आर्थिक अभियन्ता पृथ्वीनारायण «

आर्थिक अभियन्ता पृथ्वीनारायण

साँच्चै पृथ्वीनारायण शाह दूरदर्शी र कुशल शासक मात्र थिएनन्, कुशल अर्थशास्त्री र विचारक पनि थिए । पृथ्वीनारायण शाहको आर्थिक नीति वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको पाइन्छ । जसका कारण उनलाई आर्थिक अभियन्ताका रूपमा सहजै लिन सकिन्छ । लगभग २ सय ५० वर्षअगाडि पृथ्वीनारायणले एकीकरण गरेको यो मुलुक आज आफ्नै अस्तित्व, वीरता, गौरवगाथा, इतिहासलाई जीवन्त राख्न सफल छ । पृथ्वीनारायण नेपाल एकीकरणका सूत्रधार, दूरदर्शी, कुशल राजनेता मात्र नभई सफल आर्थिक अभियन्तै हुन् ।
पृथ्वीनारायण शाहवंशीय शासकमात्र होइनन्, त्योभन्दा बढी उनी नेपाल राज्य र नेपालीका भाग्य निर्माता पनि हुन् । कसैलाई उनी राजा हुन् भन्दा अत्युक्ति हुन्छ भने उनलाई नेपाल राज्य एकीकरणका नेतृत्वकर्ता, आर्थिक नीतिका अभियन्ताका रूपमा स्विकार्दा के आपत्ति पर्छ ? के यसका लागि हामीले नाक खुम्च्याउनुपर्ला त ? विश्वमा कैयन् महान् पुरुष, राजनेता वा हस्तीहरूले समेत मुक्तकण्ठले प्रशंसा गरेका पृथ्वीनारायणलाई हामीले किन उपेक्षा गर्ने ? पृथ्वीनारायणको आर्थिक नीतिलाई वर्तमान परिप्रक्ष्यमा पनि सूक्ष्म रूपमा विश्लेषण गर्न सकिन्छ । उनको आर्थिक नीति वर्तमान सन्दर्भमा पनि त्यतिकै सान्दर्भिक रहेको पाइन्छ । जसलाई पृथ्वीनारायणको दूरदर्शिताका रूपमा लिन सकिन्छ ।
राजनीतिक वृत्तमा हिजोआज फलानाको जस्तो राष्ट्रवाद भन्ने सस्ता नारा सुनिन्छन् । नेपाली नेताहरू जो आफूलाई सच्चा राष्ट्रवादी ठान्छन्, उनीहरूले पृथ्वीनारायण शाहको जीवनीलाई पुनः पटक–पटक पढ्न र विचार–विमर्श गर्नु आवश्यक छ । पृथ्वीनारायण शाहको तिनै विचार र उनका दूरदर्शी सोचाइका कारण नै नेपालले आफ्नो अस्मिता जोगाउन सफल भएको हो । उनै महापुरुषद्वारा व्यक्त विभिन्न सारगर्वित उद्गारको महत्वपूर्ण ग्रन्थसमत रहेको छ, जुन ग्रन्थलाई दिव्योपदेशका नामले चिनिन्छ, जसमा उनका अनेकौँ विषयका महत्वपूर्ण वाणीहरू समेटिएका छन् । उनका प्रत्येक वाणीमा नेपालको बृहत्तर हितको उदाहरण प्राप्त गर्न सकिन्छ । नेपालले लिनुपर्ने आर्थिक, सामाजिक, वैदेशिक, राजनीतिक, कूटनीतिक नीतिहरू आज पनि उत्तिकै महŒवपूर्ण र सान्दर्भिक नै मानिन्छन् ।
विश्वमा घूसकाण्डले धेरै तहल्का मच्चाएको देखिन्छ । यसका सन्दर्भमा पृथ्वीनारायणले कालजयी, दिगो उद्गार व्यक्त गरेको देखिन्छ, जुन सदैव सान्दर्भिक बन्ने देखिन्छ । घूस खान्या र घूस दिन्या राष्ट्रका महान् शत्रु हुन् । नियाँनिसाफ बिगार्ने घूस खाने र दिने हुन् भनी प्रशासन व्यवस्थालाई चुस्त, दुरुस्त, स्वच्छ र पारदर्शी राख्नुपर्छ भन्ने उनको भनाइमा प्रशासनको प्रभावकारिता र विश्वासको घनिभूत अर्थ निहित भएको पाइन्छ । भ्रष्टाचार, घुसखोरीजस्तो खराब कार्यलाई निर्मूल नगरेसम्म अर्थतन्त्रमा व्यापक लुछाचुँडी हुन्छ र जसले अनियमितता भिœयाएर कानुनलाई समेत तोड्न सक्छ ।
यो देशलाई चार वर्ण छत्तिस जातको फूलबारीका रूपमा स्विकार्ने शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुलका रूपमा प्रस्तुत गर्दै नेपालले दुई छिमेकीका बीचमा रहँदा खेल्नुपर्ने भूमिका तथा दुवै छिमेकीका बीच समान वैदेशिक नीति अवलम्बन गर्नुपर्ने गूढ रहस्य पनि उजागर गरेको पाइन्छ । उक्त भनाइमा नेपालले दुवै मित्रराष्ट्रका बीचमा सञ्चालन गर्नुपर्ने परराष्ट्र नीतिप्रति लक्षित गरेको सहजै प्रस्टिन्छ । उनको प्रजा मोटा भया दरबार बलियो रहन्छ भन्ने उक्तिमा दरबार वा शासक मात्र होइन, जनता पनि सम्पन्न र शक्तिशाली हुनुपर्ने कुरामा जोड दिएको पाइन्छ । वर्तमान सन्दर्भमा नेता मात्र मोटा भएका छन्, जसले जनताको आर्थिक हैसियत सुधार्नुपर्ने कुरालाई अप्रत्यक्ष रूपमा उठाएको देखिन्छ ।
पृथ्वीनारायणको नीतिमा उद्योग धन्दालाई पनि विशेष रूपमा जोड दिएको पाइन्छ । खानी र खेती हुने ठाउँमा बस्ती भए बस्ती उठाएर पनि खानी र खेतीको काम चलाउनु भन्ने यस भनाइमा स्वदेशी वस्तुको उत्पादन र सञ्चालनमा जोड दिएको पाइन्छ । हाम्रो जस्तो गरिब राष्ट्रले विदेशी अर्थतन्त्र भिœयाउन खोज्नुभन्दा स्वदेशी अर्थतन्त्रलाई नै मजबुत बनाउनु बढी सान्दर्भिक देखिन्छ । आफ्ना देशका कपडा बुन्न जान्नेलाई नमुना देखाई सघाउनु र बुन्न लगाउनु, यसो गर्दा देशको नगद बाहिर जाँदैन भन्ने पृथ्वीनारायणको यस उक्तिमा राष्ट्रिय उत्पादनमा महŒव दिनुपर्ने कुरालाई जोड दिइएको पाइन्छ । वास्तवमा त्यसो भएमा स्वदेशी पँुजी बाहिर जाँदैन र पुँजीको स्रोत बढ्न जान्छ । पृथ्वीको उक्त भनाइलाई हाम्रा नेतागणले अवलम्बन नगर्दा नेपालको कैयन् स्थापित उद्योग कलकारखाना बन्द हुन पुगेका छन् भने कैयन् निजीकरणका नाममा मृतप्रायः भइसकेका छन् ।
देवेन्द्र अर्याल ‘आँसु’

प्रतिक्रिया दिनुहोस्