सम्पत्ति शुद्धीकरणको मुद्दा घटे «

सम्पत्ति शुद्धीकरणको मुद्दा घटे

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत आर्थिक वर्ष २०७७-०७८ मा झण्डै २४ करोड रुपैयाँबराबरको विगो दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ । अघिल्लो आवकोे तुलनामा यो आधामात्र हो ।
गत वर्ष विभागले ५ वटा मुद्दामा २३ करोड ७० लाख रुपैयाँ बराबरको विगो दाबी गर्दै मुद्दा दर्ता गरेको विभागका प्रवक्ता सुशील आचार्यले बताए । तर, अघिल्लो आर्थिक वर्ष २०७६-०७७ को तुलनामा विभागले थोरै मुद्दा दर्ता गरेको छ । अघिल्लो वर्ष विभागले ३ अर्ब ६२ करोड विगो दाबी गर्दै अदालतमा १० वटा मुद्दा दर्ता गरेको कार्यालयले जनाएको छ ।
अनुसन्धानको प्रक्रिया निकै लामो हुने भएकाले कहिले धेरै मुद्दा दर्ता हुने र कहिले थोरै दर्ता हुने गरेको प्रवक्ता आचार्य बताउँछन् । ‘अनुसन्धान गर्न निकै लामो समय लाग्छ । विगोको हिसाबले हेर्दा त्यो पनि ठूलै रकम हो,’ उनले भने । त्यस्तै लकडाउन-निषेधाज्ञाका कारणले धेरै महिना कार्यालय बन्द रहेका कारणले पनि मुद्दाहरु कम दर्ता भएको उनको तर्क छ ।
विभागले दर्ता मुद्दामा अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दर्ता गर्ने गरेको छ । त्यसपछि भने सरकारी वकिलहरुले मुद्दा लड्ने गरेका छन् । ‘सरकारी वकिलको राय लिएर मुद्दा दर्ता गर्छौँ,’ उनी भन्छन्, ‘हाम्रो काम मुद्दा दर्ता गर्ने मात्र हो । बाँकी अदालतमा हुन्छ ।’
विभागमा हालसम्म १३ सयको संख्यामा उजुरी परेकोमा प्रारम्भिक जाँचबुझको क्रममा रहेका छन् भने २ सय २० को संख्यामा उजुरी अनुसन्धानमा रहेको आचार्यले बताए । त्यस्तै विभागका अनुसार हालसम्म सर्वोच्च अदालतबाट १० वटा मुद्दा फैसला भएकोमा ९ वटा मुद्दा सरकारको पक्षमा फैसला भएका छन् ।
विभागले हालसम्म आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुरमा अभियोजनमा समेत २ वटा मुद्दा दर्ता गरेको छ । एउटा मुद्दामा भने सर्वोच्च अदालतले समेत दोषी ठहर गरिसकेको विभागले जनाएको छ ।
विभागले आर्थिक वर्ष २०७३-०७४ मा १ अर्ब १२ करोड रुपैयाँ विगो दाबी गर्दै ३८ वटा मुद्दा दर्ता गरेको थियो । आर्थिक वर्ष २०७४-०७५ मा ५८ करोडको वीगो दावी गर्दै ४ वटा मुद्दा दर्ता गरेको थियो भने आर्थिक वर्ष २०७५-०७६ मा ५१ करोड रुपैयाँ वीगो दावी गर्दै विभागले ९ वटा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्