रुकुममा मदिरा आयातमा रोक «

रुकुममा मदिरा आयातमा रोक

जिल्लामा बाहिरबाट मदिरा आयात गर्न पाइने छैन भने माघ १५ गतेपछि मदिरा बिक्रीवितरणमा पनि कडाइ गरिनेछ ।

रुकुम पश्चिममा मदिरा आयात गर्न रोक लगाइएको छ । जिल्ला समन्वय समिति रुकुम पश्चिमको नेतृत्वमा बसेको जिल्लास्तरीय सरोकारवाला बैठकले जिल्लाभित्र मदिरा आयातमा रोक लगाउने निर्णय गरेको हो । यो निर्णयसँगै रुकुम पश्चिममा बाहिरी जिल्लाबाट मदिरा आयात गर्न पाइने छैन ।
बैठकमा जिल्ला समन्वय समितिका पदाधिकारीसँगै जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, ६ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला कार्यालय प्रमुखलगायत सहभागी थिए । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले जिल्ला समन्वय समितिमार्फत यसअघि नै यस विषयमा पटकपटक छलफल भएको र हाल औपचारिक निर्णय भएको बताए । उनका अनुसार अबदेखि जिल्लामा बाहिरबाट मदिरा आयात गर्न पाइने छैन भने माघ १५ गतेपछि मदिरा बिक्रीवितरणमा पनि कडाइ गरिनेछ ।
बाहिरी जिल्लाबाट रुकुममा गाडि मार्फत भिœयाइने मदिरा प्रहरीले नियन्त्रणमा लिने छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले प्रहरीमा आउने अधिकांस घटना मदिरा सेवनका कारण हुने गरेको विवरण देखिएकाले मदिरा बिक्रीबितरण र सेवन रोख्नु नै रुकुमेलीको हितमा भएको बताए । “महिनामा २÷३ वटा हत्या तथा बलात्कारका घटना भइरहेका छन्, यी सबै घटनामा मदिराको पाटो जाडिएकै छ,” उनले भने, “रुकुम पश्चिममा मदिरा नियन्त्रण भए यहाँको शान्ति सुरक्षा कायम गर्न ठूलो सहयोग पुग्ने छ ।” रुकुम पश्चिम सदरमुकाम मुसिकोटसँगै सबै स्थानीय तहमा ठूलो मात्रामा मदिराको बिक्रीवितरण र सेवन हुँदै आएको छ । रुकुमको आठबिसकोट नगरपालिकाको पहलमा नै मदिरा उद्योग सञ्चालनमा छ ।

वाइन उद्योग भने बन्द नहुने
जिसस रुकुम पश्चिमले जिल्लामा मदिरा आयातमा रोक लगाएपछि आठबिसकोट नगरपालिकाको वाइन उद्योग भने बन्द नहुने भएको छ । नगरपालिका र नीजि क्षेत्रको ४ करोड बढीको लगानी र सहकार्यमा सञ्चालित उक्त उद्योगमा हाल वाइन उत्पादनको काम भइरहेको छ । जिल्लाका केही स्थानीय सरकारले रक्सी उद्योगलाई प्रोत्साहन गर्ने तर केहीले लाइसेन्स लिएको मदिरा पनि बिक्री गर्न नपाइने निर्णय गरिएकोमा कतिपले आलोचना गररहेको भए पनि आठबिसकोटको रेड वाइन उत्पादन बन्द नहुने भएको हो ।
आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले आठबिसकोटको वाइन बन्द नहुने प्रतिक्रिया दिए । “आठबिसकोटमा रक्सी उद्योग नै खुल्यो कसरी रोकिन्छ मदिरा भनेर कोही सामाजिक सञ्जालमा बर्बराउन थालेको देखियो,” सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भनेका छन्, “याद रहोस कर्णाली बेभरेजबाट उत्पादन भएको रेड वाइन रुकुमभित्र एक थोपा पनि बिक्री गरिने छैन, बाहिर लगेर बेच्छौं ।” यसरी जिल्लामा बाहिरबाट मदिरा ल्याउन नदिने र तर जिल्लामा रहेको वाइन उद्योग रोक्न पहल नगर्नुलाई औपचारिक रूपमा आठबिसकोटको वाइनलाई बजार फराकिलो बनाएको केहीले तर्कसमेत गरेका छन् ।
नेपाली कांग्रेस रुकुमका नेता खड्क डाँगीले रक्सी निषेध गर्नु राम्रो कुरा भए पनि सुरुमा आठबिसकोट नगरपालिकाको रक्सी उद्योग बन्द गर्नुपर्ने बताए । “कुनै सरकारले रक्सीनै उत्पादन गर्ने, रक्सीको ब्यापार गर्ने अनि कसैलाई लाइसेन्स लिएको ब्यापार गर्न पनि नपाइने ? यो कस्तो नियम हो” उनले भने । बैठकमा आठबिसकोट नगरपालिकामा सञ्चालित वाइन उद्योग के गर्ने भन्ने पनि कुनै निर्णय भएको छैन । उता, मदिरा व्यवसायी संघका अध्यक्ष नविन खड्काले भने आफूहरूसँग कुनै छलफल नै नगरी एकतर्फी निर्णय गरिएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्