तारागाउँमा लगानी नथप्दा सरकारको हिस्सा घट्यो «

तारागाउँमा लगानी नथप्दा सरकारको हिस्सा घट्यो

काठमाडौं-तारागाउँ विकास समितिले थप लगानी नगर्दा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा रहेको सरकारको सेयर स्वामित्व घटेको पाइएको छ । मुलुक चरम द्वन्द्वका कारण पर्यटक आगमन लगभग ठप्प हुन गइ होटलको आम्दानी पनि शून्य अवस्थामा पुगेपछि बैंकबाट लिएको ऋण र सोको ब्याज भुत्तानी गर्न होटल असफल हुन गएकोले त्यसको असर पर्न गएको पनि होटेलले जनाएको छ ।
बैंकबाट लिएको कर्जा र सोको ब्याज समेत तिर्न नसकेपछि होटल लिलामीमा जान सक्ने अवस्थामा पुगेपछि संस्थापक लगानीकर्ता सर्राफ र श्रेष्ठ परिवारले होटललाई अघि बढाउन मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) लगायत अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरूलाई ऋण पुनःसंरचना गर्न अनुरोध गरेको थियो । संस्थापकले थप लगानी गर्ने शर्तमा ती बैंकहरूले होटललाई ऋण पुनःसंरचना दिन सहमति जनाएका थिए । त्यसपछि कर्जा पुनरसंरचनाको काम अघि बढेको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूको सुझावअनुसार लगानी जुटाउन होटल सञ्चालक समिति हकप्रद सेयर निष्कासनको निर्णयमा पुगेको उनको भनाइ छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव तारागाउँ विकास समितिको प्रतिनिधित्वमा रहेको सञ्चालक समितिले पारित गरेको उनले जानकारी दिए । होटल सञ्चालन हुन नसक्ने अवस्थामा पुगेर गुज्रिरहेको अवस्थामा बैकहरूले हकप्रदमार्फत पुँजी थप्ने भएमात्र कर्जाको पुनरर्संरचना गरिदिने भनेपछि होटलको चौथो वार्षिक साधारणसभाले ५ बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेर पुँजी ७४ करोड ४० लाख ८७ हजार ५ सय रुपैयाँबाट बढाएर १ अर्ब १९ करोड रुपैयाँ पु¥याउने प्रस्ताव पारित गरेको थियो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले २०६२ माघ २५ गते साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो ।
सभाको निर्णयअनुसार होटलले २०६२ फागुन २२ गते संस्थापक सेयरधनी तारागाउँ विकास समितिलाई ५ बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएकाले २२.६७ प्रतिशत स्वामित्व अर्थात १० करोड २० लाख रुपैयाँ बराबरको १० लाख २० हजार कित्ता हकप्रद सेयर खरिद गर्न समितिलाई पत्राचार गरेको थियो । कम्पनीले २०६३ असार २२ गतेदेखि साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद सेयर २०६९÷०७० सम्म खुला गरिएको थियो । तर, तारागाउँले हकप्रद सेयर लिन मञ्जुर गरेन । तारागाउँ विकास समितिले आफ्नो भागको हकप्रद सेयर लिएको भए संस्थापक समुह बीच (तारागाउँ र निजी क्षेत्र) को सेयर लगानी अनुपात यथावत नै रहने परियारको भनाइ छ ।
संस्थापक सेयरधनी तारागाउँले १० करोड २० लाख, सराफ परिवारले ११ करोड ७ लाख, श्रेष्ठ परिवारले ७ करोड ३८ लाख, हायत रिजेन्सीले १ करोड १४ लाख, एडीबीले ४ करोड २५ लाख, एसियन फाइनान्स एण्ड इन्भेष्टमेन्ट कर्पोरेशनले ३ करोड ४० लाख र सर्वसाधारणबाट ७ करोड २० लाख रुपैयाँ संकलन गर्ने योजना थियो ।
होटलले हकप्रद सेयर खरिदका लागि २०६३ माघ १५, २०६३ चैत ८, २०६४ असार ८, २०६४ साउन २, २०६४ साउन १६, २०६५ भदौ ४ र २०६६ चैत चैत ६ गते समितिलाई पत्राचार गरी हकप्रद सेयर खरिदका लागि अनुरोध गरेको थियो ।
हकप्रद सेयर जारीपछि कम्पनीको पुँजीको आकार ७४ करोड ४० लाखबाट बढेर १ अर्ब ८ करोड ९० लाख रुपैयाँ पुगेको छ । तारागाउँले हकप्रद सेयर खरिद नगरेपछि कम्पनीमा उसको स्वामित्व २२.८५ बाट घटेर १५.६२ प्रतिशतमा झरेको थियो । हकप्रद सेयर भरेपछि सराफ र श्रेष्ठ परिवारको स्वामित्व ४१.३३ बाट बढेर ४५.२०, सर्वसाधारणको १६.१३ बाट बढेर १७.६४ र बैंक तथा वित्तीय संस्थाको १९.७० बाट बढेर २१.५५ प्रतिशत स्वामित्व कायम भएको थियो ।
हकप्रद सेयर निष्कासनपछि कर्जाको पुर्नतालिकीकरण गरिएको थियो । कर्जाको पुर्नरतालिकीकरणमा भएको व्यवस्था अनुसार २०६४ बैशाख १० गते ५८ करोड ६० लाख रुपैयाँ ऋण र ब्याज मध्येको केही रकम २१ करोड २० लाख रुपैयाँ सेयरको रुपमा बैंकले सकारेपछि कम्पनीमा बैंक तथा वित्तीय संस्थाको स्वामित्व बढन गयो र सर्वसाधारण समेत जम्मै सेयर धनीहरूको अंश घट्न गएको उनले बताए । परियारका अनुसार तारागाउँको स्वामित्व १५.६२ बाट घटेर १०.१५ प्रतिशत, सराफ र श्रेष्ठ परिवारको ४५.२० बाट २९, सर्वसाधारणको १७.६४ बाट ११ं.४७ र बैंक तथा वित्तीय संस्थाको २१.५५ बाट बढेर ४९ प्रतिशत पुगेको थियो ।
पुनर्तालिकीकरणको व्यवस्थाअनुसार नयाँ लगानी संरचना तयार हुनु पुगेको हो । २०६४ वैशाख १० गते जारी गरिएको अग्राधिकार सेयरलाई २०७१ असार ३० गते साधारण सेयरमा परिणत गरिएपछि तारागाउँको स्वामित्व १०.१५ बाट घटेर ९ प्रतिशतमा झरेको हो । यसपछि संयुक्त साझेदार सराफ र श्रेष्ठ परिवारको घटेर २६.८, सर्वसाधारणको १०.१८ र बैंक तथा वित्तीय संस्थाको बढेर ५४.७३ प्रतिशत कायम भएको छ । पछिल्लो समयमा कम्पनीको पुँजी बढेर १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
जसअनुसार बैंक तथा वित्तीय संस्थाको स्वामित्व बढेर १ अर्ब ३ करोड २६ लाख रुपैयाँ पुगेको छ । सर्वसाधारणको १९ करोड २० लाख, सराफ र श्रेष्ठ परिवारको ४९ करोड २० लाख, तारागाउँको १७ करोड रुपैयाँ बराबरको स्वामित्व छ । २०७१ पछि वैंक तथा वित्तीय संस्थाले बेच्न चाहेको सेयर सराफ र श्रेष्ठ परिवारले खरिद गरेका छन् ।
कम्पनी सञ्चालनमा आएको ७ वर्षदेखि नाफामा
निर्माण कालदेखि नै माओवादी द्वन्द्वको चपेटामा परेको होटलमा पर्यटक आगमन शुन्य अवस्थामा पुगेपछि होटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट लिएको कर्जाको सावाँ र ब्याज भुक्तानी गर्न नसकेपछि लिलामी गर्ने अवस्थामा पुग्न सक्ने संभावना थियो । त्यसबेला अर्बौ रुपैयाँ लागतमा निर्माण भएको पोखराको पूmलवारी होटल बन्द अवस्थामा छ । यस्तै द्वन्द्वका कारण होटल नारायणी, शेर्पा होटल र ब्लुवर्ड होटलगायत साना ठुला गरी धेरै होटल बन्द भएका थिए । ब्लुवर्ड, शेर्पा र नारायणी अहिले सपिङ कम्प्लेक्स्मा परिणत भएका छन् । तर सोही समयमा सुरुवात भएको हायात भने सफल भएको हो ।
२०६५ देखि सञ्चालन नाफामा आएको होटलले २०७१÷०७२ देखि बैंक तथा वित्तीय संस्थाबाट लिएको सबै कर्जा चुत्ता गरेर ऋण मुक्त भएको थियो । अहिले होटलको कर्जा दायित्व छैन । सञ्चालनमा आएको १४ वर्षमा होटलले सेयरधनीलाई लाभांश दिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा होटलले २८ करोड रुपैयाँ खुदनाफा गरेको थियो । सो नाफाबाट होटलले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिएको थियो । यो वर्ष पनि होटलले २८ करोड रुपैयाँ नाफा गरेको थियो । कम्पनीले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिसकेको छ ।
होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा २९० प्रतिशत बढाएको छ । होटलले चालु आर्थिक वर्षको असोजसम्म ३ करोड ९० लाख ८६ हजार रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ करोड रुपैयाँ मात्र नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा नाफ झण्डै २ करोड ९० लाख रुपैयाँ बढाएको उल्लेख गरेको छ ।पर्यटन आगमनमा भएको वृद्धि, प्रभावकारी बजार प्रवद्र्धनले बिक्री बढेपछि नाफा उकालो लागेको होटलले वित्तीय विवरणमा उल्लेख गरेको छ ।
३ महिनामा होटलले आम्दानी ६ करोड ५५ लाख रुपैयाँ बढाएर २६ करोड ३१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्