कोरियाको दुई लाख छोडेर गाउँमै कुखुरापालन «

कोरियाको दुई लाख छोडेर गाउँमै कुखुरापालन

गुल्मी- कोरियाको कमाइले लोभिने धेरै छन् । तर, गुल्मी मुसिकोट नगरपालिका–८ वामीमैदानका गणेश कँडेलले भने कोरियामा कमाइरहेको मासिक २ लाख रुपैयाँ छोडेर गाउँमै व्यावसायिक कुखुरापालन गरिरहेका छन् ।
कँडेलले कतारमा १२ वर्ष होटलमा काम गरे । अनि कोरियामा पनि ३ वर्ष रोजगारी गरे । कोरियामा महिनामा झण्डै २ लाख रुपैयाँ उनको कमाइ थियो । तरपनि उनलाई चित्त बुझेन र आफ्नै गाउँमा फर्किएर व्यवसाय सुरु गरे ।
“पैसा त विदेशमै पनि कमाउन सकिन्थ्यो होला,” उनले भने, “विदेशको मेहनत आधामात्रै यहाँ गरेपनि धेरै हुने ठाने, त्यसैले कुखुरा पालनमा लागें ।” उनको जन्मस्थल वामी भए पनि परिवार भने रुपन्देहीको शंकरनगरमा छ । परिवार उतै रहेको भएपनि आफू भने गाउँमै काम गरेर बसेका छन् । अब जेजति मिहेनत गरेपनि गाउँमै बसेर गर्ने भन्ने बाचाका साथ व्यवसायमा हात हालेको उनी बताउँछन् ।
हाल कँडेलले १२ सय कुखुरा पालेका छन् । एक हप्ता अघिमात्र उनले १२ सय कुखुरा बिक्री गरेर सके । अहिले फेरि उही संख्यामा कुखुरा थप गरेका छन् ।
“तीन महिनाको अवधिमा कुखुराबाट १ लाख ५० हजारजति आम्दानी भयो,” उनले भने, “कोरियाको एक महिनाको तलब आफ्नै गाउँमा तीन महिनामा कमाउँदा पनि यही कमाइ ठूलो हुँदो रैछ ।” उनलाई व्यवसायले आम्दानीमात्र दिएको छैन– आत्मसम्मान, सन्तुष्टि र इज्जत पनि दिएको छ ।
स्वदेशमा काम गर्छु भनेर मात्र पनि भएन । काम गर्दा धेरै कठिनाइहरू पनि आएका छन् कँडेललाई । “सबैभन्दा धेरै समस्या त औषधी, डाक्टर र प्राविधिक नपाएर हुन्छ,” उनले भने, “सामान्य भ्याक्सिन लिन पनि बुटवल पुग्नुपर्छ । यहाँ नजिकै औषधी सुविधा नहुनाले कुखुराको धेरै क्षति पनि खप्नुपर्ने हुन्छ ।” उनले अब स्थानीय तहले यस विषयमा विचार गर्नुपर्ने बताए । “नगरपालिकाले अनुदान दिन्छौं मात्र भनेर हुँदैन,” उनले भने, “अनुदानसँगै औषधी उपचार, भ्याक्सिन तथा प्राविधिक सुविधा पनि दिनुप¥यो ।”
‘शालीमे पोल्ट्री फर्म’ दर्ता गरी व्यवसाय सुरु गर्दा कँडेललाई सुरुवाती चरणमा अलिक खर्च लाग्यो । उनले बनाएको कुखुरा राख्ने खोरमा मात्रै २० लाख भन्दा बढी लगानी छ । ठूलै लगानी गरेर उनले लामो समयसम्म टिकाउ हुने खोर बनाएका हुन् ।
कुखुराको दाना, औषधी सबै बुटवल, पोखरासम्म पुगेर उनी आफैंले ल्याउने गर्छन् । आफू नभएको समयमा व्यवसाय सम्हाल्ने एक जना कर्मचारी पनि राखेका छन् उनले । “व्यवसाय एक्लै गर्न अलि गाह्रो भयो । एक कर्मचारी राखेको छु, अझै एक दुई जना थप्ने योजना छ,” उनले भने । बुटवल तथा पोखराका कोल्ड स्टोरसँग सहकार्य गरी निर्यात गर्नेगरी कुखुरा पाल्ने उनको योजना छ ।
कँडेलले पोल्ट्री फार्ममात्र होइन, आफ्नै फ्रेस हाउस पनि खोलेका छन् । फार्मको नजिकै स्वच्छ मासु बेच्ने गरी फ्रेस हाउस पनि राखेका छन् । “दैनिक २० किलोभन्दा बढीको व्यापार यही हुन्छ । बाहिर पनि होलसेल रुपमा मासु उपलब्ध गराउँछु,” उनले भने ।

स्थानीय सरकारसँग माग
स्थानीय सरकारसँग उनका केही मागहरू पनि छन् । “सरकारले गाउँमै ल्याब सञ्चालन गरे हुन्थ्यो । सामान्य समस्या देखिए पनि बुटवल पुग्नुपर्छ, यतै ल्याब टेस्ट गर्ने र उपचार गर्न सक्ने स्थिति भएन,” उनले भने । बरु व्यवसायीकै खर्चमा नगरपालिकाले ल्याब सञ्चालन गरोस् भन्ने चाहना उनको छ र नगरपालिकासँग यसबारे माग पनि गरेका छन् । नगरपालिकाभरि नै मासुको मूल्य एकै होस् भनेर उनले छलफल पनि चलाएका छन् ।
“यदाकदा व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा पनि देखियो । नजिक–नजिक भएका पसलले पनि अस्वस्थ प्रतिस्पर्धा गर्छन् । सबैतिर एउटै दररेट कायम गरेर व्यवसाय चलाउनुपर्छ,” उनले भने ।
कँडेलले युवाहरूलाई छोटो समयमै ठूलो आम्दानी खाजेर यत्रतत्र नबरालिन आग्रह गरेका छन् । “तपाईंहरू जे गर्नुहुन्छ, आम्दानी हुने तरिकाले योजना बनाएर यतै गर्नुस्,” उनले भने, “विदेशमा गर्ने ५० प्रतिशत मेहनतले यहाँ त्यसको दोब्बर कमाइ हुन्छ । पहिला काम गर्ने इच्छा हुनुप-यो । बाँकी कुरा काम सुरु गरेपछि आफैं सहज बन्दै जान्छ ।”

व्यवसायीलाई प्राविधिक सहयोग हुन्छ : नगरपालिका
मुसिकोट नगरपालिकाका पशु शाखा प्रमुख रुमाखर मरासिनीले युवा व्यवसायीहरूको गुनासाहरू आइरहेको भन्दै गुनासाको सम्बोधनको काम भइरहेको बताए । विशेषगरी पशुपालक कृषकहरूले माग गरेका भ्याक्सिन, औषधीलगायतका प्राविधिक सेवाहरू अब उपलब्ध हुने जानकारी दिए । आवश्यक भ्याक्सिन र औषधीहरू खरिद गर्ने प्रक्रिया अघि बढेको भन्दै उनले अब नगरपालिकाबाटै आवश्यक प्राविधिक सेवा दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्