संविधानमाथि राजनीति भएकोमा पूर्वप्रधानन्यायाधीशहरूको आपत्ति «

संविधानमाथि राजनीति भएकोमा पूर्वप्रधानन्यायाधीशहरूको आपत्ति

पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई सचेत गराएका छन् ।
पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरुको अहमताका कारण संविधान माथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति समेत जनाए । नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई सचेत गराए । उनले संविधानलाई कसैले पनि गम्भिरतापूर्वक नलिएको आरोप समेत लगाए ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अहिलेको राजनीति राजाको पालोको नमूना जस्तो भएको टिप्पणी गरिन् । उनले संविधानको गलत व्याख्या र प्रयोग गरेर राजाको नमूना जस्तो राजनीति दलहरुले गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । अहिलेको राजनीतिमा सबै मै हुँ भन्ने अहंकार बढ्दै गएका कारण दलमा कोलाहल पैदा भईरहेको पूर्व प्रधानन्यायाधीश कार्कीको भनाई छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खिमलाल भट्टराईले अहिलेको मुख्य समस्या भनेको संविधानको व्याख्या र प्रयोगमा भएको टिप्पणी गरे । उनले संविधानको धारा ७६ बनाउँदा कुन हिसावले संविधान लेखिएको थियो, त्यसको स्पष्टता आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको सरकार सर्वोच्चको परमादेशबाट नआएको दावी गरिन् । उनले संविधानको धारा ७६(५) अनुसार सांसदहरुले आफ्नो अधिकारलाई प्रयोग गरेर हस्ताक्षर बुझाएपछि मात्रै सर्वोच्चले प्रधानमन्त्रीको नियुक्ति प्रारम्भ गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्