२३ प्रतिशत मात्र पुँजीगत खर्च «

२३ प्रतिशत मात्र पुँजीगत खर्च

पोखरा-कास्कीमा चालू आर्थिक वर्षको ६ महिनामा करिव २३ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । कास्कीका संघीय तथा स्थानीय ८९ वटा सरकारी कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगततर्फ २२.८४ प्रतिशत अर्थात ५९ करोड २३ लाख २९ हजार १५ रूपैयाँ मात्र खर्च गरेका छन् ।
आर्थिक वर्ष २०७५-७६ मा खुद बजेट २ अर्ब ५९ करोड २७ लाख ८३ हजार रूपैयाँ रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीले जनाएको छ । आर्थिक वर्ष २०७५-७६ को माघको पहिलो सातासम्मको तथ्यांकका आधारमा चालूतर्फ ३२.४३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीका सूचना अधिकारी निराजनराज लम्सालले बताए । उनका अनुसार माघको पहिलो सातासम्म ६ अर्ब ७९ करोड ४७ लाख २२ हजार ५ सय ४८ रूपैयाँ खर्च भएको छ । आर्थिक वर्षको चालूतर्फको कुल बजेट २० अर्ब ९४ करोड ६१ लाख ११ हजार १ सय ६२ रूपैयाँ छ ।
रूपाताल संरक्षण एकीकृत विकास परियोजनाको चालू आर्थिक वर्षको ६ महिनामा चालूतर्फ १६ लाख ९३ हजार १ सय ७१ रूपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ १ करोड ५ लाख २२ हजार १ सय ९१ रूपैयाँ खर्च भएको सूचना अधिकारी लम्सालले बताए । डिभिजन सडक कार्यालयको ६ महिनामा पुँजीगततर्फ ६ करोड २० लाख १३ हजार ८ सय ७० रूपैयाँ खर्च हुँदा चालूतर्फ ९० लाख २० हजार २ सय ४१ रूपैयाँ खर्च भएको छ । हेभी ईक्विपमेन्ट डिभिजन कार्यालयबाट ६ महिनाको अवधिमा पुँजीगततर्फ ८ लाख ६६ हजार २ सय ३७ रूपैयाँ खर्च हुँदा चालूतर्फ भने १ करोड २३ लाख ८१ हजार १ सय २५ रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीले जनाएको छ । नापी कार्यालय, बगर वडा प्रहरी कार्यालय, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, कालीभन्जन गण, सैनिक पश्चिमाञ्चल आवासीय महाविद्यालयमा यसवर्षको ६ महिनासम्म पुँजीगत खर्च भएको छैन ।
त्यसैगरी कास्कीका स्थानिय तह रूपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका, जिल्ला समन्वय समिति कास्की, तथ्यांक कार्यालय, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षेत्रीय क्षयरोग उपचार केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका कार्यालयले पुँजीगत खर्चको रकम नै छुट्याइएको छैन । आर्थिक नीतिको अभावमा केही कार्यालयले पुँजीगत बजेटको योजना बनाउन सकेका छैनन् । गत वर्ष गण्डकी प्रदेशसमेतको कार्यालयहरूको तथ्यांक हेर्दा १ सय ३८ वटा सरकारी कार्यालय कास्कीमा रहेका थिए ।
यस वर्षदेखि प्रदेशवाहेकका स्थानीय तथा संघीय सरकारबाट सञ्चालित कास्कीमा रहेका सरकारी कार्यालयहरू ८९ वटा मात्र रहेका छन् । गतवर्ष कास्कीमा पुँजीगततर्फ ४ अर्ब १७ लाख ९२ हजार ४ सय ७३ रूपैयाँ अर्थात ८९ प्रतिशत खर्च भएको थियो । त्यसैगरी गतवर्ष कास्कीमा चालूतर्फ भने १० अर्ब १२ करोड ४० लाख ७३ हजार ४ सय ७० रूपैयाँ खर्च भएको थियो भने कुल बजेट ११ अर्ब ३ करोड ६१ लाख ३१ हजार ६ सय ४० रूपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्