनाले गति लिन थालेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्