गुर्जामा जडिबुटीे खेती विस्तार

गुर्जा हिमालको काखँमा रहेको गुर्जा गाउँमा स्थानीयबासीले जडिबुटी खेती विस्तार गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेको बाँझो जमिनमा स्थानीयले व्यावसायिक खेती गरेका हुन् । हिमाली कृषि सहकारी संस्थामा आबद्ध कृषकहरूले सामूहिक रुपमा अतिसका बिरुवा श्रमदानबाट रोपेका हुन् ।
समूहले बाँझिएको जग्गालाई खनजोत गरी अतिस र बिसजराको साथै सतुवाका बिरुवा रोपेको छ । बजारमा उच्च माग भएको अतिस गुर्जाको भूगोल र हावापानीमा यसको खेतीका लागि अनुकूल छ । गाउँमै बिरुवा उत्पादन गरेर अतिस खेती गरेका हुन् । समुद्रि सतहदेखि तीन हजार दुई सयदेखि तीन हजार सात सय मिटरको भूगोलमा हुने अतिसले कफ, पित्तथैली, ज्वरो, वान्ता हुने, पखाला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ ।
टिउथिबा सामुदायिक वन उपभोक्ता समूहको दुई हेक्टरभन्दा बढी खाली पाखो जग्गा भाडामा लिएर गत वर्ष सात हजार बिरुवा बिसजरा जडिबुटी रोपेका थिए । यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाइ, उत्तेजना नहुने, जुकाजस्ता रोगको उपचारमा प्रयोग हुन्छ । गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बाँझिएको जग्गालाई उपयोग गरी आयआर्जन वृद्धि र रोजगार सिर्जना गर्ने उद्देश्यले जडिबुटीको व्यावसायिक खेतीलाई प्राथमिकता दिएको बताए । “यहाँ जडिबुटीको प्रशस्त सम्भावना छ,” उनले भने ।
समूहले गुर्जामा जिल्लामै पहिलो पटक स्याउको व्यावसायिक खेती भएको छ । गाउँपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती गरेका हुन् । इटलीबाट उच्च घनत्व जातका स्याउका ८४८ वटा कलमी बिरुवा ल्याएर नाइलीबाङको १० रोपनी जमिनमा खेती गरिएको हो । छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतिप्रति कृषकको आकर्षण बढेको छ ।