एनआरएनए प्रतिनिधि र परराष्ट्र मन्त्रीबीच भेट «

एनआरएनए प्रतिनिधि र परराष्ट्र मन्त्रीबीच भेट

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्त नेतृत्वकोे एक प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेट गरेको छ । सो भेटमा संघका पदाधिकारीहरुले गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा भएका पहलहरुबारे जानकारी गराएको थियो ।
संघको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकताको प्रावधान र संविधानको भावनाअनुसार गैरआवासीय नेपालीसम्बन्धी ऐनलगायत अन्य ऐनमा पनि संशोधन हुनुपर्ने धारणा राखेको थियो । साथै गैरआवासीय नेपालीहरुका विदेशी पत्नी वा पतिलाई नेपाल आउँदा रहनको लागि एक प्रकारको गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउनको लागि अनुरोधसमेत गरिएको थियो ।
यस प्रकारको सुविधाले गर्दा उनीहरुको नेपालप्रतिको लगाव रहिरहने र नेपालमा लगानी भित्र्याउनका साथै उनीहरुको संलग्नता बढाउन पनि ठूलो सहयोग पुग्ने धारणा पदाधिकारीहरुले राखेका थिए । यसैगरी भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली नागरिकता विधेयक हाल राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको र चाँडै नै संसदमा पेश भई लागू हुने जानकारी गराएका थिए । उनले संघले दिएका सुझावहरु अति महत्वपूर्ण रहेको र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारेमा पनि छलफल भइरहहेको बताए । सो भेटघाटमा संघका उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य, सपीला राजभण्डारी, महासचिव डा. बद्री केसी र संरक्षक रामप्रताप थापाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्