लालपूर्जा पाएपछि खुसीयाली «

लालपूर्जा पाएपछि खुसीयाली

अर्घाखाँची-आफूले उपभोग गर्दै आएको जग्गाको लालपूर्जा नष्ट भएको १६ वर्षपछि पुनः अर्को लालपूर्जा पाउँदा अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ पालीका बासिन्दामा खुसीयाली छाएको छ । विशेष नापी कार्यालय अर्घाखाँचीले पाणिनी गाउँपालिकाको वडा नम्बर ८ पालीमा एक हजार जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गर्न सुरु गरेको हो ।
लालपूर्जा लिन सहभागी भएका ७१ वर्षीय सुखदिन मियाले भने, “जग्गा भएर पनि नभए जस्तै भएका थियौं, लालपूर्जा पाउँदा खुसी लागेको छ ।” स्थानीय नेतासमेत रहेका इन्सू मियाँले धेरै वर्षपछि लालपूर्जा हातमा लिन पाउँदा अब बल्ल सम्पत्ति आफ्नो नाममा आएको महसुस भएको बताए । “जग्गाको प्रमाणपत्र नहुँदा निद्रासमेत लाग्ने गरेको थिएन,” स्थानीय शिक्षक चिरञ्जीवी पौडेलले भने, “अब बल्ल मुहारमा मुस्कान छाएको छ ।”
लालपूर्जा नहुँदा यहाँका बासिन्दाले बैंकमा जग्गा धितो राखेर ऋण प्राप्त गर्न पनि सकेका थिएनन् । जिल्लाको ७० प्रतिशत नक्सा तयार पारिसकेकाले अब दुई वर्षमा सबै जिल्लाको नक्सा तयार गर्ने विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर रानाले बताए ।
द्वन्द्वकालीन समयमा माओवादीले जलाएका लालपूर्जा अहिले फेरि वितरण गरिएको हो । प्रदेशसभा सदस्य रामजी घिमिरेले जिल्लाका सबै ठाउँका घरधुरीका जग्गाधनी छिटो बनाइ वितरण गर्न आग्रह गरे । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसालले विशेष नापी कर्यालय अर्घाखाँचीलाई अन्य ठाउँमा पनि जलेका जग्गा धनी प्रमाणपत्र तयार गरी वितरण गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्