प्रतिकुल मौसमका कारण पोखराको हवाई उडान प्रभावित «

प्रतिकुल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

आइतबार बेलुकादेखि निरन्तर भएको वर्षाका कारण पोखराको हवाई उडानमा सोमबार र मंगलबारको हवाई उडान प्रभावित भएका छन् । प्रतिकुल मौसमका कारण सोमबार पूर्ण रुपमा हवाई उडान प्रभावित भएको थियो भने मंगलबार करिब २ः३० बजे पछि मौसम अनुकुल भएसँगै १६ मध्ये ४ वटा मात्र हवाई उडान भएको नागरिक उडड्यन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए ।
मंगलबार पोखरा काठमाडौंतर्फ ९ वटा र पोखरा भरतपुर, पोखरा भैरहवा, पोखरा नेपालगन्जका एक एक वटा गरी १२ वटा हवाई फ्लाइट रद्द भएको उनले जनाए । मंगलबार बुद्धले ३ र यति एयरलायन्सले एउटा पोखरा काठमाडौंको लागि मात्र हवाई उडान गरेका हुन् ।
सोमबार बुद्ध एयरलायन्सको १२ र यति एयरलायन्सको १६ वटा हवाई उडान हुने पूर्व कार्यतालिका अनुसार प्रतिकुल मौसमका कारण हवाई उडान रद्द भएको उनले जनाए । त्यसै गरी मंगलबार बुद्ध एयरले ११ वटा हवाई उडान भर्ने तयारी गरे पनि प्रतिकुल मौसमले गर्दा ३ वटा मात्र हवाई उडान गर्न सफल भएको बुद्ध एयरलायन्स पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए । उनका अनुसार बुधबार पोखरा काठमाडौं, पोखरा भैरहवा, पोखरा चरतपुर र पोखरा नेपालगन्जसहित १२ वटा हवाई उडान हुने भएको छ ।
बुद्ध एयरले सेप्टेम्बर एक तारिकदेखि पोखरादेखि सिमरासम्म सिधा हवाई उडान गर्ने भएको छ । पहिलो चरणमा १८ सिटे जहाजबाट हप्ताको तीन दिन मात्र हुने गरी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको स्टेशन म्यानेजर बरालले जनाए । लगातार जसो पानी परेकोले हवाई उडान प्रभावित भएसँगै अत्यावश्यक कामको लागि पोखरादेखि काठमाडौं लगायतका ठाँउमा जाने आउनेहरु सडक मार्ग हुँदै गन्तव्यमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्