कोभिड–१९ ले थला परेको नेपालको पर्यटन क्षेत्र «

कोभिड–१९ ले थला परेको नेपालको पर्यटन क्षेत्र

नेपालको पर्यटन क्षेत्र तुलनात्मक लाभका दृष्टिकोणले उच्च सम्भावना बोकेको क्षेत्र हो । अनुपम प्राकृतिक, सामाजिक, धार्मिक एवं जैविक विविधताका कारण यस क्षेत्रमा तुलनात्मक लाभ छ । नेपालका हरेक क्षेत्र र भूभागले पर्यटन प्रवद्र्धनको अद्वितीय सम्भावना बोकेको छ । नेपालको संविधानमै यी विभिन्न स्थल र सम्पदाको पहिचान, संरक्षण, प्रवद्र्धन एवं प्रचारप्रसारमार्फत अर्थतन्त्रको प्रमुख हिस्साको रूपमा पर्यटन क्षेत्रलाइ विकास गर्ने नीति लिएको छ । पर्यटन प्रवद्र्धनको माध्यमबाट नेपाललाई एक समृद्ध मुलुकका रूपमा चिनाउने अवसर पनि हाम्रो सामु छ । यो क्षेत्रको प्रवद्र्धन र प्रचारबाट रोजगारीका अवसरमा वृद्धि गरी गरिबी निवारणमा समेत उल्लेख्य योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ । तर, नेपालको पर्यटन क्षेत्रको विडम्बना नै भन्नुपर्छ, २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सुरु भएको नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमा नै कोरोना भाइरसको आकस्मिक प्रकोपले गर्दा अभियानमा गम्भीर असर पुग्न गयो । राज्यको लगानीको प्रतिफल आउन नपाउँदै यो क्षेत्र कोभिड–१९ को प्रत्यक्ष असरले प्रभावित बन्न पुग्यो । लकडाउन, निषेधाज्ञा, यातायात बन्द, होटल–रेस्टुराँ बन्द, हवाई मार्ग बन्द हुँदा यो क्षेत्र थला परेको छ ।
तथ्यांकगत रूपमा हेर्ने हो भने सन् २०१९ मा पर्यटक आगमन २.१ प्रतिशतले बढेकोमा सन् २०२० मा ८०.८ प्रतिशतले घटेको तथ्यांक आर्थिक सर्वेक्षणले देखाएको छ । यसले विदेशी मुद्रा आर्जनमा करिब ७० प्रतिशतले कमी आएको छ । सन् २०१९ मा कुल पर्यटक आगमन ११ लाख ९७ हजार १ सय ९१ हुँदा यो संख्या सन् २०२० मा २ लाख ३० हजार ८५ र सन् २०२१ मा ३२ हजार ९ सय ९७ मा सीमित हुन पुग्नु मुलुकका लागि ठूलो चिन्ताको विषय बनेको छ । उल्लिखित तथ्यांकले कोभिड–१९ बाट पर्यटन क्षेत्र सबैभन्दा नराम्रोसँग प्रभावित बनेको देखिन्छ ।
कोभिड–१९ को पहिलो र दोस्रो लहरले नेपालको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । नेपाल भ्रमण वर्ष २०२० सुरु हुन लाग्दै कोभिडको महामारी फैलिन थालेपछि अन्य क्षेत्रजस्तै पर्यटन उद्योगसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू स्थगित हुन पुगे । विश्वव्यापी रूपमा पर्यटन क्षेत्र नराम्रोसँग पछाडि धकेलिन पुग्यो । दशक लामो पर्यटनको इतिहासमा सन् २०२० सबैभन्दा प्रतिकूल समयका रूपमा नेपाली पर्यटन उद्योगले बेहोर्नुप-यो । यस क्षेत्रमा कार्यरत दसौं हजार मानिसले महामारीकै कारण रोजीरोटी गुमाएका छन् । यस वर्ष पनि निषेधाज्ञा र बन्दाबन्दीकै कारण करिब ९५ प्रतिशत पर्वतारोहीहरू नेपाल भ्रमण गर्नबाट वञ्चित भएका छन् । वैशाखदेखि मुलुकभर निषेधाज्ञा र लकडाउनका कारण अन्तर्राष्ट्रिय उडानहरू सबै बन्द भएका कारण बाह्य पर्यटकको आगमनमा उल्लेख्य गिरावट आएको छ । यसले गर्दा करिब ९८ प्रतिशत रोयल्टी संकलनमा गिरावट आएको छ । कोभिड महामारीको दोस्रो लहरका बाबजुद पनि पर्वतीय गतिविधिमा भने केही मात्रामा चहलपहल बढेको छ । करिब ३ सयभन्दा बढी पर्वतारोहीहरू सगरमाथाको शिखरमा पुगेका छन् ।
पर्यटन विभागले ४ सय पर्वतारोहीहरूलाई आरोहणका लागि अनुमति प्रदान गरिसकेको छ । यस्ता गतिविधिले पनि पर्वतारोही र पर्यटन सञ्चालकहरूमा नयाँ जोस र आत्मविश्वास सिर्जना गरेको छ । पर्वतीय पर्यटनको क्षेत्रमा अन्य धेरै रेकर्डहरू रहेका छन् । महामारीको दुष्चक्र ओरालो लाग्नेबित्तिकै विदेशी पर्यटकहरूको नेपाल आगमन खुला गर्ने तयारीमा सरकार रहेको छ । पर्यटन क्षेत्र आज पनि मुलुकको प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका रूपमा रहेको छ । यसले प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी सिर्जना गरी विदेशी मुद्रा आर्जनमा टेवा पु-याई राष्ट्रिय अर्थतन्त्रलाई योगदान पु¥याएको छ ।
आव २०७८-७९ को बजेटमा संघीय सरकारले कोमामा पुगेको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिलाउन नयाँ योजनाका साथ अघि बढ्ने भनी बजेटसमेत विनियोजन गरेको छ । पर्यटन व्यवसायीहरूको मागबमोजिम सरकारले विदेशी पर्यटकहरूका लागि एक महिनाको फ्री भिसा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ । यो व्यवस्था जुलाई १६ देखि लागू हुने भनिएको छ । यो प्रोत्साहनस्वरूप प्रदान गरिएको एकमहिने फ्री भिसाले महामारी नियन्त्रणपश्चात् धेरै भन्दा धेरै पर्यटक नेपाल भ्रमण गर्ने अपेक्षा गरिएको छ । हरेक काला बादलका धब्बामा चाँदीको घेरा हुन्छ भनेजस्तै महामारीविरुद्धको विश्वव्यापी खोप अभियानपश्चात् अवस्था सामान्यीकरणतर्फ जाने आमअपेक्षा छ ।
बजेटले व्यवस्था गरेअनुरुप पर्यटन उद्योगले पनि अन्य उत्पादन उद्योगहरूले जस्तै सेवा सुविधाहरू पाउने व्यवस्था गरिएबाट पर्यटन उद्योगले पुनर्जीवन पाउने अपेक्षा गर्न सकिन्छ । बजेट वक्तव्यमार्फत नै सरकारले अर्काे एउटा महत्वपूर्ण निर्णय गरेको छ । निजामती कर्मचारीहरूलाई दस दिनको पर्यटन बिदा दिने व्यवस्थाबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग पुग्ने देखिन्छ । अन्य निजी एवं सार्वजनिक संघसंस्थाहरूले पनि त्यहाँ कार्यरत कमचारीहरूलाई यो सुविधा उपलब्ध गराउनुपर्ने देखिन्छ । त्यस्तै खेल पर्यटनका माध्यमबाट पनि मुलुकलाई पर्यटकीय गन्तव्य मुलुकका रूपमा चिनाउने प्रतिबद्धता जनाइएको छ । लागत साझेदारीका आधारमा पर्यटन पूर्वाधार विकासलाई निरन्तरता दिने घोषणा बजेटमा गरिएको छ ।
यस कार्यका लागि प्रदेश र स्थानीय तहका सरकारहरूलाई जिम्मेवारी दिइएको छ । यसका साथै सरकार निजी क्षेत्रको सहयोग र सहकार्यका आधारमा एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम लागू गर्ने तयारीमा रहेको छ । यो सरकारी घोषणा कार्यान्वयन हुने हो भने नेपालमा पर्यटन सम्बद्ध गतिविधिहरूको विकास र विस्तार गर्न कोसेढुङ्गा साबित हुनेछ । महामारीका बीचमा माल्दिभ्सले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्यो । तर, हामीकहाँ गलत बुझाइले गर्दा दैनिक लाखौं घाटा बेहोरिराख्नुपरेको छ । सुरक्षाका प्रोटोकलहरू फलो गरेर भए पनि पर्यटकीय गतिविधिहरू सञ्चालन गर्न सकिन्छ । विदेशबाट आउने सबैले कोरोना बोकेका हुन्छन् भन्ने भ्रमपूर्ण सोचाइबाट माथि उठी सावधानी अपनाएर यो क्षेत्रलाई चलाउन सकिन्छ । सरकारले यो पनि बुझ्नुपर्छ कि पर्यटन मात्रै चल्यो भने पनि अन्य क्षेत्र पनि आफसेआफ चलायमान हुन्छन् । मिडियाबाजी पर्यटक आकर्षण गर्ने महत्वपूर्ण माध्यम हो । मिडिया क्याम्पेनिङले पनि पर्यटक बढाउन सहयोग पुग्ने हुनाले त्यसतर्फ पनि सरकारको ध्यान जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्