अनुदान लिनमात्रै उद्योग दर्ता : न सञ्चालन, न उत्पादन «

अनुदान लिनमात्रै उद्योग दर्ता : न सञ्चालन, न उत्पादन

जुम्लामा एक वर्षको अवधिमा एक हजारभन्दा बढी उद्योग दर्ता भएका छन् । गत आव ०७७-७८ मा जिल्लामा एक हजार ७६ वटा उद्योग दर्ता भएको सरकारी तथ्यांक छ । उद्योग दर्ताको संख्या बढेसँगै आयात रोकिने, कच्चा पदार्थको प्रशोधन गर्ने र उत्पादन बढनु पर्ने अवस्थामा जुम्लाको फलफूल, तरकारी, जडिबुटी, रैथाने बाली प्रशोधन हुन नसकी थन्किने अवस्था छ ।
रोजगारी सृजना, आर्थिक आम्दानी, उत्पादन वृद्धि र कच्चा पदार्थ प्रशोधन गर्नुभन्दा पनि सरकारी अनुदान तथा सहुलियत पाउनका लागि मात्रै उद्योग दर्ता गरेका कारण जुम्लामा औद्योगिकरण बढ्न सकेको छैन । जुम्लामा गत आवमा मात्रै दर्ता भएका एक हजार उद्योगमध्ये ९० प्रतिशत उद्योग सञ्चालित छैनन् ।
स्थानीय तह र प्रदेश सरकारको कृषि अनुदान, सहुलियत कर्जा पाउनका लागि मात्रै उद्योग दर्ता गर्ने गलत प्रवृत्ति मौलाएपछि जुम्लामा उद्योग दर्ता गुणात्मकभन्दा संख्यात्मक मात्रै बढेको स्पष्ट देखिन्छ ।
उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख पदम न्यौपाने भन्छन्, “जुम्लामा अनुदान पाउन उद्योग दर्ता गर्नेको संख्या धेरै छ । हालसम्म जुम्लामा तीन हजार १७६ उद्योग दर्ता भएका छन् । तर १० प्रतिशतभन्दा बढी उद्योग सञ्चालित छैनन् भने ९० प्रतिशत उद्योग अनुदानमै सििमत छ । यसले जुम्लाको औद्योगिकरण विकास सम्भव छैन ।”
जुम्लामा दर्ता भएका ३१ सय बढी उद्योगमध्ये २७ सय १५ उद्योग वाणिज्य र करिब ५ सय उद्योग उत्पादनमुखी छन् । दर्ता भएका नयाँ उद्योगको अनुगमन गर्दा अनुदान पाउनका लागि मात्रै दर्ता गरेका सबै उद्योग बन्द रहेको समेत प्रमुख न्यौपानेले बताए । जुम्लामा हालसम्म दर्ता भएका ३१ सय उद्योगमध्ये ९० प्रतिशत उद्योग सञ्चालित छैनन् । अनुदान हुन्जेल मात्रै उद्योग रहने र अनुदान सकिएपछि बन्द गर्ने गरेका छन् ।
उद्योग दर्ता गर्ने अधिकांश टाठाबाठा मात्रै छन् । उद्योग दर्ता गर्ने प्रक्रिया सामान्य नागरिकको पहुँचमा छैन । जसका कारण उद्योग दर्ता गरेर उद्यमीका नाममा टाठाबाठाले नै स्थानीय तह र प्रदेशको कृषि अनुदान, सहुलियत कर्जा कुम्ल्याएका छन् ।
निर्वाहमुखी, नाफामुखी र व्यावसायिकमैत्री उद्योगभन्दा अनुदानमुखी उद्योगी भएकाले अनुदान सकिएपश्चात उद्योगमा ताला ठोक्नेको संख्या बढ्दै गएको छ । आफ्ना कार्यकर्तालाई अनुदान दिन उद्योग दर्ता गर्न लगाउने उपलब्धि नखोज्ने अनुगमन निरीक्षण नगरेकै कारण राज्यकोषको करोडौं बजेट दोहन भइरहेको छ । जुम्लामा दर्ता भएका अधिकांश उद्योग कृषि फर्म, कृषि औजार, कुटानी–पिसानी उद्योग रहेका छन् । अनुदान लिन उद्योगहरू थपिने क्रम बढे पनि उपलब्धि शून्य छ ।
नेताले अनुदान दिन्छु भनेकै भरमा उद्योग दर्ता गराएको जुम्लाकी पुनि तिरुवाले बताएकी छन् । उद्योग सञ्चालनको कुनै मेसो थाहा नपाएकी तिरुवालाई केका लागि उद्योग दर्ता गराउनु भयो भन्ने प्रश्नमा उनले भनिन्, “गाउँका नेताज्यूले अनुदान दिन्छौं, उद्योग दर्ता गर्नुहोस् भनेका छन् । त्यही भएर उद्योग दर्ता गर्न आएकी हुँ ।”
तिरुवा उदारहणमात्रै हुन् । जुम्लामा अनुदान लिनमात्रै नक्कली उद्योगी बन्ने सयौंको संख्यामा छन् । यसको रोकथाम तथा वास्तविक उद्योगीलाई अनुदान दिनका लागि अनुगमन गर्ने बलियो संयन्त्र बनाउन जरुरी रहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए । गत आवमा उद्योग दर्तावापत जुम्लामा ३१ लाख ७४ हजार राजस्व उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्