विदेशमा मृत्यु र अंगभंग बढ्दा दाबी रकम ६५ प्रतिशतले वृद्धि «

विदेशमा मृत्यु र अंगभंग बढ्दा दाबी रकम ६५ प्रतिशतले वृद्धि


वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभग, शव ढुवानी र उद्दारमा सरकारले खर्च गदै आएको दाबी रकम ६४ प्रतिशतले वृद्धि भएको छ ।
वैदेशिक रोजगारमा रहेको श्रमिकको सहयोगका लागि स्थापना गरिएको वैदेशिक रोजगार कल्याणकारी कोषको खर्च रकम गत वर्ष ६४ प्रतिशतले वृद्धि भई ८७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सो खर्च ५३ करोडबाट वृद्धि भएर ८७ करोड पुगेको हो ।
वैदेशिक रोजगार बोर्डले मृतक परिवार सहयोग, अंगभंग र बिरामी उपचार सहयोग, श्रमिक परिवार उपचार खर्च, अलपत्र श्रमिक उद्दार, नेपाल शव झिकाउन, गृह जिल्ला शव ढुवानी र अन्य सामाजिक कार्यका लागि गर्ने खर्च वृद्धि भएको हो । अघिल्लो आवको तुलनामा मृतक श्रमिकका परिवारलाई दिँदै आएको सहयोग, अंगभंग र बिरामी श्रमिकको उपचार खर्च र अलपत्र श्रमिकको उद्दारमा गरिँदै आएको खर्च बढेको छ ।
मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्चसमेत वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । “बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाईनमार्पmत गरेसँगै सेवाग्राही संख्या बढेर सहयोग रकम पनि बढेको छ” कार्यकारी निर्देशक श्रेष्ठले कारोबारसँग भने, “बिगत वर्षदेखि नै निर्णय भएर रहेका श्रमिकका निवेदन बोर्डले पास गरेपछि सहयोग रकम पाउनेको संख्या बढेको हो ।”
यसैगरी यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउने वैदेशिक रोजगार ऐनको व्यवस्था संशोधन भएर श्रम स्वीकृतिको अवधिमा नेपालमा रहदा मृत्यु भएपनि ७ लाख रुपैयाँ पाउने निर्णय भएपछि सहयोग लिनेको संख्या बढेको बोर्डको भनाइ छ ।
विभिन्न कारणले नेपाल शव ल्याउन नसकिएका श्रमिकको श्रम गन्तव्य मुलुकमा नै अन्तिम संस्कार गरिएको भए त्यहाँ श्रमिकका आफन्तलाई ७ लाखबाहेक थप ५० हजार रकम दिने निर्णय भएका कारण पनि सहयोग रकम गत वर्ष बढेको हो । कोरोना संक्रमणका कारण ८० भन्दा बढी श्रमिकको श्रम शव नेपाल नल्याई गन्तव्य मुलुकमा नै दाहसंस्कार गरिएको थियो । यस्ता श्रमिकका आफन्तले बोर्डबाट थप ५० हजार सहयोग पाउने नयाँ नियम बनाइएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६५६ श्रमिकका आफन्तले बोर्डबाट ७ लाख रुपैयाँको दरले आर्थिक सहायता दिएकोमा सो संख्या आव २०७७÷०७८ मा वृद्धि भएर १ हजार २४२ पुगेको छ । यो अवधिमा सेवा लिने श्रमिकको संख्यासमेत १ हजार ६७३ बाट वृद्धि भएर ५ हजार १६ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बिदेशमा मृत्यु भएका ६५६ श्रमिकका आफन्तलाई काल्याणकारी कोषबाट ४१ करोड ८४ लाख रुपैयाँ आर्थिक सहयोग दिएकोमा गत वर्ष यो रकम वृद्धि भएर ७३ करोड ७७ लाख रुपैयाँ पुगेको बोर्डले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्