माथिल्लो तामाकोसीको नजर कवाडीतिर

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनास्थलबाट फलाम बोकेर आएका टेलरबाट स्थानीयले भोर्लेमा सामान झारिदिए । ती सामान विगू गाउँपालिका–४ भोर्लेको पेट्रोल पम्प छेउमा तीन महिनादेखि अलपत्र छ । वैशाख अन्तिममा पनि ६ वटा ट्रकमा फलाम बोकेका ट्रक स्थानीयले नै आयोजनास्थलतिरै फर्काइदिएका थिए ।
६ महिनाअघि पनि नदी सरसफाइको नाममा माथिल्लो तामाकोसी आयोजनास्थल गोंगर क्षेत्रमा फलाम संकलन भएको थियो । त्यसको स्थानीय जनप्रतिनिधि र प्रशासनले रोकेका थियो । नदी सरसफाइबाट फलाम संकलनमा असहयोग गरेको निहुँमा तत्कालीन प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी नै सरुवा हुनु प¥यो ।
आयोजनाले गेट पास लिएर प्रहरी र नेपाली सेनाकै चेकपोस्टबाट छुटेर आएका टेलर आठ किलोमिटर तल आएपछि स्थानीयले रोके । आयोजनाको लट तीनको इलेक्ट्रिकल तथा मेकानिकल ठेकेदार अस्ट्रियन कम्पनी एन्द्रिज हाइड्रोले अन्यत्रै लैजान लागेको थियो । फलामे बीम बोकेर छुटेका ना ८ ख ६८९२ र प्रदेश २–०३–००१ ख ००१६८ नं. को टेलरले फलाम बोकेर आएका थिए । भोलिपल्टै इलाका प्रहरी कार्यालयको टोलीले पुनः लोड गरी आयोजनास्थल फर्काउन खोजे पनि स्थानीयले अवरोध गरेपछि टेलर गन्तव्यमा रित्तै फर्किए तर सामान अलपत्र परेको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम पूरा भएपछि ठेकेदारहरू आफ्नो उपकरण र गाडी लिएर अन्यत्र जान खोजेका छन् । तर तिनका सामान लैजानका लागि स्थानीय र प्रशासनकै अवरोध भएको आयोजनाले गुनासो गर्दै आएको छ ।
चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आफ्ना सामान लैजान असार अन्तिमदेखि पहल थालेको छ । आयोजनाको सिभिल निर्माणको जिम्मा लिएको सिनोकै सबैभन्दा धेरै सामान छन् । सिनोको तनहुँ हाइड्रोपावर कम्पनीको १४० मेगावाटको माथिल्लो सेती र रसुवाको माथिल्लो साञ्जेनमा पनि काम छ ।
माथिल्लो तामाकोसीमा काम सकिएपछि यहाँका उपकरण तनहँु र रसुवा लैजान खोजेको छ । तर ३ महिनादेखि आफ्ना उपकरण लैजान नपाएपछि उसले पटकपटक जिल्ला प्रशासन कार्यालय धाउने र पत्रसमेत लेख्यो तर उल्टै प्रशासनले नै आफ्ना सामान रोकेपछि गृह मन्त्रालयसमेत गुहा¥यो ।
गृह मन्त्रालयले साउन १३ गते तत्काल ठेकेदारका सामान लैजान दिनु भन्ने परिपत्र गरेपछि तीन दिनमै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सर्वपक्षीय बैठक राखे । बैठकले कानुनबमोजिम माथिल्लो तामाकोसीको सामान लैजान दिने निर्णय भयो । बैठकको निर्णय लगत्तै लामाबगरबाट लोड भएका अस्थायी पुल बोकेका दुईवटा टेलर फेरि सात दिनसम्म माथिको आदेश भन्दै प्रहरीबाटै रोकिए । सात दिनपछि छुटेका टेलर चरिकोटमा तरुण दलले दुई घण्टा रोक्यो ।
आयोजना र ठेकेदार बीचको सम्झौताअनुसार आयोजनाको संरचना बनाउन ल्याएका सामान प्रयोग भएर बाँकी रहेका बिग्रेका र स्क्राफ भएका आयोजनाकै हुने र ती कवाडीपछि आयोजनाले बोलपत्रमार्फत लिलामी गर्छ । तर आयोजनामा आएका सामान प्रयोग नगरी स्क्राफ नभएका सामान र आयोजना बनाउन ल्याएका गाडी, उपकरण, मेसिन ठेकेदारकै हुने उल्लेख छ ।
अपरतामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले ठेक्का सम्झौताअनुसार परामर्शदाता कम्पनी ल्याह्मेर÷नरकन्सल्टले जाँचबुझ गरेर आयोजनालाई सिफारिस गर्ने र त्यसका आधारमा गेटपास दिने गरेको बताए । मुख्य सुरुङको परिवर्तन, भूकम्प, नाकाबन्दी, लकडाउन, लट दुईको ठेकेदारको ढिलासुस्तीले निर्माण अवधि दोब्बर भएको र निर्माण अवधिको प्रशासनिक तथा व्याज खर्च, डलरमा भएका मूल्यवृद्धि, बजार मूल्यमा वृद्धिजस्ता कारणले पनि आयोजनाको लागत व्याजसहित दोब्बर भएको ४५६ मेगावाटको आयोजनाको ठेकेदार फर्कंदासमेत प्रशासनिक र स्थानीयको अवरोध हुँदा ठेकेदारले उल्टै आफ्ना सामानको दाबी गर्दा आयोजनाले नै क्षतिपूर्ति दिनुपर्ने अवस्था आउन सक्छ । यसको जानकारी माथिल्लो तामाकोसीले जिल्ला प्रशासन कार्यालयलाई पत्रमार्फत नै गराइसकेको छ ।
आयोजना निर्माणका क्रममा निर्माण सामग्रीहरू ठेकेदारले ल्याउँछन् । कहिलेकाँही अनुमानभन्दा बढी सामान आएर प्रयोग नभए उसैको हुन्छ । तर साइटमा आएका सामग्री स्क्रयाप भएको जुनसुकै सामानमा पनि आयोजनाको हुने उनले बताए । यस्ता सामान ठेकेदारले आफूखुसी गर्न पाउँदैन । आयोजना पूरा भएपछि कवाडी सामान कुनकुन ठेकेदारको हुने र कुनकुन आयोजनाको हुने भन्ने ठेक्का सम्झौतामै उल्लेख हुने भएकाले पछि छुट्याएर लिलामी प्रक्रिया हुनेछ ।
आयोजनामा सामान प्रयोग गर्दा परामर्शदाताले गुणस्तर परीक्षण गरेरमात्र प्रयोग गर्न लगाउँछन् । गुणस्तरहीन भए फर्काइदिन्छन् । सामान फिर्ता गर्दा पनि परामर्शदाता कम्पनीले जाँचबुझ गरेर सामानको सूचीसहित आयोजना व्यवस्थापनलाई सिफारिस गर्छन् । आयोजनाले थप रुजु गरेर गेटपासका लागि सुरक्षार्थ बसेका नेपाली सेना र प्रहरीलाई पत्र लेखेपछि मात्र सामान छुट्छन् ।
आयोजनाको ठेकेदार काम सकेर फर्किन नपाएको गुनासो माथिसम्म पुगेपछि प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने दोलखाका सुरक्षा प्रमुखसहित गतसाता आयोजना क्षेत्रको भ्रमणमा पुगे । उनले कवाडीका बारेमा जानकारी लिएपछि सम्झौताअनुसार सामान छुटाउन सुरक्षा व्यवस्था गर्न निर्देशन दिएर फर्केका छन् ।
विगू गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले ठेक्का सम्झौतामा जे लेखिएको छ त्यहीअनुसार सामान छुट्याए समस्या नहुने बताउँछन् । सबैलाई एउटै आँखाले हेर्नुभन्दा पनि कुन सामान ठेकेदारको कुन सामान आयोजनाको हो कानुनअनुसार काम गरे स्थानीय र प्रशासन कसैले पनि चासो राख्नु जरुरी नहुने बताए ।
स्थानीय लिलाबहादुर बस्नेतले भने आयोजनाका लागि स्थानीयबासीले विगतमा सहयोग गरेकाले सकेसम्म स्थानीय किन्न सक्ने स्थानीयलाई नै दिनुपर्ने माग गरे ।
केके छन् कवाडी सामान
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । ४५६ मेगावाट क्षमताको आयोजना स्वदेशी लगानीमा बनेको पब्लिक कम्पनीले बनाएको हो । आयोजना पूरा हुन लागेपछि त्यहाँ प्रयोग भएका करोडौं मूल्यका कवाडी सामानमा धेरैको ध्यान गएको छ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले २०७२ को भूकम्प र सोही वर्ष आएको बाढीले बगाएको एउटा बेलिब्रिज, नौवटा कन्टेनर पावर हाउसमा प्रयोग हुने सामान खोलामै छन् । फलामका टुक्रा, तामाका तार, पेनस्टक पाइपका टुक्रा, चार लटमा निर्माण भएको आयोजनाको सिभिल हाइड्रोमेकानिकल, इलेक्ट्रिकल तथा मेकानिकल र ४७ किलोमिटर २२० केभीको प्रसारण लाइन तथा सबस्टेसन रहेको छ । तिनमा आयोजना निर्माणका क्रममा प्रयोग भएका अहिलेसम्मका आयोजनाका भन्दा करोडौंका कवाडी छन् ।