कानुन सुधारपछि नेपाल लगानीको उत्कृष्ट गन्तव्य «

कानुन सुधारपछि नेपाल लगानीको उत्कृष्ट गन्तव्य

काठमाडौं-चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) का उपाध्यक्ष झाङ सेनफेङले दुबै मुलुकका नेताहरूले आपसी राजनैतिक विश्वास, संयुक्त रुपमा बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनालाई अगाडि बढाउने बताएका छन् । दुई देशबीच रेल्वे, पारवहन, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा विगतमा गरेका सहमति, समझदारीकै कार्यान्वयन गरिने उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघ र सीसीपीआईटीको संयुक्त आयोजनामा आयोजित ‘नेपाल–चीन व्यापारिक फोरम’को बैठकमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका सेनफेङले बताए । नेपालका प्रधानमन्त्रीको गत वर्षको चीन भ्रमणको स्मरण गर्दै चीन सबैभन्दा ठूलो व्यापार तथा लगानी प्रवद्र्धन गर्ने संस्थाको हैसियतले सीसीपीआईटीले चीन–नेपाल आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएको बताए । उनले आजको यस फोरमले दुबै देशका उद्यमीहरूलाई आपसी सहयोगको क्षेत्रको आदानप्रदानका लागि मार्गप्रशस्त गर्दै प्लेटफर्म निर्माण भएकोमा खुसी व्यक्त गरे । यसलाई बढी प्रभावकारी बनाउन उनले प्रमुख तीन सुझाव दिँदै द्विपक्षीय व्यापारको दायरालाई निरन्तर रुपमा बढाउनु पर्ने, लगानी सहयोगलाई अन्यविस्तृत गर्नु पर्ने र व्यापार प्रवद्र्धन संस्थालाई अझ बढी सक्रियभूमिका खेल्न दिनुपर्ने बताए ।
कार्यक्रममा जनगणतन्त्र प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपालउद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा पूर्वाधार, जलविद्युत् र हल्का पेय पदार्थ उत्पादन उद्योगलगायत सेवा क्षेत्रका उद्योगहरूमा लगानी आकर्षित गर्ने प्रचुरतम सम्भावना रहेको र मुलुकको वैदेशिक लगानी भिœयाउन हाल भएको औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन, वौद्धिक सम्पत्तिसम्बन्धी कानुन, एण्टी डम्पिङ कानुन एवं आर्थिक क्षेत्रसँग सम्बन्धित अन्य कानुनहरूको संशोधन, पुनर्लेखन भइ वैदेशिक लगानीको लागि अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।
उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले नेपालको चीनसँगको व्यापारले दोश्रो स्थानओगटेको र सरकारी नीतिनियम व्यापार घाटा कम गर्नेतर्फ परिलक्षित रहेको बताए । दुई महिनाभित्रमा औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन संसदबाट पारित भएर औद्योगिक लगानी अनुकूल वातावरण सिर्जना हुने, एकद्वार केन्द्रबाट सेवा दिन पूर्वाधार तयार भइसकेको बताउँदै नेपालमा जलविद्युत्, खानी, निर्माण, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि, र खाद्य प्रशोधनलगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको हुँदा चिनियाँ लगानी यसतर्फ आकर्षित हुनुपर्ने बताए ।
परिसंघका राष्ट्रिय परिषद् सदस्य तथा पूर्वाधार सेलका संयोजक विरेन्द्रराज पाण्डेले नेपालमा व्यावसायिक अवसर पर्याप्त रहेको बताउँदै हाल ५ अर्ब डलर बराबरको लगानी भइरहेकोमा त्यसलाई बढाइ १७ अर्ब डलर बराबरको लगानी हुनुपर्ने बताउँदै पूर्वाधार क्षेत्रमा विगतमा भएका कठिनाइ हटाउने प्रयासस्वरुप परिसंघले दुईवटा पूर्वाधार सम्मेलन गरिसकेको र २०१९ मा नै निकट भविष्यमा तेस्रो पूर्वाधार सम्मेलन गर्ने योजना रहेको बताए ।
कार्यक्रममा चीन र नेपालका उद्यमी व्यवसायीबीच बीटूबी बैठक सम्पन्न भएको थियो । चीनको प्रतिनिधिमण्डलमा समावेश उद्यमी व्यवसायीहरू पूर्वाधार, वित्त तथा लगानी, विद्युतीय ऊर्जा उद्योग, निर्माण उद्योग, कृषि तथा केमिकल्स, सूचना प्रविधि तथा सञ्चार क्षेत्रका करिब ५० उद्यमी व्यवसायी र चीनको फेडेरेशन अफ एसियन ज्वेलरी, नेपाल चाइनाकिङहाई चेम्बर अफ कमर्श (नेपाल) का प्रतिनिधिहरू र नेपालका तर्फबाट परिसंघका उद्यमी व्यवसायीलगायत पश्मिना उद्योग संघ, चितवन उद्योग संघ, महिला उद्यमी महासंघ, हस्तकला उद्योग महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष एवं पदाधिकारीहरूको उल्लेख्य उपस्थितिमा बीटूबी छलफल सम्पन्न भएको र यसबाट भविष्यमा प्रभावकारी परिणाम प्रष्ट रुपमा देखिने अपेक्षा सहभागीहरूले गरेका थिए ।
परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोरले यो फोरमले चुनौतिलाई अवसरमा बदल्ने विश्वास व्यक्त गर्दै एकातर्फ तीव्र विकास गरिरहेको भारत र अर्कोतर्फ आर्थिक पावर हाउसमा विकास भइरहेको चीनबाट यस क्षेत्रका जनताले र नेपालले फाइदा लिनसक्ने पर्याप्त सम्भावना रहेको र भ्रमण दलको भ्रमण सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्