पानी पर्ने मौसममा कारको हेरचाह

कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा कार मात्र हैन, धेरै सवारी साधनहरू घरमै थन्क्याएर राख्न बाध्य भयौं र अहिले पनि स्मार्ट लकडाउनमा सामान्य अवस्थामा जस्तै चल्ती भने छैन । बाहिर हेर्दा हामीले गाडी र मान्छेको चाप त देख्छौं, तर यो कोरोना संक्रमणअघिको सामान्य अवस्था हेर्ने हो भने न्यून नै छ ।
मनसुनमा सवारी साधनमा भने धेरै खालका समस्या उत्पन्न हुन सक्छन् । वर्षायाममा विशेष गरी कारलाई विशेष ध्यान दिनुपर्छ । अहिले सडक किनारमा बिग्रिएका सवारी साधनको मर्मत भइरहेको दृश्य जताततै देख्न सकिन्छ । यस्तो दृश्य सामान्य लागे पनि कुनै दिन तपाईं आफैं त्यस्तो समस्यामा पर्न सक्नुहुन्छ । तर, यसको विकल्प नहुने भन्ने होइन । वर्षाको पानीले समस्या उत्पन्न हुने केही मुख्य कुरामा सचेत भइयो भने पूरै सिजनमा त्यस्तो समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।
अझ अहिले राजधानीलगायत सबै ठाउँमा बाटो निर्माण तथा विस्तारले खाल्डाखुल्डी धेरै भएर सडकमा पानी जमेको छ । यसले पनि सवारीलाई थप असर पारेको हुन सक्छ । यस्तो अवस्थामा सवारीका कुनकुन पार्टलाई कसरी ध्यान दिने भन्नेबारेमा केही कुरा जानौं :
प्रि–मनसुन सर्भिसिङ
मनसुन सुरु हुनुअघि नै तपाईं कारको ब्रेक प्याड र डिस्क चेक गराउनुहोस्, एयर फिल्टर सफा गराउनुहोस्, स्पार्क प्लगबाट सबै कार्बन हटाउनुस् । यी सबै कुरा तपाईं प्रि–मनसुन चेकअप लिस्टमा सबैभन्दा माथि राख्नुहोस् । जसले तपाईंको कारमा देखिने समस्याहरू कम गर्न मद्दत गर्छ । यसबाहेक, फ्युल, लाइट र वायर पनि चेक गराउन नभुल्नुहोला ।
वाइपर
धेरै कार प्रयोगकर्ताहरू आधारभूत कुरामा पनि ध्यान दिँदैनन् । वर्षाको बेला वा राति सडकको भिजिबिलिटी कम हुन्छ । हेडलाइट पनि खराब हुन्छ । तपाईंको कारको वाइपर ब्लेड राम्रोसँग काम गरिरहेको छ कि छैन चेक गर्नुहोस् । विन्डस्क्रिनमा पानी नभए पनि वाइपर राम्रोसँग चलिरहेको हुनुपर्छ । वाइपरले राम्ररी काम गरे सिसामा स्क्य्राच पनि लाग्नेछैन ।
टायर
तपाईंको कारमा ‘एन्टी ब्रेकिङ सिस्टम’ (एबीएस), डिस्क ब्रेक वा अप्टिमम ब्रेकिङ पावरजस्ता सुविधा भए पनि सडकमा तपाईंले टायरलाई सुरक्षित राख्नुपर्छ । विशेष गरी, मनसुनमा सडकमा पानी र माटोले भरिने हुनाले यसले कारलाई चिप्लाउन सक्छ । मनसुनमा तपाईंको टायरको कन्डिसन राम्रो हुनुपर्छ । यसको मतलब अन्य समयमा पनि टायरको कन्डिसन राम्रो हुनैपर्छ । वर्षायाममा बढी सचेत रहनु राम्रो हुन्छ । टायरको निगरानीका लागि तपाईंले कारमा टायर थ्रेड डेफ्ट लगाउन सक्नुहुन्छ । सबैभन्दा उत्तम उपाय ४० हजार किलोमिटर गुडिसकेको वा तीन वर्ष पुरानो टायरलाई रिप्लेस गर्नुहोस् । अहिले नै टायर परिवर्तन गर्नुभयो भने कारले राम्रो ट्र्याक्सन पाउनेछ ।
लाइट्स
मनसुनमा सडकमा धेरै प्रकाश आवश्यक पर्छ । त्यसैले तपाईंको कारको हेडलाइटको अवस्था राम्रो राख्नु आवश्यक हुन्छ । तपाईं गाडीमा एक्स्ट्रा लाइट पनि राख्न सक्नुहुन्छ । लाइटबाट आउने प्रकाश चेक गर्नुहोस् र सधैं गुणस्तरीय बल्ब लगाउनुहोस् ।
पोर्टेबल भ्याकुम क्लिनर
ड्राइभमा छँदा भारी वर्षा भयो भने पानी कारभित्र पनि छिर्न सक्छ । यसले सिटको कभरलाई असर गर्नुका साथै कारभित्र गन्ध उत्पन्न गराउन सक्छ । त्यसैले कारभित्र पसेको पानीलाई हटाउन भ्याकुम क्लिनर प्रयोग गर्नुपर्ने हुन्छ । अथवा तपाईं टिस्यु पेपर राख्न सक्नुहुन्छ । भित्रको गन्ध हटाउन तपाईंले केही समय कारका सबै डोर खोलेर राख्न सक्नुहुन्छ । यसो गर्दा कार सधैं सफा राख्न मद्दत पुग्छ ।
कार पफ्र्युम
कारभित्रको गन्धले टाउको दुखाउन सक्छ । घाम नलाग्ने भएका कारण यो गन्ध हटाउन गाह्रो पर्न सक्छ । त्यसैले सुगन्धित कार पफ्र्युमहरू प्रयोग गर्न सकिन्छ । कार्पेट र म्याटलाई निकालेर हावा आउने ठाउँमा राख्दा पनि दुर्गन्ध हट्छ । मनसुनको पानीले नयाँ र महँगा सिट कभरलाई खराब गर्न सक्छ । यस्तो अवस्थामा मनसुनभरिलाई नयाँ कभर हटाएर पुराना सिटकभर राख्न सक्नुहुन्छ । माथि उल्लिखित सुरक्षा सावधानीले तपाईंको सवारी स्वस्थ त रहन्छ नै । योसँगै भैपरी आउने दुर्घटना न्यूनीकरणमा समेत टेवा पुग्छ ।
कार पेन्ट
मनसुनमा धेरै पानी परे पनि तापमान बढी हुन्छ । त्यसैले तपाईं आफ्नो कारलाई पूरै ढाकेर नराख्नुहोस् । यसरी राख्दा गाडीमा खिया लाग्न सक्छ । कारलाई सधैं खुला स्थानमा पार्क गर्नुहोस् । छोपेर राख्दा उत्पन्न हुने अनावश्यक तापले कारमा क्षति पुग्न सक्छ । त्यसैले डिजेल र प्रयोग भइसकेको मोबिललाई मिलाएर गाडीको बडीको तल्लो भाग, इन्जिन वरिपरि र लिफ स्प्रिङमा लगाउनुहोस् । यसले गाडीलाई खिया लाग्नबाट बचाउनेछ । समय–समयमा कारमा ब्याक्स पोलिस पनि लगाउन सक्नुहुन्छ । खिया लागे रस्ट रिमुभल पाउडरको प्रयोग गर्न सक्नुहुन्छ । यो पाउडर कुनै पनि कार सर्भिस वा एसेसरिज पसलमा उपलब्ध हुन्छ । मनसुनमा ड्राइभ गरेपछि कारलाई राम्रोसँग पानीले धुनुपर्छ । कार वासिङ, मेन्टेनेन्स र आयल स्पे्र आजभोलि पेट्रोल पम्पहरूमा पनि पाइन थालेको छ ।
बेलुकाको समयमा सवारी पार्किङ गर्दा सवारीको सबैतिर निरीक्षण गर्नुहोस् । सवारीमा कुनै पार्टमा लिकेज छ÷छैन चेकजाँच गरियो भने हुन सक्ने समस्या तत्काल नै टर्न सक्छ । यसले टायरमा हावा लिकेज हुन लागेको समेत थाहा पाउन सकिन्छ ।
कुलेन्ट लेभल जाँच गर्ने
- विन्ड सिल्डमा भएको पानीको तह जाँच गर्ने । यसमा पानीको लेभल घटेको छ भने सफा पानी भर्ने ।
- ब्रेक फ्लुड लेभल जाँच गर्ने ।
- वाइपर आवश्यकताअनुसार चल्छ वा चल्दैन जाँच गर्ने ।
- वाइपर ब्लेडको अवस्था जाँच गर्ने । यो तन्दुरुस्त भएन भने विन्ड सिल्ड–सिसा सफा नहुन सक्छ ।
- पार्किङ गर्दा सधैं पार्किङ ब्रेकको प्रयोग गर्ने ।
- ब्याक गेयर लगाउँदा ब्याक लाइट बल्ने सुनिश्चितता गर्नुहोस् । यसले मनसुनको समयमा भिजिबिलिटी कम हुँदा सहयोग पुग्छ ।
- वर्षा भएको बेला वा कुहिरो तथा हुस्सु लागेको बेला बिस्तारै हाँक्ने ।
- दिनको समयमा बादल लागेर अँध्यारो भयो भने पार्किङ लाइट प्रयोग गर्ने ।
- हेडलाइट पूर्ण रूपमा ठीक छ वा छैन चेक गर्ने ।
- भिरालो बाटोमा पार्किङ गर्दा चालकहरूले पार्किङ ब्रेक प्रयोग गर्नैपर्छ । यो मनसुनको सयममा झनै अनिवार्य हुन्छ ।