रोजगारीका लागि नेपाल आउने विदेशी बढे «

रोजगारीका लागि नेपाल आउने विदेशी बढे

कोरोना संक्रमणका कारण नेपालबाट विदेश जाने श्रमिक घटिरहेको बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने बढेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या बढेको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालमा काम गर्ने चाहना राख्दै श्रम स्वीकृति लिने विदेशीको संख्या १७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७६-०७७ मा नेपालमा रोजगारीका लागि नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको संख्या दुई हजार ५० रहेकोमा आर्थिक वर्ष २०७७-०७८ मा दुई हजार ३९० पुगेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । यसमध्ये पनि अघिल्लो आवमा एक हजार ९१ नयाँ आवेदकलाई श्रम स्वीकृति दिएको थियो भने ९५९ जना पुरानाको श्रम स्वीकृति नवीकरण गरिएको थियो । यस्तै गत आवमा १ हजार ९० नयाँलाई श्रम स्वीकृति दिएकोमा एक हजार तीन सय गैरनेपालीको श्रम स्वीकृति नवीकरण गरिएको थियो । यसरी नै श्रम स्वीकृति नवीकरण गर्नेको संख्यासमेत अघिल्लो आवको तुलनामा १३ प्रतिशत अर्थात् ९५९ बाट बढेर एक हजार तीन सय पुगेको विभागले जनाएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि ९६ देशका नागरिकले श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा बढी चिनियाँँ नागरिक छन् । २०७३ पुसयता चिनियाँ नागरिक ५ हजार ४७४, बेलायत ३८६, अमेरिका २३४, भारत १८३, कोरिया १६२ र अन्य १० हजार ५९६ विदेशीले नेपाल रोजगारी गर्न श्रम स्वीकृति लिएका छन् ।
विभागका निर्देशक मणिनाथ गोपले नेपालमा सञ्चालन भइरहेका ठूला चिनियाँ परियोजनामा धेरै चिनियाँ नागरिक आउने गरेको बताए । उनले नयाँभन्दा पनि ५ देखि ७ वर्षसम्म सञ्चालन हुने परियोजनामा काम गर्ने प्राविधिकहरुले श्रम स्वीकृति नवीकरण गराउने गरेको बताए । “सुनकोसी मरिन डाइर्भसनमा हालै ५०० चिनियाँ प्राविधिक ल्याउन सरकारले अनुमति दिएको छ,” उनले भने, “यसैगरी विश्व स्वास्थ्य संगठन, सेभ द चिल्ड्रेन लगायतका विकास साझेदारहरूले पनि थोरै संख्यामा विज्ञका लागि श्रम स्वीकृति लिने गरेका छन ।” यसैगरी नेपालमा निर्माणाधीन हाइड्रोपावरमा धेरै चिनियाँ नागरिक कार्यरत रहेका कारण श्रम स्वीकृति लिनेमा उनीहरू नै बढी छन् ।
श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान रहेको छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । रसुवागढी, त्रिशूली, मध्यभोटेकोसी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक कामदार विदेशी रहेका छन् । निर्देशक गोपले कोभिड संकटका बेला नयाँ श्रम स्वीकृति लिने विदेशीको संख्या केही कमी आए पनि नवीकरण गर्नेको संख्या बढिरहेका कारण नेपालमा काम गर्ने विदेशीको संख्या केही बढेको बताए ।
विदेशी नागरिकहरूको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरे तापनि नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत नेपालमा आउने गरेको पाइन्छ । यसले गर्दा दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिकसमेत नेपालमा आई काम गर्ने गर्दा विदेशी लगानीका आयोजनाबाट अर्बौं रुपैयाँ विदेश जाने गरेको छ । वर्तमान कोभिड–१९ को महामारीको अवस्था देखाई श्रमिक कटौतीको बाहानामा नेपाली श्रमिकलाई मात्र कटौती गरी रोजगारी गुमेको अवस्थामा विदेशी श्रमिकहरू यथावत राख्ने गरेको पाइन्छ ।
यस अवस्थामा नेपालमा उपलब्ध नेपाली श्रमिकहरूलाई प्राथमिकता दिई नेपाली श्रम बजारमा उपलब्ध हुन नसकेका दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई मात्र श्रम स्वीकृति दिनुपर्ने विज्ञको सुझाव छ ।
नेपालमा उपलब्ध हुन नसक्ने दक्ष विदेशी कामदारलाई मात्र श्रम स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय-विभागको सिफारिस एवं गृह मन्त्रालयको कार्यसहमतिको आधारमा श्रम स्वीकृति प्रक्रिया मिलाउनु पर्ने नीतिगत सुधारको आवश्यकता रहेको छ ।
विद्यमान श्रम ऐनले कूटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको कुनै सन्धि वा सम्झौताले श्रम स्वीकृति लिन नपर्ने उल्लेख भएको अवस्थामा बाहेक विभागबाट श्रम इजाजत नलिई कुनै विदेशीलाई काममा लगाउन पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्